• वि.सं २०७६ कार्तिक २८ बिहीबार
  • Thursday, 14 November, 2019
  • Archive

ताप्लेजुङमा चैतयता दुई सय ६२ थान हतियार संकलन 

२०७६ असार २८ शनिबार ०७:१९:००
केशवप्रसाद भट्टराई, ताप्लेजुङ्ग

हिमाली जिल्ला ताप्लेजुङमा चैत १ गतेयता दुई सय ६२ थान हतियार संकलन भएको छ । जिल्लाका प्रहरी कार्यालयका अनुसार गृहमन्त्रालयले हतियार संकलन अभियान सुरु गरेयता देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै हतियार ताप्लेजुङमा संकलन भएको हो । 

जिल्लाका विभिन्न ठाउँमा भरुवा बन्दुक दुई सय ५३ नाल, सर्ट गन दुई वटा, १२ बोर जोनाले पाँच थान, टुटु एक नाल म्याक्नाम एक नाल र लुकाईछिपाई राखिएको रिवल्भर एक थान तथा तीनवटा गोली फेला पारेको प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए । उनका अनुसार अवैध हतियार संकलन गर्न ग्रामीण क्षेत्रमा स्थानीयलाई समेत परिचालन गरिएको थियो । ‘केही हतियार बारीमा फालिएको अवस्थामा त केही जंगलमा पोको पारेर फालेको अवस्थामा फेला परेका छन् । हतियार संकलन गर्न धेरै संघर्ष गर्नुपरेको थियो,’ डिएसपी थापाले भने । 

प्रहरीका अनुसार अहिलेसम्म लाइसेन्सप्राप्त ५८ वटा हतियार संकलन भएका छन् । जिल्लामा लाइसेन्सप्राप्त जिल्लामा तीन सयवटा हतियार रहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।