मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १३:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुटपाट र चोरी गरिएका सार्वजनिक सम्पत्ति तत्काल फिर्ता गर्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

जिल्ला प्रशासन कार्यालय सिरहाले जेन–जेड समूहद्वारा आन्दोलन÷प्रदर्शनको क्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, स्थानीय तहहरुबाट लुटिएका खाद्यान्न, नगद, जिन्सी लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ । 

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आन्दोलनको क्रममा विभिन्न कार्यालयहरुमा तोडफोड, आगजनी गर्नुका साथै त्यसको मौकामा केही लुटेरा मानसिकताका व्यक्तिहरुले लुटपाट गरेर लगेका खाद्यान्न, नगद, जिन्सी लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेका हुन् ।

सूचनामा त्यस्ता सामान लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य संचारमाध्यमहरुमा स्पष्ट देखिएको उल्लेख छ । ‘त्यसरी लुटपाट, चोरी गरेर लगिएका सम्पत्ति तुरुन्त जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिन्छ’ सूचनामा भनिएको छ ‘अन्यथा निर्देशन अवज्ञा गरी लगिएको सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । 

तोडफोड, लुटपाट र आगजनी

आन्दोलनको क्रममा २४ भदौको दिउँसो जिल्ला सदरमुकाम सिरहास्थित जिल्ला अदालत, नगरपालिका, नापी तथा जिल्ला सरकारी वकिल कार्यालय र लहान नगरपालिकासहित करिब एक दर्जन बढी सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

आन्दोलनको नाममा त्यही दिन अपरान्ह लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको १० करोड रुपैयाँ बढीको सात हजार क्वीण्टल जिरा चामल, पाँच सय क्वीण्टल सोना चामल, तीन हजार पाँच सय क्वीण्टल चिनी लुटपाट थियो । खाद्यका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार आन्दोलनको नाममा चामल, चिनीसहित ८० हजार थान जुटको बोरा र खाद्य सामग्री राख्न बिछ्याइएको लाखौं मूल्यको साल प्रजातीको काठको फ्ल्याक लुटपाट भएको छ । 

जिल्लाको दोस्रो मुख्य व्यापारिक ठाउँ लहानमा २४ भदौको दिउँसोदेखि कफ्र्यु घोषणा भए लगत्तैदेखि लहान क्षत्रमा रहेका विभिन्न १० कार्यालयमा तोडफोड, आगजनी भएको थियो । प्रदर्शनकारीहरुले लहान १० ग्रामीणस्थित नगर कार्यपालिका कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए।

इलाकामा प्रशासन कार्यालयको नागरिकताको अभिलेख शाखा, राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा आगजनी भएको शाखा अधिकृत सन्तोष रायले जानकारी दिए ।

घरेलुका कर्मचरीका अनुसार उक्त समूहमा फलामे रडक लिएर पसेका केहीले दराज, टेबुलको घर्रा फोडेर नगद रहे नरहेको समेत खोजी गरेका थिए ।  त्यसक्रममा प्रदर्शनकारीहरु मध्ये केहीले बोक्न मिल्ने कम्प्युटर, ल्यापटप जस्ता सामग्री लुटेर कार्यालयमा रहेका कागजात, फर्निचर लगायतका सामग्रीमा पेट्रोल छर्किएर आगो लगाएका थिए । खाद्यको कार्यालय परिसरमै रहेको क्वार्टरबाट कर्मचारीको ल्यापटप, ग्याँस सिलिण्डर, खाद्यान्न लगायतका सामग्री समेत लुटपाट भएको सूचना अधिकारी महतोले उल्लेख गरे । 

आन्दोलनको क्रममा त्यही दिन सिरहाको लहानसहित सिरहा, धनगढीमाई, गोलबजार, मिर्चैया, कल्याणपुर नगरपालिका तथा भगवानपुर, नरहा, औरही, विष्णुपुर गाउँपालिकामा आगजनी भएको छ भने नवराजपुर र अर्नमा गाउँपालिकामा तोडफोड भएको पालिकाका कर्मचारीले बताए । कल्याणपुर नगरपालिकामा त कार्यालयमा रहेका विभिन्न जिन्सी सामग्रीहरु स्थानीयले मोटरसाइकल, पोकामा बाँधेर आ–आफ्नो घर लगिरहेको फोटो, भिडियोहरु सामाजिक संजालमा छ्याप्छ्याप्ती छन् ।