मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
Invalid date format २२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले विधान महाधिवेशनको पहिलो दिन विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:४२:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको महाधिवेशनमा विभिन्न चारवटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार भोलि बिहान ८ बजे बस्ने गरी आज महाधिवेशनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । उनले आज प्रस्तुतीकरण गर्न समय अभावका कारण नभ्याइएका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भोलि बिहान प्रस्तुत हुने बताए ।

‘आज हामीले सबै प्रतिवेदन प्रस्तुत गर्न भनेका थियौँ,’ उनले भने, ‘समय अभावका कारणले तीनवटा भोलि प्रस्तुत हुनेछ ।’

भोलि बिहान तीनवटा प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने उनले बताए । आज पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सल्लाहकार परिषदको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भोलि बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशनको समसामयिक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
 

छुटाउनुभयो की ?