
कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ बर्षीय नरेश धानुक मृत्यु प्रकरणमा एक जनप्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार राति धानुकले आफ्नै घरको कोठामा फेसबुक लाइभ गर्दै जनप्रतिनिधिसहितको नाम लिएर झुण्डिएर प्राण त्यागेका थिए ।
धानुकले बेदकोट नगरपालिका–४ का वडासदस्य अमर बोहरासहित भोजराज पन्त, खेम बोहरा, जनक धानुकसहितको नाम लिँदै उनीहरूले नाङ्गै बनाएर कुटपिट गरेको उल्लेख गरेको र झुण्डिन बाध्य भएको बताएका थिए ।
धानुकको फेसबुक लाइभकै आधारमा परिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए । किटानी जाहेरीका आधारमा चारैजनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रवक्ता सागर बोहराले किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको बताए ।
धानुकले फेसबुक लाइमै आएर आफ्नै कोठामा झुण्डिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुक लाईभमै धानुकले आफूलाई कांग्रेस नेता एवं बेदकोट–४ का वडा सदस्य अमर बोहराले जेन–जी आन्दोलनमा गएको भन्दै कुटपिट गरेपछि मर्न बाध्य भएको र बोहरा समूहले जेन–जी आन्दोलनमा जान्छस, भन्दै टाउकोमा प्रहार र नाङ्गै बनाएर कुटपिट गरेपछि झुण्डिन बाध्य भएको बताएका थिए । उनले आफूलाई कसैले पनि साथ नदिएको पनि बताएका छन् । उनले अन्तिममा गुडबाई, लाष्ट सर्ट भन्दै प्रण त्यागेका थिए । शनिबार धानुकको अन्त्येष्टी गरिएको छ ।
मृतक धानुककी दिदी हिरा रावल (धानुक)ले भाईलाई वडासदस्य अमर बोहरासहितले मदिरा सेवन गराएर जेन–जी आन्दोलन जान्छस, भन्दै कुटपिट गरेको बताइन् । ‘मेरो भाईका दुई नाबालक छोराछोरी छन्, श्रीमती पनि छ,’ उनले भने, ‘जनप्रतिनिधि जस्तो जिम्मेबार व्यक्तिबाट यस्तो अन्याय भयो ।’ उनले मृतक परिवारलाई न्याय दिनुपर्ने बताइन ।
धानुकको मृत्युपछि घरपरिवार र आफन्त शोकाकुल छन् । बेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र बोहराले मृतक धानुक र वडासदस्य अमर बोहरासहितका स्थानीयबिच जेन–जी आन्दोलनमा विध्वङ्स गर्न नहुने बारे समान्य कुराकानी र विवाद भएको बताए ।