Skip This
Skip This

आयल निगमविरुद्ध ग्यास उद्योगीको मुद्दा

२०७६ असार २६ बिहीबार ०७:३४:००

नेपाली ग्यास बुलेट सञ्चालनको अनुमति दिएर दुई वर्षसम्म कार्यान्वयन नगर्ने आयल निगमविरुद्ध एक उद्योगीले मुद्दा दायर गरेका छन् । ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले दुई वर्षअघि ग्यास बुलेटमा करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेकाले त्यसको क्षतिपूर्ति वा सञ्चालन अनुमति माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा आयल निगमविरुद्ध मुद्दा दायर गरेका हुन् । निगमले  दुई वर्षअघि एक सूचना प्रकाशित गरी नेपाली बुलेट सञ्चालनका लागि आवेदन मागेको थियो । त्यतिखेर आवेदन दिनेमध्ये ७ सय ७५ बुलेटलाई निगमले स्वीकृति दिएको थियो । घिमिरेले आफ्नो स्वामित्व रहेको एभरेस्ट ग्यास उद्योगका लागि दुईवटा बुलेट तयार गरेर नेपाल भित्र्याएका थिए । उक्त बुलेट हेटौँडामा राखिएको छ । 

‘दुई वर्षअघि बुलेट तयार गरेर नेपाल भिœयाउँदा २ करोड १० लाख भारु (३ लाख ३६ हजार रुपैयाँ) नोक्सानी भएको छ । एभरेस्टकै नाममा थप ३७ बुलेट बुकिङसमेत गरेर राखेको छु,’ उनले भने, ‘मेरा अन्य ग्यास उद्योग त्रिशूल, सुगम, कामख्य, प्रिमालगायतमा गरेर कुल ८६ बुलेट बुकिङ भएको छ । यी सबैमा गरेको लगानीअनुसार प्रतिफल नपाउने निष्कर्षका साथ निगमविरुद्ध क्षतिपूर्ति वा सञ्चालन अनुमति माग गर्दै मुद्दा दायर गरेको हुँ ।’ 

एभरेस्ट ग्यासका लागि बुकिङ गरेको ३७ बुलेट भन्सार यार्डमा आएर बसेको उनको भनाइ छ । टाटा मोटर्सको नेपालस्थित अधिकृत विक्रेता सिप्रदी टे«डिङबाट मगाएको बुलेटको पैसा तिर्न बारम्बार ताकेता आइरहेको उनले गुनासो गरे । आयल निगमलाई प्रतिबुलेट १५ हजार रुपैयाँ दरखास्त दस्तुर तिरेर सञ्चालन अनुमति लिएका सबै व्यवसायीले भारतमा च्यासिससहितको गाडी तयार गरेका छन् । त्यसमा ग्यास राख्ने बुलेट मात्र हाल्न बाँकी छ । ग्यास उद्योग संघका अनुसार ४ सय ९ वटा बुलेट बुकिङ भएर भारतका विभिन्न ग्यारेजमा दुई वर्षदेखि राखिएका छन् ।


किन अड्कियो बुलेट ?

हाल करिब ४ सय बुलेटले नेपालका ५९ उद्योगमा ग्यास ओसारिरहेका छन् । ती सबै बुलेट भारतीय व्यवसायीका हुन् । ग्यास ढुवानीका लागी वार्षिक करिब ३ अर्ब रुपैयाँ भारतीय व्यवसायीले लैजाने गरेका छन् । यति ठूलो रकम स्वदेशी उद्योगीले नै लिने गरी नेपाली बुलेट सञ्चालनको निर्णय भएको थियो । अर्कातिर नेपाली बुलेटमै ओसार्दा सजिलो हुने ठहर गर्दै आयल निगमले २ वर्षअघि सञ्चालन अनुमति दिएको थियो । तर, भारतीय व्यवसायीको प्रभावमा भारत सरकारले नेपाली बुलेटलाई भारतमा सञ्चालन अनुमति दिन मानेको छैन । भारतको नागपुरमा रहेको एक्स्प्लोसिभ डिपार्टमेन्टले नेपाली नम्बर प्लेटका बुलेटमा ग्यास ओसार्न सुरक्षित छ भनेर प्रमाणपत्र दिन मानेको छैन । दुई वर्षयताका विभिन्न सरकारले पहल गर्दा पनि भारतले एक्स्प्लोसिभ लाइसेन्स दिन नमानेपछि नेपाली नम्बर प्लेटका बुलेटमा ग्यास ओसार्ने योजना असफल भएको छ ।

सम्बन्धित समाचार