
गत मंगलबारदेखिको निषेधाज्ञा र कर्फ्युबिच शुक्रबार दिउँसो सांस्कृतिक पर्व जितियालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिराहाले तीन घण्टा बजार खुला गरेपछि स्थानीय हाटबजारमा किनमेल गर्नेहरूको भिडभाड रह्यो ।
स्थानीय प्रशासनले नागरिकको जिउधनको सुरक्षा तथा जनजीवनलाई सामान्यीकरण गर्दै जाने क्रममा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि जितिया पर्वका लागि किनमेल गर्न तीन घण्टा बजार खुला गरेपछि स्थानीय हाटबजारमा किनमेल गर्नेहरूको भिड भएको हो। सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार जिल्लाभर शुक्रबार दिउँसो तीन बजेदेखि ६ बजेसम्म किनमेलका लागि स्थानीय हाटबजार, पसलहरू खुला राख्ने निर्णय गरिएको थियो।
इलाका प्रशासन कार्यालय लहानअन्तर्गत पर्ने लहानस्थित साप्ताहिक शुक्रबारे हटिया, बजार, पसल किनमेल गर्न तीन घण्टाका लागि खुला गरिएपछि लहान क्षेत्रका प्रायः सबै वडाका बासिन्दा कृषि उपज बिक्री र किनमेलका लागि आएका थिए। प्रशासनले साँँझ ६ बज्नुअगावै हटिया, पसलमा आफ्नो व्यापार, किनमेल गरी आ–आफ्नो घर फर्किन अनुरोध गरेको शाखा अधिकृत सन्तोष रायले बताए। ‘अन्यथा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, लुटपाटको घटना भएमा सुरक्षा निकायले आवश्यक कारबाही गर्नेछ,’ उनले भने।
तराई मधेशका जिल्लाहरूमा महिलाहरूले शनिबारदेखि सोमबारसम्म सांस्कृतिक पर्व जितिया मनाउँदै छन्। जितिया पर्वमा महिलाहरू आफ्ना सन्तानको दीर्घायु तथा सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नपिई निराहार कठोर व्रत बस्छन्। आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म यो पर्व मनाइन्छ।