मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार

सिराहा जिल्ला अदालतले भाेलिदेखि बन्दी प्रत्यक्षीकरणसहितको सेवा दिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १९:३o:oo

सिराहा जिल्ला अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइसहित चार सेवाहरू सञ्चालन गर्ने भएकाे छ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि अदालत बन्द रहँदै आएको र भाेलि साेमबारदेखि सेवा सञ्चालनमा आउने भएको हो।  

जिल्ला अदालतको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, अभियोग पत्रसहित उपस्थित हुन आएको प्रतिवादीको हकमा थुनछेक बहस, जरुरी पक्राउ पुर्जी जारी र समर्थन हुने तथा म्याद थपसम्बन्धी सेवा सुचारु गर्ने निर्णय भएको हो।

अदालतका शाखा अधिकृत कन्चन यादवद्वारा आइतबार जारी गरिएको सेवा प्रवाहसम्बन्धी सूचनामा पछिल्लो विषम परिस्थितिमा आइपर्न सक्ने सुरक्षा चुनौती तथा अदालतमा २४ भदौमा आगजनीसमेतलाई मध्यनजर गर्दै थप निर्णय नहुँदासम्म उल्लेखित सेवाहरू सुचारु गर्न लागिएको उल्लेख छ।  

प्रदर्शनकारीको समूहले अदालतको अभिलेख फाँट, तहसिल शाखा, मुद्दा फाँटका केही मिसिलहरु, सर्भर, इजलास च्याम्बर, दशीका सवारी साधनहरु, जिल्ला न्यायाधीशको सवारी साधनमा आगजनी गरेपछि बुधबारदेखि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाप्रवाहरु स्थगित गरिएको थियो ।

जेन–जी समूहको आन्दोलनको नाममा मंगलबार जिल्ला सदरमुकामस्थित शिक्षा विकास तथा समन्वय इकाइ, सरकारी वकिल कार्यालय, सिराहा नगर कार्यपालिकाको भवनमा आगजनी तथा नापी कार्यालयमा तोडफोड भएपछि बुधबार बिहानदेखि नै स्थानीय युवाहरू सरकारी संरचनाको थप क्षति हुन नदिन परिचालित भएका छन्।

युवाहरूको समूह सकुशल रहेका सरकारी निकायको भौतिक संरचनामा थप तोडफोड, आगजनी हुन नदिन र त्रासरहित वातावरण बनाउन सुरक्षा निकायसँग समन्वयमा रहने गरी परिचालित भएको पत्रकारसमेत रहेका स्थानीय बद्रीनारायण यादवले बताए।