
रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
रोहिणीले शनिबार ललितपुरको हिमालयन होटलमा आयोजित कार्यक्रममा रविन्द्रलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
रोहिणीले रविन्द्रलाई एक वर्षका निम्ति ब्रान्ड एम्बेसडर सम्झौता गरेको छ । तर, आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ । ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा रोहिणीका मार्केटिंग डाइरेक्टर दया थापा र रविन्द्रले हस्ताक्षर गरे ।
‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले एमएमएका कुल १० खेलमध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघिमात्रै भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेटमा भारतकै नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।
सम्झौतापछि रोहिणीले आफ्नो यात्रामा साथ दिने प्रतिवद्दता व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे । ‘मैले जति फाइट खेल्न सिके त्यति बोल्न सिकेको छैन । मलाई साथ दिनुभएकोमा रोहितणीलाई धन्यवाद । जुन दिन मैले प्रशिक्षकलाई भेटे, त्यसपछि मेरो लाइफ परिवर्तन भयो । हाम्रो आगामी यात्रामा साथ दिने प्रतिबद्दता व्यक्त गर्नुभएकोमा रोहिणीलाई धेरै धेरै धन्यवाद,’ रविन्द्रले भने ।
यस्तै, रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापाले पनि रविन्द्रसँग सहकार्य गर्न पाउनु हर्ष र गौरवको कुरा भएको बताए । ‘उहाँले गरेको फाइट देशको लागि हो । यो हाम्रो लागि गर्व र खुशीको कुरा हो । रविन्द्रजस्तो व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा निक्कै हर्षित छौँ । हामीबीचको यो सहकार्यलाई निरन्तरता दिनेमा पनि प्रतिवद्दता व्यक्त गर्न चाहन्छुँ,’ मार्केटिङ डाइरेक्टर थापाले भने ।