मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार २o:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको रोपवे चौर बसपार्क आठ वर्षपछि पुनः सञ्चालनमा ल्याइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार २o:o४:oo

हेटौँडा उपमहानगरपालिकाले आठ वर्षअघि उद्घाटन गरे पनि नियमित सञ्चालन हुन नसकेको चौकीटोलस्थित रोपवे चौर बसपार्क पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने सुमो र बसलाई एकै स्थानबाट सञ्चालन गर्न लागिएको हो।

हाल हेटौँडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसिएन रोड र संगमचोकलगायत क्षेत्रमा छरिएर रहेका सुमो तथा बसका काउन्टर रोपवे चौरमा सार्ने तयारी छ। यात्रुले सोही स्थानबाट टिकट लिने र सवारीसाधन पनि त्यहीँबाट छुट्ने व्यवस्था मिलाइने भएको हो।

उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले २०७५ सालमै उद्घाटन गरिएको बसपार्क कोभिड–१९, महामारीलगायत कारण व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको बताइन्। उनका अनुसार तत्काल चाडपर्वलाई लक्षित गरी सवारीसाधन र टिकट काउन्टर व्यवस्थापन गरिनेछ। ‘छरिएर रहेका सवारीसाधन र काउन्टरलाई एकै स्थानमा व्यवस्थापन गर्दा बजारको ट्राफिक समस्या समाधान गर्न सहज हुन्छ,’ उनले भनिन्। उनले अव्यवस्थित काउन्टरका कारण यात्रुले भोग्दै आएका समस्या समाधान हुनुका साथै बिचौलियाको प्रभावसमेत कम हुने अपेक्षा गरिएको बताइन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तत्कालका लागि रोपवे चौरलाई अस्थायी पार्किङस्थलका रूपमा प्रयोग गरेर पछि स्थायी व्यवस्थापन गर्नुपर्ने बताए। चाडपर्वमा बढ्ने सवारी चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी र चालकसँग छलफल गरी सम्भवतः सोमबारदेखि सुमो सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार पार्किङका लागि आवश्यक परे डोजर प्रयोग गरी चौर सम्याइनेछ। सवारीसाधन र टिकट काउन्टरलाई एउटै स्थानमा व्यवस्थापन गरेपछि प्रहरीको निगरानीसमेत बढाउनुपर्ने उनले बताए।

जिल्ला ट्राफिक प्रहरीका रमेश विष्टका अनुसार सुमो काउन्टरले यात्रुलाई बाटोमै बोलाउने र सडक आसपासमै सवारी पार्क गर्ने प्रवृत्तिले बजारको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ। सवारीसाधनलाई एकीकृत स्थानबाट सञ्चालन गर्न सके अव्यवस्थित पार्किङ र यात्रु चढाउने–ओराल्ने क्रममा हुने जाम कम गर्न सकिने उनको भनाइ छ।

हेटौँडाबाट मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने दैनिक करिब चार सय सुमो सञ्चालन हुने गरेको बताइएको छ। ती सवारीसाधनलाई रोपवे चौरमा व्यवस्थापन गर्दा मुख्य बजारमा सवारी चाप घट्ने अपेक्षा गरिएको छ।

↑