Skip This
नयाँ परिस्थितिमा परराष्ट्र नीति : मित्रराष्ट्रको सदभाव, तर कूटनीतिक चुनौती 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format o६:२९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नयाँ परिस्थितिमा परराष्ट्र नीति : मित्रराष्ट्रको सदभाव, तर कूटनीतिक चुनौती 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२९:oo
  • नयाँ राजनीतिक खेलाडीप्रति अन्तर्राष्ट्रिय समुदायको चासो, अन्तर्राष्ट्रिय सद्भावलाई विश्वास र विश्वसनीयतामा रूपान्तरण गर्नुपर्ने विज्ञको सुझाव

६ महिनाभित्र निर्वाचन, जेन–जी आन्दोलनबाट ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासन प्रवर्द्धन गर्ने म्यान्डेटसहित गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीको नियुक्ति भएन । तर, नयाँ परिस्थितिमा छिमेक र बाह्य सम्बन्ध कसरी व्यवस्थापन हुन्छ भन्नेबारे कूटनीतिक वृत्तमा गहिरो चासो छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस सरकारलाई अब बाह्य सहयोग र समर्थन अत्यावश्यक रहेको विज्ञहरूको प्रतिक्रिया छ । उनीहरूका अनुसार छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायको सद्भाव उपयोग गर्दै नेपालले अवसर र चुनौती दुवै बुद्धिमत्तापूर्वक सामना गर्नुपर्नेछ । आन्तरिक राजनीतिक लोकरिझ्याइँबाट विदेश नीति सञ्चालन गर्ने प्रवृत्ति नदोहोर्‍याई प्राथमिकता स्पष्ट गर्दै सरकार अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले परिवर्तित परिस्थितिमा नेपाललाई बाह्य समर्थन र सहयोग आवश्यक भएको बताए । ‘आन्दोलनका क्रममा नष्ट भौतिक संरचनाको पुनर्निर्माणदेखि निर्वाचन गराउन स्रोत चाहिएको छ । यसका लागि नेपालले छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँग बुद्धिमतापूर्ण सम्बन्ध सञ्चालन गर्नु अपरिहार्य छ,’ आचार्यले भने, ‘यो अस्थिर परिवेशमा हाम्रा पुराना सम्बन्ध पुनस्र्थापित गर्दै जानुपर्छ । निर्वाचनमार्फत नयाँ राजनीतिक परिस्थितिमा निर्माण गर्ने कार्यका लागि पनि अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्नुपर्छ । सरसर्ती हेर्दा अनुकूल नै देखिन्छ, तर सरकारले प्राथमिकता स्पष्ट गरेर अघि बढ्नुपर्छ ।’ 

त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले संयम कायम राख्दै तत्कालीन प्राथमिकतामा सबैको सहयोग र सद्भाव वृद्धि गर्न सरकारले काम गर्नुपर्ने बताए । ‘नेपाली जनताको सार्वभौम राजनीतिक प्रक्रियालाई छिमेकीसहित मित्रराष्ट्रहरूले स्वागत गरेका छन् । नयाँ विकासक्रमको यो स्वीकार्यता हाम्रा लागि सहज अवस्था हो,’ कार्कीले भने, ‘नेपालले संयम कायम राख्दै पूर्वाधारहरूको पुनर्निर्माण, विकासशील मुलुकमा स्तरोन्नति र नेपालमा लगानीको वातावरणका लागि विश्वास र विश्वसनीयताको जगमा अघि बढ्नुपर्छ ।’ 

भूराजनीतिक मामिलाविज्ञ चन्द्रदेव भट्टले नयाँ राजनीतिक खेलाडीहरूले परिवर्तित परिस्थितिमा देशको प्रतिनिधित्व गरेको सन्देश प्रवाह गर्नुपर्ने बताए । ‘हाम्रो भूराजनीतिक यथार्थ उस्तै छ, तर आन्तरिक परिस्थितिमा आधारभूत परिवर्तन आएको छ । अहिलेका राजनीतिक खेलाडीहरू नयाँ छन् । यस्तोमा सुरुमा त सरकारले देशको प्रतिनिधित्व गर्छ भन्ने सन्देश प्रवाह हुनु जरुरी छ,’ भट्टले नयाँ पत्रिकासँग भने, ‘अहिले छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायको सद्भाव वृद्धि गर्ने अवसर र चुनौती दुवै छ । तर, विगतमा जस्तै आन्तरिक राजनीतिक लोकरिझ्याइँबाट विदेश नीति सञ्चालन गर्न खोजियो भने सरकार लामो समय टिक्दैन ।’ 

सरकारलाई २१ फागुनभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नुपर्ने दायित्व छ, ध्वस्त भएका संरचनाहरू पुनर्निर्माण थाल्नुपर्ने दबाब छ भने आगामी वर्षदेखि अल्पविकसित अवस्थाबाट विकासशील अवस्थामा स्तरोन्नति गर्नुपर्ने आधार निर्माण गर्नुपर्नेछ । यस्तोमा आर्थिक कूटनीति महत्वपूर्ण हुने जानकारको भनाइ छ । 

भूराजनीतिक प्रतिस्पर्धाको धरातलबाटै दुवै छिमेकी तथा विश्वका अन्य शक्ति मुलुकको सहयोग लिएर जानुपर्ने भट्टको सुझाव छ । ‘अन्तर्राष्ट्रिय लगानीका लागि माहोल बनाउनु चुनौतीपूर्ण छ र यो गर्नैपर्ने कार्य पनि हो । नेपाललाई छिमेकी र अन्य देशले विश्वास गर्न लायक अवस्था सिर्जना गर्नु अहिलेको प्रमुख चुनौती हो । नेपाल सुरक्षित छैन भन्ने सन्देश गएको छ, यसलाई बदल्न मिहिनेत गर्नुपर्नेछ,’ उनले भने, ‘मूलत: आर्थिक पुनरुत्थान र पुनर्निर्माणका लागि आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ ।’ 

सिनासका कार्यकारी निर्देशक कार्कीले सरकार प्रतिक्रियात्मक वा भावनात्मक हुन नहुने बताए । ‘कुनै पनि प्रकारको ध्रुवीकरणमा जानुहुँदैन,’ उनले भने, ‘विगतमा आन्तरिक राजनीतिक खपतका लागि विदेश नीति जसरी त्रुटिपूर्ण तरिकाले सञ्चालन भयो, त्यो क्रम बदलेर जानुपर्छ । इतिहासको हार्दिक सम्बन्ध पुनस्र्थापित गर्न सकिएन भने हाम्रा लक्ष्य पूरा हुन कठिन छ,’ कार्कीले भने । 

नयाँ सरकार गठनलगत्तै प्रधानमन्त्री कार्कीलाई पहिलो बधाई जापानले दिएको छ भने त्यसपछि संयुक्त राष्ट्र संघ, अमेरिका, चीन हुँदै बंगलादेश र भुटानसमेतले बधाई र शुभकामना दिएका छन् । जेन–जी आन्दोलनबाट विस्थापित प्रधानमन्त्री केपी ओली बेइजिङमा १८ भदौमा चीनले आयोजना गरेको जापानविरुद्ध विजयोत्सवको सैन्य परेडमा सहभागी भएका थिए । नयाँ सरकार गठन हुनासाथ जापानको पहिलो बधाई आउनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री कार्की नियुक्त भएलगत्तै शुक्रबार भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा बधाई दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सुरुमा सामाजिक सञ्जाल एक्समा र त्यही दिन मणिपुरमा आयोजित सभाबाट नेपालको नयाँ परिस्थिति र प्रधानमन्त्री कार्कीलाई स्वागत गर्दै सहयोगको वचन दिएका छन् । अर्को छिमेकी चीनले स्वतन्त्र रूपमा नेपालका जनताले छनोट गरेको विकासक्रम भन्दै प्रधानमन्त्री कार्कीलाई आइतबार बधाई दिएको छ । अमेरिकाले पनि आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, युवा नेता, प्रधानसेनापतिको भूमिकासमेत उल्लेख गर्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । उसले नयाँ निर्वाचनको निर्णयलाई पनि स्वागत गर्दै सहयोगको वचन दिएको छ ।