
बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्याल नेतृत्वको टोलीले बुटवल तथा आसपासका क्षेत्रमा तोडफोड तथा आगजनी गरिएका व्यवसायिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकन गरेको हो ।
अर्यालको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनकुमारी खनालसहित कार्यसमिति सदस्यहरू समेतको टोलीले अवलोकनका क्रममा उद्योगी व्यवसायीहरूलाई सान्त्वना दिएको छ ।
सरकारी कार्यालयहरू तथा निजी व्यवसायिक प्रतिष्ठानहरूको स्थलगत अवलोकनपछि संघका अध्यक्ष अर्यालले ठूलो लगानी भएका होटल तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिले मनै विक्षिप्त भएको बताए ।
घटनाको वस्तुस्थिति हेर्दा जेन–जी समूहका युवा विद्यार्थीले गरेको आन्दोलनमा अराजक तत्वको घुसपैठ भएको प्रष्ट भएको उनले बताए । सरकारी कार्यालयहरू र व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्नेहरूलाई पहिचान गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।
अध्यक्ष अर्यालले तोडफोड तथा आगजनी गरिएका सरकारी कार्यालयहरू उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई आवश्यक सहयोगको लागि संघ तयार रहेको बताउँदै व्यवसायिक प्रतिष्ठानहरूको बिमा दावी भुक्तानीमा आवश्यक प्रकृया पुरा गर्ने कुरामा सम्बन्धित सरकारी निकाय र सम्बन्धित विमा प्रदायक संस्थाले पनि विलम्ब नगरिकनै बिमा भुक्तानी गरिदिन आग्रह गरे ।
सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र बेथितीको विरोमा जेन–जी समुहका युवा विद्यार्थीले यही २३ र २४ भदौको प्रदर्शन गरेका थिए । यो प्रदर्शनका क्रममा सरकारी कार्यालयदेखि निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठान र नेताहरूको व्यक्तिगत घरमा समेत तोडफोड र आगजनी भएको थियो ।
संघको टोलीले तोडफोड तथा आगजनी भएको बुटवल उपमहानगरपालिका, बुटवलको सुख्खानगर रहेको भाटभटेनी सुपरमार्केट, बुटवल स्थित ड्रिम इन्टरनेशनल होटल, तिलोतमाको ड्राइभरटोलमा रहेको होटल टुलिप, मणिग्राममा रहेको होटल ड्रिमल्याण्डलगायतका व्यवसायिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकन गरिएको कार्यसमिति सदस्य कृष्ण पाण्डेले जानकारी दिए ।
जेन–जीले गरेको प्रदर्शनका क्रममा निजीक्षेत्रबाट सञ्चालन गरिएको बुटवलका भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट भएको थियो । त्यस्तै, होटल ड्रिम इन्टरजेशनल तथा तिलोतमाको ड्राइभरटोलमा रहेको होटल टुलिप र मणिग्राममा रहेको होटल ड्रिमल्याण्डमा लुटपाट तथा आगजनी गरिएको थियो ।
यहाँ, बुटवल उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, लुम्बिनी प्रदेश वन निर्देशनालय, यातायात कार्यालय लगायतका सरकारी कार्यालयहरूमा तोडफोड सहित आजगनी भएको थियो । यस्तै आसपासमा नेताहरूको घरमा समेत तोडफोड तथा आगजनी भएको छ ।