ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मानसिक स्वास्थ्यको ख्याल गर्न युवाहरूलाई अनुरोध गरेका छन्। समन्वय नेपालले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय युवा महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा डिप्रेसन र एन्जाइटीजस्ता मानसिक स्वास्थ्यको समस्या देखिने गरेको र यस्ता खालका महोत्सवमा हुने संवादले समाधानमा सहयोग पुग्ने बताए।
उनले नेटवर्क बनाउने, सम्भावनाहरू पहिल्याउने कामहरू गर्न युवाहरूलाई सुझाए। युवाहरूलाई इनोभेटिभ र क्रियटिभ काममा केन्द्रित नगराउँदा कुलतमा फस्ने विभिन्न अनुसन्धानबाट देखिएको भन्दै मन्त्री श्रेष्ठले सिर्जनशीलतामा जोड दिए।
‘अहिलेको युग इनोभेसनको युग हो। क्रियटिभ, इनोभेटिभ, म्युजिक आर्टले पनि भ्यालु पाउन थालेको छ। यसका लागि टिमवर्क जरुरी छ। यस्तो खालको कार्यक्रमले तपाईंहरूलाई प्रेरित गर्छ,’ उनले भने।
मन्त्री श्रेष्ठले ऊर्जा मन्त्रालयसँग सम्बन्धित इनोभेसनको काममा युवाहरूसँग सहकार्य गर्न तयार रहेको बताए। उनले नेपालमा बिजुली उत्पादन राम्रो हुँदै गएको, तर प्रसारण र वितरण प्रणालीमा भने अझै धेरै सुधारको जरुरी रहेको बताए। अहिले संरचनाहरू अपग्रेड गर्ने उत्कृष्ट प्रयासहरू गरिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो। समृद्धिको मूल आधार ऊर्जा क्षेत्र भन्दै उनले सिर्जनशील भएर सामाजिक सचेतनाको काम गर्न पनि सुझाए।
पछिल्लो समय सामाजिक सचेतनाको ग्याप बढेको भन्दै अनुसन्धान गरेर योगदान गर्न आह्वान गरे। समस्या पहिचान गरी समाजको तिक्तता मेटाएर नवीनता र सिर्जनशीलता मेटाउनुपर्नेमा उनले जोड दिए। ‘क्रियटिभिटी मर्न नदिनुस्। मेन्टल हेल्थलाई ख्याल गर्नुस्। अध्यात्मिक चिन्तत पनि मेन्टेन गर्नुस्,’ उनले भने, ‘मानसिक रूपमा स्वस्थ भए भविष्यमा आउने जुनसुकै सामाजिक चुनौती सामना गर्न सकिन्छ।’
आयोजक समन्वय नेपालका अध्यक्ष जगदीश ऐरले युवाको व्यक्तित्व र नेतृत्व विकासका लागि महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार महोत्सवमा देशभरबाट १५० युवा सहभागी छन्।