मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १६:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटल र विराट एग्री लिमिटेडबिच आइपिओ निष्कासनसम्बन्धी सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १६:४२:oo

एनआइसी एसिया क्यापिटल र इटहरीस्थित विराट एग्री लिमिटेडबिच आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ। भविष्यमा सर्वसाधारणहरूमा प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्शसहितको सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो।

नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापित विराट एग्री लिमिटेडले मोरङ र सुनसरी जिल्लामा सय हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गरिरहेकाे छ। कम्पनीले खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

कम्पनीले प्रस्तावित सार्वजनिक सेयर निष्कासनबाट प्राप्त पुँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्दै आगामी दिनमा विभिन्न महत्त्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले पांगास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट आधुनिक प्रविधिबाट पांगास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य प्रजातिको उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने प्लान्ट स्थापना गर्ने तथा हाल सञ्चालनमा रहेको फ्लोटिङ फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपक्षीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ। आगामी दिनमा एकीकृत कृषि तथा मत्स्य भ्यालु चेनका यी पूर्वाधारहरूको विकाससँगै विराट एग्रीले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने लक्ष्यसमेत राखेको छ।

कम्पनीले ‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाइरहेको छ।

↑