
उपसभामुख इन्दिरा रानाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएकी छिन् । शुक्रबार बेलुका कार्की प्रधानमन्त्री बनेलगत्तै उपसभामुख रानाले वक्तव्य जारी गरेर नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा कार्कीलाई बधाई तथा शुभकामना दिएकी हुन् ।
‘नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरेको तपाईंको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको हार्दिकताका साथ प्रशंसा गर्दै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको छ भन्ने ठानेकी छु,’ उनले भनेकी छिन् ।
महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन कार्कीको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास उपसभामुख रानाले लिएकी छिन् । ‘संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशिता, न्याय र सुशासनका सवालमा तपाईंको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु,’ उनले भनेकी छिन् ।
उपसभामुख रानाले नेपालको समृद्धि, स्थिरता र समानतामूलक समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाएकी छिन् । ‘कलिला बालबालिकाको बलिदानबाट हामी मर्माहत छौँ, तर त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको छ । हजारौँ आमाहरू रोए पनि हामी किन खुसी छौँ भने महिलाको एउटा इतिहास कोरिएको छ,’ उनले भनेकी छिन्, ‘यो ऐतिहासिक अवसरमा, तपाईंको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको समृद्धि, स्थिरता र समानतामूलक समाज निर्माणमा तपाईंको नेतृत्व प्रेरणादायी बन्न सकोस् भन्ने हार्दिक कामना गर्दछु ।’