Skip This
Skip This

पपुलिजमलाई कसले उचाल्दै छ ?

२०७६ असार २६ बिहीबार ०९:१८:००

समकालीन विश्वमा छाएको पपुलिस्ट राजनीतिलाई केले सघाइरहेको छ भन्ने प्रश्नको बहस संस्कृति वा अर्थतन्त्र केन्द्रित भएर हुने गरेको छ । पहिलो तर्क गर्नेको विचारमा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा जित, ब्रेक्जिट र युरोपका कैयन् देशमा राष्ट्रवादी दक्षिणपन्थी दलको उदयमा सामाजिक रुढिवादी र सामाजिक उदारवादीबीचको गहिरिँदो फाटो जिम्मेवार छ । यसको परिणामस्वरूप सामाजिक अनुदारवादीले फरक जातिबाट डर देखाउने र नश्लीय–राष्ट्रवादी, निरंकुशवादी राजनीतिज्ञलाई समर्थन गर्न थाले । अर्कोथरी मत राख्नेको तर्कमा पपुलिस्टलाई पश्चिमी राष्ट्रका मतदाताको आर्थिक सुरक्षाले उचालिरहेको छ ।

असुरक्षाको भावनालाई बजेटमा अंगीकार गरिएको आर्थिक मितव्ययिता र विश्वव्यापीकरणले बढायो । पपुलिजमको समाधान के हुन्छ भन्ने प्रश्नको जवाफ, माथिका दुईमध्ये कुनचाहिँ तर्क तपाईंलाई ठीक लाग्छ भन्ने कुराले निर्धारण गर्छ । यदि सर्वसत्तावादी पपुलिजमको जग अर्थतन्त्रमा छ भन्ने लाग्छ भने त्यसको जवाफ आर्थिक असमानता र असमावेशितालाई निशाना बनाउनुपर्छ । यसले लोकतन्त्रलाई फाइदा गर्छ । यदि यसको जग सांस्कृतिक मूल्यमा छ भन्ने लाग्छ भने, त्यसका विरुद्ध थोरै मात्र विकल्प उपलब्ध छ । 

पपुलिस्ट राजनीतिक संस्कृतिले निर्धारण गर्ने तर्क तत्कालै खारेज गर्न सकिने छन् । उदारणका लागि अमेरिकाका कैयन् टिप्पणीकार ट्रम्पको जितमा उनको नश्लवादी भाषणलाई जिम्मेवार ठह-याउने गर्छन् । तर, विभिन्न स्वरूपको नश्लवाद अमेरिकी समाजमा लामो समयदेखि रहँदै आएको छ । ट्रम्पले त्यसैलाई उपयोग गर्दा यो किन यति चर्चामा आएको ? भनेर कसैले स्पष्ट पार्न सकेका छैनन् । अन्य व्याख्या झन् उच्चस्तरका छन् ।

संस्कृतिले पारेको असरबारेको तर्क हालसम्म सबैभन्दा विस्तृत र महत्वाकांक्षी संस्करण हार्बर्ड केनेडी स्कुलका मेरा सहकर्मी पिप्पा नोरिस र मिचिगन विश्वविद्यालयका रोनाल्ड इंग्लेहार्टले प्रस्तुत गरेका छन् । हालै प्रकाशित पुस्तकमा तिनले पपुलिजम लामो समयदेखि चलिरहेको पुस्तौनी रूपान्तरणको परिणाम भएको तर्क गरेका छन् । युवापुस्ता थप समृद्ध, शिक्षित र अझ सुरक्षित हुँदै गर्दा तिनले ‘उत्तर–भौतिकवादी’ मूल्य स्वीकार गर्न थाले । त्यस मूल्यले धर्म निरपेक्षता, व्यक्तिगत स्वायतता र विविधतालाई जोड दिन्छ ।

दीर्घकालमा अघिल्लो पुस्ताको धार्मिकता, परम्परागत पारिवारिक संरचनाको मूल्यमाथि नयाँ पुस्ताका मूल्य हावी हुन पुग्यो । जसले गर्दा वृद्ध पुस्ता एक्लिँदै गएको छ । पुरातनहरूको संख्या कम हुँदै गएको भए पनि मतदान प्रक्रियामा भने त्यही पुस्ताको उल्लेख्य सहभागिता हुने गर्छ । तिनको राजनीतिक सक्रियताले युवापुस्ताविरुद्ध राजनीतिमार्फत रिस फेर्ने अवसर पाउँछन् ।

निस्कानेन सेन्टरका विल विल्किन्सनले भर्खरै यस्तै तर्क प्रस्तुत गरे । उनका तर्कमा विकिल्सन मुख्यतः सहरीकरणको भूमिकामा केन्द्रित थिए । विल्किन्सनले सहरीकरण समाजलाई विभाजन गर्ने आवासीय पृथकीकरण भएको बताएका छन् । उनका अनुसार सहरको पृथकीकरण आर्थिक समृद्धिको हिसाबमा मात्र सीमित नरहेर सांस्कृतिक मूल्यमा पनि कायम हुन्छ । सहर सामाजिक रूपमा उदार मूल्यको प्रभूत्व रहेको एउटा सजीव, बहुसांस्कृतिक, उच्च घनत्वयुक्त क्षेत्र हो । सहरको विस्तारले सामाजिक रूपमा समान खाले परम्परा लिएर बाँचिरहेको र विधितालाई नरुचाउने ग्रामीण क्षेत्र र साना सहरी केन्द्रलाई अल्पसंख्यक बनाउँदै लग्यो ।  

त्यस अतिरिक्त यो प्रक्रिया स्वतः सुदृढ हुँदै जाने खालको छ । ठूला सहरको आर्थिक सफलताले सहरी मूल्यलाई थप बल प्रदान गर्छ । विश्वको पिछडिएको क्षेत्रबाट बसाइँ–सराइका क्रममा आएका आप्रवासी सहरमै बस्ने क्रियाले पश्चिमी समाजभित्रै ध्रुवीकरणलाई थप बढाएको छ । युरोप र अमेरिका समरूपी, सामाजिक रुढिवादी क्षेत्रले राष्ट्रवादी पपुलिस्ट नेतालाई समर्थन गर्ने आधार यही हो । पपुलिजम विस्तारको कारणमा फरक तर्क गर्ने अर्थशास्त्रीले पपुलिस्टप्रति बढेको राजनीतिक समर्थनलाई आर्थिक धक्कासँग जोडेर कैयन् अध्ययन गरेका छन् । यी अर्थशास्त्रीले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले अमेरिकाभरबाट पाएको मत चीनसँगको व्यापारबाट परेको असरको परिणामसँग घनिष्ट रूपमा सम्बन्धित रहेको बताएका छन् । अरू सम्पूर्ण कुरा समान रहँदा चीनबाट सामानको आपूर्ति बढेपछि रोजगारीको दर विस्थापित हुँदा ट्रम्पप्रतिको समर्थन बढेको अध्ययनमा देखिएको छ । 

अर्थशास्त्री डार्न, ह्यासन र मज्लेसीले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको विजयमा चीनसँगको व्यापारले पारेको क्षति जिम्मेवार रहेको बताएका छन् । तिनले राष्ट्रपतीय चुनावमा अमेरिकाको प्रत्येक राज्यले हासिल गरेको मत परिणामलाई अलग–अलग विश्लेषण गरेर यो निष्कर्ष प्रस्तुत गरेका हुन् । तिनको आकलनअुनसार आयात सन् २००२–२०१४ को अवधिभन्दा कम भएको भए मिचिगन, विसकन्सिन र पेन्सिलभानियाजस्ता महत्वपूर्ण राज्यमा डेमोक्रेकिट पार्टीका उम्मेदवारले जितेर समग्रमा हिलारी क्लिन्टनले निर्वाचन जित्ने अध्ययन प्रस्तुत गरेका छन् । 

पश्चिम युरोपमा भएका अध्ययनमा पनि त्यस्तै परिणाम निस्केका छन् । चिनियाँ सामग्रीको उच्च प्रवेशले ब्रिटेनमा ब्रेक्जिटको समर्थन बढेको देखिएको छ । त्यस्तै, युरोपका अन्य देशमा बढेको उग्रदक्षिणपन्थी राष्ट्रवादी पार्टीको उदयमा पनि चीनसँगको असमान व्यापारले सघाएको छ । पपुलिजम वृद्धिमा अर्थतन्त्रले भूमिका खेल्ने वकालत गर्नेका अनुसार आर्थिक कटौती र आर्थिक असुरक्षाको वृहत्तर अवस्थाले राष्ट्रवादी वृद्धिमा उल्लेख्य भूमिका खेल्यो ।

अमेरिकाका कैयन् टिप्पणीकार ट्रम्पको जितमा उनको नश्लवादी भाषणलाई जिम्मेवार ठह-याउने गर्छन्, तर विभिन्न स्वरूपको नश्लवाद अमेरिकी समाजमा लामो समयदेखि रहँदै आएको छ । ट्रम्पले त्यसैलाई उपयोग गर्दा यो किन यति चर्चामा आएको भनेर कसैले स्पष्ट पार्न सकेका छैनन् ।

स्विडेनको श्रम बजारमा असुरक्षा भावनाको वृद्धि उग्र दक्षिणपन्थी ‘स्विडेन डेमोक्रेट्स’को उदयसँग सम्बन्धित देखियो । सांस्कृतिक र आर्थिक तर्क पूर्णतः असंगत नभए पनि एक–अर्कासँग विरोधी देखिन सक्छन् । तर, मिहीन रूपमा हेर्ने हो भने ती दुई बीचमा समानता भेट्न सकिन्छ । उत्तर–भौतिकवादी र सहरीकरणले प्रवद्र्धन गरेका मूल्यजस्ता सांस्कृतिक प्रवृत्ति दीर्घकालीन भएकाले तिनले अहिलेको समयमै पपुलिस्ट राजनीतिमा धक्का किन महसुस भयो, त्यसलाई पूर्ण रूपमा व्याख्या गर्न सकेका छैनन् । जसले सांस्कृतिक व्याख्याको प्रधानतालाई वकालत गर्ने गरेका छन् । तिनले आर्थिक धक्काको भूमिकालाई खारेज गरेका छैनन् । तिनका अनुसार आर्थिक धक्काले सांस्कृतिक विभाजनलाई बढाउन भूमिका खेल्यो । 

उदारणका लागि सांस्कृतिक व्याख्याता नोरिस इङलेहार्टको तर्कलाई ध्यान दिन सकिन्छ । उनले ‘सामाजिक विविधताको मध्यमकालको आर्थिक अवस्था र वृद्धि’ले सांस्कृतिक प्रतिरोध बढाएको तर्क गरेका छन् । उनको प्रयोगात्मक अध्ययनले पपुलिस्ट दलको समर्थनमा आर्थिक तत्वले भूमिका खेलेको देखाएको छ । त्यस्तै, विल्किन्सनले ‘नश्लीय भय’ र ‘आर्थिक भय’ वैकल्पिक अवधारणा नभएको बताएका छन् । उनको तर्कमा आर्थिक क्षतिले सहरीकरण निर्देशित आर्थिक पृथकीकरणलाई धेरै हदसम्म सघन बनाउन पुग्यो । तर, लोकप्रियतावादको वृद्धिमा अर्थतन्त्रले निर्धारक भूमिका खेल्छ भनेर तर्क गर्नेले चीनको व्यापार धक्का शून्यमा भएको थिएन भनेर पहिचान गर्नुपर्छ । त्यो पहिले अस्तित्वमा रहने सामाजिक सांस्कृतिक विभाजनको धरातलमै भएको थियो । अन्त्यमा सर्वसत्तावादी पपुलिजमको उदयको कारणमा सटिक सामन्जस्यता खोज्नु, नीतिगत पाठ सिक्नुभन्दा कम महत्वपूर्ण हुन सक्छ । असमानता र असुरक्षाको आर्थिक समाधान सबैभन्दा महत्वपूर्ण कुरा हो भन्नेमा धेरै ठूलो विवाद छैन ।

(ड्यानी रोड्रिक हार्बर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गर्भनमेन्टमा अन्तर्राष्ट्रिय अर्थ–राजनीतिकका प्राध्यापक हुन्)

ë Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य