
‘जेन-जी’को आन्दोलनका क्रममा पोखरामा आगलागी भएको भवनमा जलेका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला भरतपुर महानगरपालिका–१० घर भै पोखरा–१६ बस्दै आएका ४३ वर्षीय विजय लामाको भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार प्रदर्शनको क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालय तोडफोड एवं आगजनीका लागि गएको समूहमा रहेका लामा प्रहरीको जिन्सी शाखा रहेको कोठामा प्रवेश गरेका थिए । जिन्सी शाखा भएकाले त्यहाँ सिलिण्डरदेखि धेरै प्रकारका सामान थिए । तोडफोडपछि आगजनी गर्ने क्रममा आगो लागेपछि केही पड्केको आवाज आएको थियो, सायद कोठामा रहेको सिलिण्डर पड्केको होला । पड्केको आवाज सुनेपछि लामासँगै गएका साथीहरुले हेर्दा उनी जलेको अवस्थामा देखिएपछि साथीहरूले नै उनलाई अस्पताल लगेका अस्पतालमा भेटिएका उनका एक साथीले प्रहरीलाई बताएको बस्नेतले जानकारी दिए ।
जलेर घाइते भएका लामालाई उनका साथीहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए । आगलागीका कारण लामाको शरीर ७० प्रतिशतभन्दा बढी जलेको अवस्थामा रहेको उपचारमा संम्लग्न चिकित्सकले जानकारी दिएका बस्नेतले बताए । ज्यामी काम गर्दै आएका लामा केही वर्षदेखि पोखरा बस्दै आएका थिए ।
लामासँगै आगलागी भएको भवनमा जलेर पोखरामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रर्दशनकारीले २४ भदौ आगजनी गरेका पोखरा महानगरपालिका–६ लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा र पोखरा–९ नयाँबजारस्थित हिमालयन अर्गनाइजेशन रहेको भवनको शोरुममा एक एक जना गरि दुईजनाको जलेको अवस्थामा २५ भदौ शव फेला परेको थियो ।
उनीहरूमध्ये अंशुभरा ग्रुपको भवनमा जलेको अवस्थामा भेटिएकी दैलेखको बैतेश्वर गाउँपालिका–८ की २६ वर्षीया स्वास्थ्यानी खड्का र नयाँबजारमा भेटिएकी सिन्धुपाल्चोककी ३५ वर्षीया सञ्जु नगरकोटी रहेकी प्रहरीले जनाएको छ ।