Skip This
Skip This

भाडाका घरमा स्थानीय सरकार

चाँगुनारायणका मेयर भन्छन्,‘साँघुरा कोठामा कुखुराजस्तै थुनिएर सिर्जनशील काम गर्न सकिएन’

२०७६ असार २७ शुक्रबार ०६:४८:००

भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको आफ्नै कार्यालय भवन छैन । नगरपालिका कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको छ । पारिवारिक प्रयोजनका लागि बनेका घरको साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्दा स्थानीय सरकारलाई दैनिक सेवाप्रवाह गर्नै हम्मे–हम्मे परेको छ । अधिकार सम्पन्न स्थानीय सरकार गठन भएको तीन वर्ष लागेको छ । तर, कार्यालय सञ्चालनका लागि उपयुक्त भवनसमेत नहुँदा सेवाप्रवाह व्यवस्थित हुन सकेको छैन ।

भाडामा लिएका घरमा निर्वाचित जनप्रतिनिधि नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन भइरहेका छन् । चार नगरपालिका र ३८ वडा रहेको भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकासहित आठवटा वडा कार्यालय भाडाका घरबाट सञ्चालित छन् । बाँकीमध्ये अधिकांश वडा कार्यालय साबिकका गाविस भवन, सामुदायिक भवन, सत्तल र गुठी भवनमा सञ्चालित छन् ।

मासिक भाडा बुझाउनु पर्दैनँ । तर, कार्यालय सञ्चालन लागि पर्याप्त भने छैनन् । वडाध्यक्षसम्मले कार्यालयमा बस्ने कुर्सी राख्ने ठाउँ पाएका छन् भने बाँकी सदस्यहरूलाई बस्ने ठाउँसमेत छैन । वडासदस्य र कार्यपालिका सदस्यहरू अध्यक्ष वा प्रमुखका वरिपरि बस्छन्, र बैठक सकेर घर फर्किन्छन् । जनप्रतिनिधि अटाउने आफ्नै हल नहुँदा नगरपालिकाले नगरसभासमेत रिसोर्ट र बैंक्वेटका हलमा महँगो शुल्क तिरेर गर्छन् । 

 बजेट छ, जग्गा छैन
मेयर भन्छन्, ‘साँघुरा कोठामा कुखुराजस्तै थुनिएर सिर्जनशील काम गर्न सकिएनँ ।’ चाँगुनारायण नगरपालिकाले ३० वटा कोठा भएका दुईवटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । नगरपालिकाले साँघुरा कोठा भएको भवनमै भए पनि मासिक एक लाख पाँच हजार रुपैयाँ भाडा बुझाउँछ । मेयर सोमप्रसाद मिश्र भन्छन्, ‘नगरको केन्द्रमा यीभन्दा गतिला भवन भेटिएनन्, साँघुरो कार्यालयबाट सेवा प्रवाह गर्न बाध्य छौँ ।’

नगरपालिकाले भवन बनाउन आवश्यक पर्ने जग्गासमेत पाएको छैन । ‘भवन बनाउन पर्याप्त बजेट छैन, उपयुक्त जग्गा नपाएर अर्को समस्या छ,’ मेयर मिश्र भन्छन्, ‘साँघुरा कोठामा कुखुराजस्तै थुनिएर सिर्जनशील काम गर्न कहाँ सकिन्छ र ?’ रोचक संयोग के छ भने नगरपालिका कार्यालय बस्नुअघि सो घरमा कुखुरा फार्म नै चलाइएको थियोे । भवन बनाउन जग्गा नपाएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । ‘नजिकै विद्युत् प्राधिकरणको पर्ति जग्गा छ, अन्यत्र पनि खोजी जारी छ, उपयुक्त ठाउँमा भवन बनाउने योजना अघि बढ्छ,’ मिश्रले भने । 

 अधिकारअनुसार  पूर्वाधार भएनन्
टंकप्रसाद आचार्य प्रतिष्ठानको भवनमा नगरपालिका कार्यालय सञ्चालन गरेको सूर्यविनायकले मासिक ५० हजार रुपैयाँ भाडा तिर्छ । वडा नं. ३ र ६ का कार्यालय पनि भाडाका घरबाट सञ्चालित छन् । भाडाको भवनमा सबै शाखाका लागि छुट्टै कोठा व्यवस्थित गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । नगरका आठ वडा साबिकका गाविस भवनबाट सञ्चालित छन् । 

वडा नं. ७ का अध्यक्ष रवीन्द्र सापकोटा भन्छन्, ‘अहिले वडामै राजस्व उठाउनेदेखि योजना सञ्चालनसम्मको अधिकार छ, तर त्यहीअनुसार सेवा दिन पर्याप्त पूर्वाधार छैनन्, नयाँ भवन बनाउने बजेट पनि छैन ।’ नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि ३५ करोड रुपैयाँको योजना बनाएको छ । तर, बजेटको सुनिश्चितता भने भएको छैन । नगरपालिकाले आगामी आर्थिक वर्षमा खर्च गर्नेगरी भवन निर्माणमा साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ । 

 सेवाग्राहीले पर्खिने ठाउँसमेत पर्याप्त छैन
आफ्नो भवनले अपुग भएपछि कार्यालयसँगै रहेको भवन मासिक ७० हजार रुपैयाँ भाडामा लिएको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । वडा नं. २, ३, ६, ७ र ९ नं. वडा कार्यालय पनि भाडाका घरबाट सञ्चालित छन् । ‘साँघुरा कोठाबाट सेवा प्रवाह गर्न असहज छ, सेवाग्राहीले पर्खने ठाउँसमेत पर्याप्त छैन,’ उनी भन्छन्, ‘ठूलो भवन बनाउने तयारी छ ।’ 

उनकाअनुसार वडा नं. ७ को भवन बन्दैछ, वडा नं. ३ र ९ को कार्यालय बनाउन टेन्डर प्रक्रिया अघि बढेको छ । वडा नं. २ र ६ को भवन डिजाइन सकिएको छ । पाँच कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गरेको वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर कुटुले बताए । ‘कोठा साँघुरा छन्, सेवाग्राहीको चाप बढी छ, दुःखले व्यवस्थापन गरेका छौँ,’ उनले भने । 
भक्तपुर नगरपालिकाको भने आफ्नै सुविधा सम्पन्न भवन छ ।

वडा कार्यालय भवन पनि बन्दै छन् । साँघुरा भवनबाटै जसोतसो सेवा प्रवाह गरिएको वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्यले बताए । उनले भने, ‘अध्यक्ष र वडासचिवका लागि छुट्टै कोठा छन्, सदस्यहरू  यताउता कुर्सी राखेर बस्छौँ ।’ भवन नभएका वडा कार्यालय सार्वजनिक सत्तल र गुठी भवनबाट सञ्चालन गरिएको छ ।

 

सम्बन्धित समाचार