Skip This
मदुरो न्युयोर्कको कारागारमा : भेनेजुएलामाथि शासन गर्ने ट्रम्पको तयारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष २१ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ पौष २१ सोमबार o८:१९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

मदुरो न्युयोर्कको कारागारमा : भेनेजुएलामाथि शासन गर्ने ट्रम्पको तयारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ पौष २१ सोमबार o८:१९:oo
  • मदुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकी नियन्त्रणमा राखिएको बताउँदै नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने घोषणा गरेका छन् । विपक्षी दलकी नेतृ मारिया मचादोले अमेरिकी कदमको स्वागत गर्दै मदुरोका प्रतिस्पर्धी एडमन्डो गोन्जालेज उरुटियालाई सरकारको नेतृत्व दिनुपर्ने माग गरेकी छिन् ।

अमेरिकी सेनाले शनिबार बिहान नाटकीय शैलीमा पक्राउ गरेको केही घण्टापछि अमेरिका पुर्‍याइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई न्युयोर्कस्थित एक कारागारमा राखिएको छ । उनलाई लागुपदार्थ ओसारपसार (नार्को–टेरोरिजम)को अभियोगमा अदालतमा मुद्दा चलाइने भएको छ । मदुरोमाथि कोकिन आयात र अवैध हतियार राखेको आरोप लगाइएको छ । लागुऔषध तस्करीसम्बन्धी आरोपको सामना गर्न मदुरोदम्पतीलाई राजधानी काराकासबाट ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको हो । ६३ वर्षीय नेतालाई ब्रुकलिनको संघीय सुविधा मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ र सोमबार म्यानहट्टन संघीय अदालतमा प्रारम्भिक उपस्थिति हुने बताइएको छ । अमेरिकी विशेष सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकसमा ‘अपरेसन एब्सोल्युट रिजल्भ’ अभियानअन्तर्गत मदुरोदम्पतीलाई पक्राउ गरेको थियो । 

भेनेजुएलाको सत्ता अब कसले चलाउँछ ? 
अमेरिकाले निर्वाचित राष्ट्रपतिलाई नाटकीय शैलीमा कब्जा गरेर लगेपछि त्यहाँको सत्ता कसले सम्हाल्ने भन्ने विषयमा विवाद बढेको छ । अमेरिकाले भेनेजुएला कसरी चलाउने योजना बनाएको छ भन्ने स्पष्ट छैन । मदुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकी नियन्त्रणमा राखिएको बताएका छन् । विपक्षी दलकी नेतृ मारिया कोरिना मचादाले भेनेजुएलाको नेतृत्व गर्न सक्ने चर्चा चलिरहेका वेला नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने ट्रम्पले घोषणा गरेका हुन् । त्यसो त, मचादोले मदुरोको गिरफ्तारीलाई ‘स्वतन्त्रताको घडी’ भन्दै अमेरिकी कदमको स्वागत गरेकी छिन् । 

उनले राष्टपति निर्वाचनमा मदुरोका प्रतिस्पर्धी तथा वरिष्ठ राजनीतिज्ञ एडमन्डो गोन्जालेज उरुटियालाई सरकारको नेतृत्व दिनुपर्ने माग पनि गरेकी छिन् । तर, ट्रम्पले भेनेजुएलाको सत्ता आफैँ चलाउने बताएका छन् । अमेरिकी विशेष सेनाले मदुरोलाई नियन्त्रणमा लिएपछि उनकी उपप्रमुख डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छिन् । मदुरोको पक्राउपछि भेनेजुएलाको एक अदालतले ५६ वर्षीय रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको पदग्रहण गर्न आदेश दिएको थियो । रोड्रिगेजले शनिबार दिउँसो एक टेलिभिजन सम्बोधनमा मदुरोलाई अमेरिकाले अपहरण गरेको भन्दै तत्काल रिहाइको माग गरेकी थिइन् । भेनेजुएलाले शनिबार राष्ट्रिय आपत्काल घोषणा गर्दै ‘सैन्य आक्रमण’को निन्दा गरेको थियो । 

मुख्यालयका अधिकारीलाई शुभकामना दिए मदुरोले
शनिबार न्युयोर्कस्थित लागुऔषध प्रवर्तन प्रशासन (डिइए)को मुख्यालयभित्र मदुरोलाई अधिकारीहरूले ‘एस्कर्ट’ गरिरहेको देखाइएको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ । ह्वाइट हाउसको आधिकारिक र्‍यापिड रेस्पोन्स अकाउन्टबाट मदुरोको भिडियो सार्वजनिक भएको हो । भिडियोमा ६३ वर्षीय नेतालाई हथकडी लगाएको देखिन्छन् । उनले कोठामा रहेका अधिकारीहरूलाई ‘शुभ रात्रि’ र ‘नयाँ वर्षको शुभकामना’ भन्दै गरेको पनि सुनिन्छ । यसअघि अर्को भिडियोमा मदुरो अमेरिकी भूमिमा अवतरण गरेको देखाइएको छ ।

डिइए कार्यालयबाट मदुरोलाई ब्रुकलिनको संघीय सुविधा मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा लगियो । यो डिटेन्सन सेन्टर त्यही जेल हो जहाँ र्‍यापर सिन डिडी कम्ब्सलाई गत वर्ष उनको मुद्दाको अवधिभर राखिएको थियो । मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई शनिबार (स्थानीय समय) बिहान भेनेजुएलाको राजधानी काराकसमा विशेष अमेरिकी सेनाले गरेको अनौठो आक्रमणको क्रममा पक्राउ गरिएको थियो ।

महिनौँदेखि थियो अमेरिकाको तयारी
अमेरिकी गुप्तचरले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको हरेक गतिविधिको महिनौँदेखि निगरानी गरिरहेका थिए । भेनेजुएला सरकारभित्रको एक स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् भनेर निगरानी गरिरहेको थियो । शीर्ष सैन्य अधिकारीहरूका अनुसार टोलीले उनका घरपालुवा जनावरको पनि अवलोकन गरिरहेको थियो ।

त्यसपछि, डिसेम्बरको सुरुमा, ‘अपरेसन एब्सोल्युट रिजोलभ’ नामक योजनाबद्ध मिसनलाई अन्तिम रूप दिइएको थियो । कारबाहीमा सेनाको डेल्टा फोर्ससहित सम्भ्रान्त अमेरिकी सेनाहरू संलग्न थिए । 

यो कारबाहीलाई शीतयुद्धपछिको दक्षिण अमेरिकामा सबैभन्दा ठुलो सैन्य हस्तक्षेप मानिएको छ । आक्रमणबारे कांग्रेसलाई पहिले नै जानकारी गराइएको थिएन र परामर्श गरिएको थिएन । आक्रमण क्रिसमस र नयाँ वर्षको बिचमा गर्ने योजना थियो, तर राम्रो मौसमका लागि केही ढिलो भएको थियो । अन्तत: राष्ट्रपति ट्रम्पले शुक्रबार राति मिसन सुरु गर्ने आदेश दिए ।

‘उहाँले हामीलाई शुभकामना दिनुभयो त्यसका लागि आभारी छौँ,’ सैनिक जेनरल केनले भने । मिसनलाई पूर्णता दिन अमेरिकी एलिट फोर्सले मदुरो बस्ने काराकसस्थित ‘सेफ हाउस’को दुरुस्तै (फुल साइज) नमुना बनाएर महिनौँसम्म अभ्यास गरेका थिए । 

आदेशलगत्तै आकाश, जमिन र समुद्री मार्गबाट दुई घण्टा २० मिनेट लामो कारबाही भयो । आक्रमणको सटिकताका हिसाबले यो अभूतपूर्व थियो । ट्रम्पले यो अभियान फ्लोरिडाको पाम बिचस्थित आफ्नो एउटा क्लबमा बसेर प्रत्यक्ष प्रसारणमार्फत हेरेका थिए । उनीसँगै विदेशमन्त्री मार्को रुबिओ र सिआइए निर्देशक जोन र्‍याटिक्लफ पनि थिए । 

आक्रमणको समयमा १५० वटाभन्दा बढी बमवर्षक, लडाकु जेट र गुप्तचर विमान रातभरि आकाशमा उडाइएका थिए । स्थानीय समयअनुसार बिहान करिब दुई बजे काराकासमा विस्फोटसहित आक्रमण सुरु गरिएको थियो । त्यसअघि अमेरिकी सेनाले राजधानी काराकासको विद्युत् आपूर्ति बन्द गरेको थियो । 

आक्रमण सुरु भएको केही समयमै सैनिकहरू मदुरो रहेको सेफ हाउसमा पुगेका थिए । बिहानको छापा मार्ने क्रममा उनीहरू काराकासको उच्च सुरक्षित फिट ट्युना सैन्यपरिसरमा आफ्नो निवासभित्र सुतिरहेका थिए । अमेरिकी सैनिकहरू राष्ट्रपतीय भवनको परिसरभित्र पस्दै गर्दा बंकर भएको कोठातर्फ मदुरो भाग्न खोजेका थिए । तर, त्यहाँ नपुग्नै सेनाले नियन्त्रणमा लिएको थियो । शनिबार बिहान ४ बजेर २० मिनेट हुनुअघि नै हेलिकोप्टरहरूले मदुरो र उनकी पत्नीलाई निवासबाट ‘थुतेर’ बाहिर पुर्‍याइसकेका थिए । आक्रमणका क्रममा सेफ हाउसमा कसैको मृत्यु नभएको अमेरिकी विशेष सेनाले जनाएको छ । यसअघि अमेरिकी सेनाले काराकासका विभिन्न क्षेत्रमा गरेका विस्फोटमा तीन दर्जनभन्दा बढी मारिएका थिए ।

ट्रम्पले एक सातादेखि भेनेजुएलामा लागुऔषध कार्टेलहरूमाथि जमिनमा आक्रमण गर्ने धम्की दिएका थिए । उनले क्यारिबियनमा विशाल नौसेना र हवाई उपस्थिति पनि तैनाथ गरेका थिए, जसमा अमेरिकाको सबैभन्दा अत्याधुनिक विमानवाहक युएसएस जेराल्ड आर फोर्ड र अन्य युद्धपोत खडा गरिएका थिए ।

अमेरिका र धेरै युरोपेली सरकारहरूले मदुरोको वैधतालाई मान्यता दिएका थिएनन् ।  २०१८–२०२४ को निर्वाचनमा मदुरोले धाँधली गरेर विजयी भएको उनीहरूले बताएका थिए । ह्युगो चाभेजको उत्तराधिकारी बनेर सन् २०१३ देखि सत्तामा रहेका मदुरोले लागुऔषधको व्यापारमा कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै भेनेजुएलामा पृथ्वीमा सबैभन्दा ठुलो तेल भण्डार भएकाले अमेरिकाले उनलाई हटाउन खोजिरहेको बताउँदै आएका छन् ।

– एनडिटिभी, बिबिसी र अलजजिराको सहयोगमा