Skip This
जेन–जी आन्दोलनले कोख रित्तिएपछि...
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:३७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी आन्दोलनले कोख रित्तिएपछि...

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

भदौ २४ गते देशमा भएको जेन–जीको आन्दोलनमा काठमाडौंस्थित   महाराजगन्ज प्रहरी वृत्तमा आगजनी भयो। आगजनी मात्र भएन त्यहाँ खटिएका प्रहरी जवान उत्तमसिंह थापा पनि  मारिए। डिएसपी हो भन्दै आक्रामक रूपमा उत्रिएका आन्दोलनकारीले उनलाई कुटी–कुटी यातना दिएर क्रूर तरिकाले मारे । उनी मरेनन् मात्र राष्ट्र सेवामा रहेको आफ्नो छोरा गुमाएपछि भावविह्वल छिन् उनकी वृद्ध आमा निर्मलादेवी थापा । छोरा गुमेसँगै उनको सहारा पनि गुमेको छ । 

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोलीकी निर्मलदेवी थापाले ११ वर्षअघि श्रीमान् हरिसिंह थापा गुमाइन्। श्रीमान् बितेपछि दुई  छोराको सहारामा बाँचेकी निर्मलाको जीवनमा दशकभित्रै ठुलो बज्रपात  आइपर्‍यो ।  गत वर्ष २१ मंसिर ०८१ मा कान्छा छोरा महेश थापा गुमाएकी निर्मलाले वर्ष दिन नपुग्दै जेठो छोरो उत्तम पनि  गुमाएकी छिन् ।

कान्छो छोरो गुमाएको नाै महिनामै जेठो छोरा उत्तमको आसमा बाँचेकी निर्मलाको साहरा जेन–जी आन्दोलनको लुटिदिएको छ । महेशको महाकाली नदीमा धार्मिक काम सकेर घर फर्किने क्रममा भिरबाट लगेर मृत्यु भएको थियो ।  कान्छो छोरा गुमे पनि राष्ट्रसेवामा रहेका जेठो छोराको सहारामा बाँचेकी निर्मला यतिवेला घरका तीन सदस्य गुमेपछि बेहोसी  अवस्थामा पुगेकी छिन्। निर्मला अहिले दार्चुलाकै घरमा छिन् । 

गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट १२ पास गरेपछि उत्तमलाई प्रहरीमै कार्यरत उनका कान्छाबाबु रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए । तीनपटककोे प्रयासमा ०७३ सालमा प्रहरी जवान भएका थापाले आधारभूत तालिम सकेपछि उनको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो । प्रहरी जवान थापाका कान्छाबाबु रूपसिंह थापाले लामो समय धनगढीमा कार्यरत भतिजाको ६ महिनाअघि मात्रै काठमाडौंमा सरुवा भएको बताए ।

‘दाजुको देहान्त भएपछि म र मेरो जेठा दाजु तेजसिंह थापाले नै उत्तम र उनका भाइ महेशलाई हेरचाह  गरेका थियौँ,’ उनले भने, ‘कान्छो भतिजालाई नौ महिनाअघि गुमायौँ, अहिले जेठो भतिजो पनि गुमाएका छौँ, हाम्रो परिवारमा निरन्तर ब्रजपात भएको छ।’ दुई वर्षअघि प्रहरी नायब निरीक्षक (सइ)बाट सेवा निवृत्त भएका रूपसिंहले उत्तमलाई डिएसपी भन्दै अमानवीय रूपमा कुटी–कुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएका बताउँदै यस्तो निकृष्ट अमानवीय काममा संलग्नमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन अपिल गरेका छन्। 

मृतक प्रहरी जवान थापाका अर्का कान्छाबाबु तेजसिह थापाले बाल्यकालमा भलिबल खेल्दै आएका उत्तमले ६ वर्षअघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसँग प्रेमविवाह गरेको बताए ।  ‘भतिज उत्तमको जागिर धनगढी थियो, बुहारी पनि त्यहीँ बस्थिन्, ६ महिनाअघि मात्रै उनको काठमाडौं सरुवा भएको थियो, दाजु र अर्का भतिजा गुमेपछि भाउजूलाई सुखसयलमा राख्छु भन्थ्यो, त्यही भएर धनगढीमा १० धुर जमिन पनि किनेको थियो, तर उत्तमको सपना जेन–जी आन्दोलनले अधुरै बनायो ।’ 

शिक्षकबाट सेवानिवृत्त भएका तेजसिंहले कान्छा भतिजको देहान्तसँगै उनकी श्रीमती अस्मिता बोहराले पनि घर छाडेर हिँडेको बताए । ‘यतिवेला हामी घरपरिवार विक्षिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजू निर्मलामा परेको छ,’ उनले भने, ‘हाम्रो परिवारमा परेको यो अपूरणीय क्षतिको कुनै सीमा नै छैन ।’ राष्ट्रसेवामा खटिएकै क्रममा अमानवीय रूपमा क्रूर हत्या भएको बताउँदै उनले अब उत्तमकोे सहारामा बाँचेकी उनकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्ने बताए । 

आन्दोलनपछि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै उत्तमको आइतबार मृतकका कान्छा बाबु रूपसिहंका छोरा अमिस थापा, अर्का कान्छाबाबु ईश्वर थापासहितका आफन्तले प्रहरीको उपस्थितिमै पशुपतिमा अन्त्येष्टि गरेका छन् । परिवारको आफ्नै मातृभूमि दार्चुलास्थित महाकाली नदीमा अन्त्येष्टि गर्ने चाहना भए पनि परिस्थितिले उतै अन्त्येष्टि भएको छ । उत्तमकी आमा निर्मला, उनकी धर्मपत्नी पुष्पासहित थापा परिवारले मुखै हेर्न नपाई अन्त्येष्टि गरिएको छ। मृतक उत्तमको कञ्चनपुर बेदकोट नगरपालिका– ७, गाउजी तेजसिंह थापाको घरमा कान्छाबाबु रूपसिंह र धर्मपत्नी किरियामा बसेका छन् भने आमालाई दार्चुला पुर्ख्यौली घरमा आफन्तले सहारा दिइरहेका छन् ।