मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
जिन–पियरे लाक्रोइक्स
२o८२ भदौ ११ बुधबार १o:३४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लेबनानमा राष्ट्रसंघीय शान्ति मिसनको भूमिका

Read Time : > 2 मिनेट
जिन–पियरे लाक्रोइक्स
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १o:३४:oo

राष्ट्र संघले पहिचान गरेको ‘ब्लु लाइन’मा पुन: शत्रुतापूर्ण गतिविधि हुनबाट रोक्नु र त्यहाँ स्थिरता कायम राख्नु युनिफिलको दायित्व हो

जुन महिनामा जब म दक्षिणी लेबनानको यात्रामा थिएँ, मलाई संयुक्त राष्ट्र संघको अन्तरिम बल (युएनआइएफआइएल/युनिफिल) को कामको जटिलता र महत्वबारे बुझ्ने मौका प्राप्त भयो ।

हिज्बुल्लाह र लेबनानमा रहेका अन्य मिलिसिया र इजरायल रक्षाबल (आइडिएफ) बिच एक वर्षभन्दा बढी समयसम्मको विनाशकारी द्वन्द्वपछि सन् २०२४ नोभेम्बरको अन्त्यतिर शत्रुता अन्त्यसम्बन्धी सम्झौता (युद्धविराम) लागू भयो, जसले लेबनान र उत्तरी इजरायलका विभिन्न समुदायलाई केही हदसम्म राहत दियो । तथापि, विनाशको स्तर र थप हिंसाको निरन्तर डरले धेरै मानिस अझै आफ्नो घर फर्कन सकेका छैनन् । यसबाहेक लेबनानी अधिकारीले हालैका महिनामा दक्षिणी लेबनानमा लेबनानी सेना तैनाथ गर्न र हिज्बुल्लाहको हतियारको मुद्दालाई सम्बोधन गर्न कदम चालेका छन् । निश्चय पनि लेबनानमा बलको मात्र प्रयोग गरेर राज्यको एकाधिकार प्राप्त गर्न सजिलो हुनेछैन । लेबनानी भूमिमा इजरायली सेनाको निरन्तर उपस्थितिलाई पनि सम्बोधन गर्नुपर्छ । उनीहरूले स्थायी युद्धविराम र आफ्ना समुदायका लागि दीर्घकालीन सुरक्षा र स्थिरता प्राप्त गर्ने हो भने सुरक्षा परिषद्को प्रस्ताव १७०१ (२००६) का पक्षधर– लेबनान र इजरायलका लागि यी विषयलाई सम्बोधन गर्नु महत्वपूर्ण छ ।

यस सन्दर्भमा, शान्ति सेना मिसन युनिफिलले आफ्नो सञ्चालन तरिकालाई समायोजन गरेको छ र लेबनानबाट इजरायली सेनाको फिर्ता पुष्टि गर्न सन् २००० मा संयुक्त राष्ट्र संघले पहिचान गरेको ‘ब्लु लाइन’ (लेबनानलाई इजरायल र गोलान हाइट्सबाट छुट्याउने सीमांकन रेखा)मा पुन: शत्रुतापूर्ण गतिविधि हुनबाट रोक्न र त्यहाँ स्थिरता कायम राख्न आफ्नो प्रयासलाई दोब्बर बनाएको छ ।

युनिफिल संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव १७०१ (२००६) अन्तर्गत सञ्चालन हुन्छ, जसले २००६ मा इजरायल र हिजबुल्लाहबिचको द्वन्द्व समाप्त गर्‍यो । प्रस्तावले शत्रुतालाई पूर्ण रूपमा अन्त्य र लेबनानबाट इजरायली सेना फिर्ता गर्न, दक्षिणी क्षेत्रसहित लेबनानका सम्पूर्ण भूभागमा राज्य अधिकार विस्तार गर्न र लेबनानका सबै सशस्त्र समूहको नि:शस्त्रीकरण गर्न आह्वान गर्छ । त्यस्तै, प्रस्तावमा लेबनानी सेनालाई देशको एक मात्र वैध सशस्त्र बलका रूपमा समावेश गरिएको छ । सारमा प्रस्तावले लेबनानको सम्पूर्ण भूभागमा सार्वभौमिकतालाई मजबुत बनाउन खोज्छ र सबै पक्षलाई ‘ब्लु लाइन’को सम्मान गर्न र स्थायी युद्धविरामतर्फ काम गर्न आह्वान गर्छ ।

सन् २०२४ को नोभेम्बरदेखि युनिफिलले दक्षिणी लेबनानका १२० भन्दा बढी स्थानमा आठ हजारभन्दा बढी लेबनानी सेनाका कर्मचारीलाई तैनाथ गर्न सहयोग गरेको छ । यो २००६ पछिको यस क्षेत्रमा सबैभन्दा व्यापक उपस्थिति हो र लेबनानी राज्य अधिकार विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम पनि हो ।

सन् २०२३–०२४ को इजरायलसँगको द्वन्द्वपछि हिज्बुल्लाहले त्यागेका सयौँ हतियार र गोलाबारुद फेला पार्न तथा नष्ट गर्न युनिफिलले लेबनानी सेनासँग मिलेर नजिकबाट काम गरेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेना र लेबनानी सेनाले हिज्बुल्लाह लुकेर बसेका सुरुङ सञ्जाल र बंकरहरू पनि पत्ता लगाएका छन् । 

युनिफिलको काम चुनौती वा आलोचनारहित छैन । विशेषगरी, अक्टोबर २०२३ देखि यसले कठिन र प्राय: प्रतिकूल वातावरणको सामना गरेको छ । सुरक्षा परिषद्ले जारी गरेको यसको जनादेशअन्तर्गत यसलाई शान्ति कार्यान्वयन गर्ने अधिकार दिइएको छैन । प्रस्ताव कार्यान्वयन गर्ने र दिगो सुरक्षा र स्थिरता प्राप्त गर्ने जिम्मेवारी स्वयं पक्षकै हो । लेबनान र इजरायलले आफ्नो प्रतिबद्धतालाई राम्रो विश्वाससाथ सम्मान गरेमा र तनावका अन्तर्निहित कारणलाई सम्बोधन गर्न आवश्यक कदम चालेमा मात्र शान्ति सेना आफ्नो काममा सफल हुन सक्छ । युनिफिलको भूमिका सहयोग, सहजीकरण र समर्थन गर्नु हो । प्रस्तावका प्रावधानलाई स्थायी वास्तविकतामा परिणत गर्ने भूमिका अन्तत: पक्षहरूमा नै निर्भर रहन्छ ।

चुनौतीका बाबजुद युनिफिलले स्थलमा आफ्ना आवश्यकता पूरा गर्न आफ्नो स्थिति, प्रोफाइल र उपस्थितिलाई निरन्तर अनुकूलन गर्नेछ । शान्ति सेना आफ्नो क्षमता, परिस्थितिगत जागरुकता र सामुदायिक संलग्नतामा केन्द्रित छन् । राष्ट्रिय क्षमतालाई सुदृढ पार्ने व्यापक उद्देश्यको अंशकाका रूपमा युनिफिलले लेबनानी सेनालाई तालिम, गैरघातक उपकरणको प्रावधान र संयुक्त कारबाहीमार्फत आफ्नो समर्थन विस्तार गरेको छ, ताकि लेबनानले दक्षिणमा स्थिरताका लागि आफ्नो जिम्मेवारी लिन सकोस् । लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई उल्लेखनीय रूपमा बलियो बनाएको भए पनि ब्लु लाइनमा प्रभावकारी रूपमा सुरक्षा प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको निरन्तर समर्थनमा थप स्रोतसाधन आवश्यक छ । हाम्रो साझा लक्ष्य भनेको यो प्रगति रोकिएको बिन्दुमा पुग्नु हो, ताकि द्वन्द्वमा पुनरावृत्ति हुनबाट लगभग अस्वीकार गर्न सकियोस् ।

नोभेम्बरमा भएको युद्धविराम सम्झौता र लेबनानमा हालैका राजनीतिक घटनाक्रमले इजरायल र लेबनान दुवैको सुरक्षा चिन्तालाई सम्बोधन गर्ने लामो समयदेखि प्रतीक्षा गरिएको अवसर प्रस्तुत गर्छ । यो गतिलाई कायम राख्नु तथा लेबनान र इजरायललाई दिगो शान्ति प्राप्त गर्न मद्दत गर्न युनिफिलको उपस्थितिको उपयोग गर्नु महत्वपूर्ण छ । यस नाजुक मोडमा, निष्पक्ष, स्थिर संयुक्त राष्ट्रसंघीय बलको निरन्तर उपस्थिति लेबनान र इजरायलका जनताका लागि मात्र होइन, ब्लु लाइनपारि सुरक्षा र स्थिरतातर्फ काम गर्दा व्यापक क्षेत्रका लागि पनि महत्वपूर्ण छ ।

(लाक्रोइक्स संयुक्त राष्ट्र संघको पिस अप्रेसनका उप–महासचिव हुन्)
द न्युजविकबाट