मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
कञ्चनपुरस्थित कांग्रेस पार्टी कार्यालय  
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:२१:oo
Read Time : > 1 मिनेट
समाचार

जेन–जी आन्दोलनमा हिंसा मच्याउने पार्टीका नेता-कार्यकर्तालाई कांग्रेस कञ्चनपुरले कार्बाही गर्ने

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:२१:oo

कांग्रेस कञ्चनपुरले जेन–जी आन्दोलनमा संलग्न भई हिंसा मच्याउने पार्टीका नेता-कार्यकर्तालाई कार्बाही गर्ने भएको छ । 

खण्डहर बनेको कांग्रेस पार्टी कार्यालय कञ्चनपुरमा बुधबार बसेको बैठकले आन्दोलनमा संलग्न भई तोडफोड, आगजनी एवं लुटपाटमा संलग्न नेता-कार्यकर्ताहरूलाई कार्बाही गर्ने निर्णय गरेको हो। 

कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले आन्दोलनमा सहभागी भएर वा नभएर पनि उस्काउने, प्रत्यक्ष सहभागी भएर निजी, व्यवसायिक सरकारी, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको प्रमाणित भए पार्टीबाटै कार्बाही गर्ने निर्णय भएको बताए । उपसभापति सिंहका अनुसार पार्टीले जिल्लाभरि क्षतिग्रस्त संरचनाको स्थलगत अनुगमन गर्दैै पीडितलाई भेट्ने, क्षतिको यकिन विवरण संकलन गर्ने, संलग्नमाथि कानुनी कार्बाहीका लागि सरकारसमक्ष पनि माग राख्ने भएको छ  

‘आफ्ना बिमतिलाई शान्तिपूर्वक लोकतान्त्रिक विधि प्रक्रियाबाट राख्न मिल्छ, यो लोकतन्त्र पनि हो,’ उनले भने, ‘सरकार वा कसै व्यक्ति निकायसँग इगो, ईर्ष्या , रिसइबी वा मन नपरेको भन्दै निजी निवास, व्यावसायिक क्षेत्र एवं सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट एव आगजनीजस्तो जघन्य अपराध गर्न मिल्दैन।’

बैठकले आन्दोलनमा सहिद भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलीदेखि घाइतेको शीघ्र लाभको कामना गरेको छ । जेन–जी आन्दोलनका नाममा कञ्चनपुर जिल्लाभरि भएको हिंसात्मक, विध्वंसात्मक गतिविधिको भर्त्सनासमेत कांग्रेसले गरेको छ ।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटी, कांग्रेस नेतृ एवं भीमदत्त नगरकी उपमेयर निलम लेखक, कांग्रेस नेता एवं जिसस प्रमुख दुर्गादत्त बोहरा, कांग्रेस पूर्व जिल्ला सचिव एवं बेदकोट नगरका मेयर भोजराज बोहरा, कांग्रेस जिल्ला सचिव एवं कृष्णपुरका मेयर हेमराज ओझाको घर, कांग्रेस केन्द्रीय तथा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, कांग्रेस नेतृ एवं सुप प्रदेश सभा सदस्य मधु भारती, कांग्रेस नेता एवं सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसि‌ंह थापा र कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान गृहमन्त्री रमेश  लेखकका दुवै घरमा आगजनी, तोडफोड एवं लुटपाट भएको भन्दै कांग्रेस कञ्चनपुरले भर्त्सना गरेको छ। ध्वस्त पार्टी कार्यालय पुनर्निर्माणमा सहयोग गर्नसमेत आमनेता-कार्यकर्ताहरूलाई आह्वान गरेको छ।