
गाजाका एक कमजोर बालक मुहम्मद जकारिया अड्ढयुब अल मतोकका हालै तस्बिरले विश्वव्यापी आक्रोश निम्त्यायो । कतिपयले उनमा भएको कमजोरीलाई विभिन्न ढंगले व्याख्या गरे । कसैले यसलाई जन्मजात अपांगता भने । तर, गाजामा भोकमरीबाट हुने मृत्युलाई अन्तर्निहित अपांगता वा रोगको रूपमा चित्रण गर्नु भ्रामक हो । यी अवस्थाले पीडा वा मृत्युलाई औचित्य दिँदैनन् भनेर बुझ्नु आवश्यक छ । बरु, गाजा संकटले निकासी, सहायता र चिकित्सा उपचारमा चरम अवरोधको सामना गरिरहेका अपांगता भएका व्यक्तिका विद्यमान जोखिमलाई तीव्र बनाएको छ । त्यसो भए गाजामा अपांगता भएका व्यक्तिका लागि अहिले कस्तो प्रकारको व्यावहारिक मानवीय प्रतिक्रिया आवश्यक छ ?
द्वन्द्व र मानवीय संकटले अपांगता भएका व्यक्तिले सामना गर्ने जोखिमलाई जटिल र तीव्र बनाउँछन् । सशस्त्र द्वन्द्व र मानवीय संकटमा अपांगता भएका व्यक्ति, विशेषगरी त्यस्ता महिला र बालबालिकाले हिंसा, उपेक्षा र शोषणको बढ्दो जोखिमको सामना गरेका विभिन्न प्रमाणले देखाएका छन् । साथै उनीहरूले कलंक र भेदभावको सामना पनि गर्छन् ।
वियोगमाथि वियोग
यस विषयमा अन्तर्राष्ट्रिय कानुन पनि प्रस्ट छ । इजरायलले २०१२ मा अनुमोदन गरेको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले सशस्त्र द्वन्द्वको अवस्थासहित जोखिमको समयमा अपांगता भएका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक उपाय अपनाउन आवश्यक मानेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि अपांगता भएका व्यक्तिमा द्वन्द्वको असमान प्रभावलाई मान्यता दिएको छ । इजरायलले यी दायित्वलाई अंगीकार नगरेको संकेत गर्ने महत्वपूर्ण प्रमाण छन् । संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदकले ‘गाजामा फसेका अपांगता भएका प्यालेस्टिनीका लागि भयावह अवस्था’ भनेर वर्णन गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
गाजामा करिब ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त भएका संयुक्त राष्ट्र संघले आँकलन गरेको छ । त्यस्तै, ९० प्रतिशतभन्दा बढी गाजावासी अहिले विस्थापित भइसकेका छन । अपांगता भएका व्यक्तिहरू विशेष जोखिममा छन् । संयुक्त राष्ट्र संघले इजरायलले स्थान खाली गर्न जारी गरेका आदेशका घटनाको अभिलेख राखेको छ । यस्ता आदेशले थप मानिसको मृत्यु भएको छ । भग्नावशेषको थुप्राले घटनास्थलसम्मको पहुँचलाई जटिल र असम्भव बनाएको छ । ८१ प्रतिशत सडक अहिले क्षतिग्रस्त वा नष्ट भएका छन् । गाजामा ८३ प्रतिशतभन्दा बढी अपांगता भएका व्यक्तिले आफ्ना सहायक उपकरण (जस्तै– ह्विलचेयर वा श्रवण यन्त्र) गुमाएका छन् ।
संयुक्त राष्ट्र संघका प्रतिनिधिले सेरेब्रल पाल्सीबाट पीडित १४ वर्षीया बालिकाको विवरण सुनेर छक्क परेको बताएका छन् । युद्धका क्रममा उनले ह्विलचेयरसहितका सहायक उपकरण गुमाएकी थिइन् र उत्तरबाट दक्षिणी गाजामा भाग्दा उनलाई अभिभावकले बोकेर लैजानुपरेको थियो । अपांगता भएका अधिकांश मानिसका लागि अस्पताल र पुनर्वास सुविधाको आवश्यकता छ । यद्यपि, गाजाका आधा अस्पताल र लगभग ३९ प्रतिशत प्राथमिक स्वास्थ्य सेवा केन्द्र मात्र आंशिक रूपमा सञ्चालित छन् ।
सामूहिक रूपमा अपांगता हुने घटना बढ्दो
गाजामा इजरायलको युद्धले सामूहिक रूपमा अपांगता हुने घटना बढेका छन् । विश्व बैंक, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त मूल्यांकनले फेब्रुअरीमा पत्ता लगाएको थियो कि अक्टोबर २०२३ देखि अपांगताको आवृत्तिमा दोब्बर वृद्धि भएको छ । यस द्वन्द्वमा एक लाख ५१ हजार चार सय ४२ जना घाइते भएका पछिल्लो एउटा तथ्यांकले संकेत गरेको छ । घाइते भएकामध्ये लगभग २५ प्रतिशतलाई तीव्र र निरन्तर पुनर्वासको आवश्यकता हुने सम्भावना रहेको सन् २०२४ मा विश्व स्वास्थ्य संगठनले अनुमान गरेको थियो ।
गाजामा प्रतिव्यक्ति अंगभंग भएका बालबालिकाको दर अहिले विश्वमै सबैभन्दा बढी रहेको गैरसरकारी संस्था ह्युम्यानिटी एन्ड इन्क्लुजन युकेले रिपोर्ट गरेको छ । युनिसेफका अनुसार प्रतिदिन दशजनाभन्दा बढी बालबालिकाले आफ्नो एउटा वा दुवै खुट्टा गुमाएका छन् । अपांगतामा उल्लेखनीय वृद्धि हुनुको अर्थ पुनर्वास सेवा र पहुँचको मागले आपूर्तिलाई द्रुत गतिमा उछिनेको छ । युनिसेफले दश लाखभन्दा बढी बालबालिकालाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको पनि आवश्यकता रहेको उल्लेख गरेको छ । इजरायली सेनाले जानाजानी अपांगता बनाउने नीति अंगीकार गरेको ऐतिहासिक प्रमाणले देखाएको छ ।
गाजामा तत्काल दिगो युद्धविराम आवश्यक छ । गाजा सहरमा इजरायलको विस्तारित आक्रमणले अपांगता भएका व्यक्तिहरूलाई ठुलो खतरामा पारेको छ र थप मृत्यु र अपांगताको जोखिम बढाएको छ । इजरायलले गाजा मानवीय फाउन्डेसनमार्फत सहायता वितरणको आफ्नो हालको त्रुटिपूर्ण प्रणालीबाट मुक्त हुनुपर्छ । अपांगता भएका व्यक्तिका लागि सुरक्षित पहुँच सुनिश्चित गर्दै सिद्धान्तगत सहायता वितरण पुनर्स्थापित गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न इजरायलले मानवीय र चिकित्सा कर्मचारी र सामानको सुरक्षित मार्गका लागि राहत कोरिडोर खुला राख्नुपर्छ । यसमा सहायक उपकरण र तिनलाई शक्ति दिन आवश्यक ब्याट्रीहरू समावेश छन् । त्यस्तै, जबर्जस्ती विस्थापन बन्द गर्नुपर्छ । विस्थापन पक्रिया अन्तर्राष्ट्रिय कानुनअनुरूप हुनुपर्छ ।
अपांगता भएका मानिसको सुरक्षा गर्नु भनेको आश्रय सुनिश्चित गर्नु हो । पुनर्वास, मानसिक स्वास्थ्यमा सहयोग, सहायक प्रविधिमा पहुँच र अनुकूलित सेवाहरूको विस्तार गर्नु महत्वपूर्ण छ । नागरिक पूर्वाधार र चिकित्सा सुविधा सुरक्षित गरिनुपर्छ र पहुँचयोग्य मार्ग सुनिश्चित गर्न भग्नावशेष र हतियार खाली गरिनुपर्छ । अपांगता भएका व्यक्तिको आवाजलाई केन्द्रित गर्दै मानवीय प्रतिक्रिया समावेशी (विशेषगरी जोखिममा परेका महिला र बालबालिका) हुनुपर्छ । हिंसा अन्त्य गर्न, पहुँच पुनर्स्थापित गर्न र अपांगता समावेशीकरण सुनिश्चित गर्न तत्काल कारबाही नगरिएमा बढी जोखिममा परेकाहरूले थप आत्मसम्मान, सुरक्षा र जीवन गुमाउनेछन् ।
मोरियार्टी मेलबर्न विश्वविद्यालयमा अटिजम भएका मानिसका लागि आर्थिक अवसर विषयमा विद्यावारिधिकी विद्यार्थी हुन् ।
द कन्भर्सेसनबाट