एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले ‘जन–जनलाई जोड्दै, द्विपक्षीय व्यापार सुदृढ गर्दै’ भन्ने मूल नारासहित दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ आयोजना गर्ने भएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा ट्रेड एन्ड एक्स्पोर्ट प्रमोसन सेन्टर नेपालसँगको सहकार्यमा पिएचडी हाउस, नयाँदिल्लीमा ट्रेड फेस्टिभल आयोजना हुन लागेको हो।
कार्यक्रमको एक प्रमुख आकर्षणका रूपमा नेपाल सरकार र भारत सरकारका क्याबिनेटस्तरका मन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले इन्डो–नेपाल आर्थिक सहकार्य र नीतिगत तहको संवादको रणनीतिक महत्त्वलाई उजागर गर्ने आयोजकले जनाएको छ।
फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक–गायिका र कलाकारहरूले सांस्कृतिक प्रस्तुतिसमेत दिनेछन्। त्यसैगरी, परम्परागत नेपाली खानाका परिकारहरूको स्वाद पनि लिन सकिनेछ।
एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीतिक सम्बन्धलाई एकीकृत गर्ने समग्र इन्डो–नेपाल प्लाटफर्मका रूपमा परिकल्पना गरिएको बताए।
ट्रेड फेस्टिभलमा अग्रणी कर्पोरेटहरू, एमएसएमईहरू, निर्यातकर्ता, आयातकर्ता, लगानीकर्ता, पर्यटन क्षेत्रका सरोकारवाला, स्टार्टअप, कूटनीतिज्ञ, नीति निर्माता, सञ्चारमाध्यम तथा सर्वसाधारणको सहभागिता रहने आयोजकको अपेक्षा छ।