पानीमा छाताको छाया

२०७६ असार २१ शनिबार ११:३५:००

फाेटाे कथा

एक साँझ छोरी घरमा आफ्नो रंगीबिरंगी छातासँग खेल्दै थिइन् । पानी सिमसिम परिरहेको वेला थियो त्यो । छोरीको लुगा लगभग भिजिसकेको थियो । छोरीलाई पटक–पटक कोठाभित्र लैजान खोजेँ, मान्दै मानिनन् । पानीसँग खेलि नै रहिन् । छाता छोड्दै छोडिनन् । मानौँ, छाता सबैभन्दा प्रिय वस्तु हो, उनका लागि । 

छाता र पानीसँग खेलिरहेकी छोरीलाई मोबाइलमा कैद गरेँ । पटक–पटक खिचिएका तस्बिर हेरेँ । तस्बिर हेर्दा खुब सोचेँ, ‘मैले आफ्नो जीवनका उर्वर समय यहीँ बिताएँ, तर छोरी ठूली भएपछि यही देशमा यसरी नै खेलिरहन पाउलिन् ? बाध्यतावश छोरीले यो देश छाडेर बिदेसिनुपर्ने त होइन ?’ 

छोरी, पानी र छातातिर पटक–पटक फर्केपछि मलाई यही विषयमा फोटोग्राफी गर्न मन लाग्यो । साना नानीहरूले बोक्ने कार्टुन भएका, चित्रहरू कोरिएका राता, पहेंला, हरिया, नीला अनेक रंगका छाताहरू जम्मा पारेँ । ट्राइपड, क्यामेरा, टर्च र ती रंगीन छाता एउटै ब्यागमा बोकेर बाइकमा निस्किएँ– बत्तीले झिलिमिली साँझ, मध्यराति र घाम चर्किरहेका मध्याह्नमा । छातालाई बौद्ध, जोरपाटी, नयाँ बानेश्वर, पुरानो बानेश्वर, बबरमहलका भत्किएका कालोपत्रे सडकमा फिजाएँ । सडकमा कतै पानी जमेको हुन्थ्यो त कतै खाल्डाखुल्डी । सडकमा यसरी फोटो खिच्ने यो क्रम महिनौँसम्म चल्यो ।

बाल्यकालीन दिन र छाता– यी दुईलाई मेरो देशको आर्थिक–राजनीतिक अवस्थाको प्रतीकको रूपमा बुझ्न सकिन्छ । मेरो तस्बिरमा छाताहरू आकाशतिर फर्केका छन् । तर, ती समाउने हातहरू छैनन् । सोच्छु– छाता समाउने ती कैयौँ हात बिदेसिएका छन् ।

यो फोटो कथासँग जोडिएका मेरा नितान्त निजी अनेकन् स्मृति छन् । रात–साँझ फोटो खिच्दै हिँड्दा प्रहरीहरू भेटिन्थे । शरीरभरि खानतलासी गर्थे र भन्थे, ‘माइन्ड नगर्नुस् सर । तलासी गर्नु हाम्रो ड्युटी हो ।’ प्रहरीको गस्ती भेटिँदा पछिपछि सुरक्षित महसुस हुन थाल्यो । मध्यराति सडककिनारमा ट्राइपड र क्यामेरा खेलाएर धुमधुम्ती एक्लै उभिइरहेको मेरो आकृति देख्दा केही मानिस भाग्थे पनि । मचाहिँ पानीमा परेको छाताको प्रतिबिम्ब क्यामेरामा क्लिक गरिरहन्थेँ ।