
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन्।
संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छाडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे।
राष्ट्रपति पौडेलले भने, ‘यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ। सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ। समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ। र, हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ। यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो। त्यसैले सबैले यसको रक्षा गरौँ।’
राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा ०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गरे। उनले भने, ‘परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ। र, सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ।’