रोल्पामा दोस्रो जीवन पाएँ : ज्ञानु पाण्डे

त्यो घटना

२०७६ असार २६ बिहीबार १०:४९:००

साहित्यकार

मैले प्रेस काउन्सिल नेपालमा आबद्ध भएर काम गरेँ । हिमालय टाइम्समा उपसम्पादकको जिम्मेवारी तीन वर्ष निभाएँ । कान्तिपुर दैनिक र अन्नपूर्ण दैनिकमा स्तम्भकार भएर पनि काम गरेँ । ‘नेपालमा महिला पत्रकारको अवस्था’को मुख्य शोधकर्ता भएँ । 

पत्रकारिताकै सिलसिलाको एउटा घटना सम्झन्छु । ०५४ सालमा माओवादी जनयुद्ध बढ्दो थियो । ‘माओवादी प्रभावित क्षेत्रमा महिला र बालबालिकाको अवस्था अध्ययन’ विषयमा काम गर्न रोल्पा पुगेको थिएँ । त्यहाँ जीवनमा कहिल्यै नभोगेको पीडा भोगेँ । दुर्गम त यसै थियो । माओवादीको अति प्रभावित क्षेत्र रहेछ । भोक लाग्दा खाने ठाउँ थिएन । निद्रा लाग्दा सुत्ने ठाउँ थिएन । त्यहाँको बिजोक जनजीवन सम्झिँदा अहिले पनि मेरो शरीरमा काँडा उम्रिन्छ । 

काठमाडौंबाट मसहित पाँच महिला पत्रकारको टोली गएका थियौँ । कसैले जबर्जस्ती जान भनेर त्यहाँ गएका त थिएनौँ । तर, मैले त्यसभन्दा पहिले खासै गाउँ टेकेको थिइनँ । म गाउँमा जन्मिएकी पनि होइन । त्यसैले गाउँसँग भिजेकी थिइनँ । मेरा लागि त्यस्तो दुर्गम ठाउँमा जानु सामान्य कुरा थिएन । म १५ दिनसम्म त्यहाँ बसेँ ।

काठमाडौंबाट मसहित पाँचजना महिला पत्रकारको टोली गएका थियौँ । कसैले जबर्जस्ती जान भनेर त्यहाँ गएका त थिएनौँ । तर, मैले त्यसभन्दा पहिले खासै गाउँ टेकेको थिइनँ ।
 

त्यसवेला हरेक दिन कि सेनाले कि माओवादीले कन्चटमा गोली ताक्थ्यो । मेरो आँखाअगाडि मृत्युबाहेक केही बाँकी थिएन । बाँचेर घर फर्किन्छु भन्ने झिनो आशा पनि हराइसकेको थियो । माओवादीले त आफ्नो आइडी कार्ड झिकेर देखाउनसमेत दिएनन् । ठूलो कसरतपछि बल्ल–तल्ल कार्ड देखाएँ । मसँग पत्रकारको कार्ड थियो । आफ्ना कुरा पत्रिकामा जान्छ भनेर एकछिन् अलि साम्यजस्तो हुन्थे । तर, फेरि उस्तै बनिहाल्थे । 

त्यहाँ बत्ती थिएन । फोन थिएन । परिवारलाई सम्झिएर वेला–वेला बेस्सरी रुन्थेँ । अब घर फर्किउँला भनेर त सोच्नै छोडिसकेकी थिएँ । एकदिन म त्यहाँबाट फुत्किएर काठमाडौं फर्किन सफल भएँ । १५ दिनको मानसिक यातना भोगेर फर्किएर काठमाडौं आइपुग्दा संसारकै भाग्यमानी मान्छे ठानेँ । वास्तवमै मैले नयाँ जीवन पाएर आएकी थिएँ ।

 

 


 
 

सम्बन्धित समाचार