मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेल्मेट नलगाउने मोटरसाइकलचालकलाई पेट्रोल नदिन मुख्यमन्त्री बानियाँको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १७:२४:oo

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा आयोजित विशेष बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि सम्बद्ध निकायलाई ठोस कदम चाल्न निर्देशन दिएका छन्।

बैठकमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनले प्रदेशभित्र बढ्दो सवारी दुर्घटनाको अवस्था र कारणबारे संक्षिप्त प्रस्तुति गरेको थियो। सो अवसरमा मुख्यमन्त्री बानियाँले दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई समन्वयात्मक ढंगले परिचालित भई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका हुन्।

उनले मादक पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, दुईपांग्रे सवारी प्रयोगकर्ताले अनिवार्य रूपमा हेल्मेट लगाउने व्यवस्था कडाइका साथ पालना गर्ने र हेल्मेट नलगाई इन्धन लिन आउने सवारीलाई पेट्रोल नदिने अभियान तत्कालै कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

हेल्मेट नलगाई इन्धन लिन आउने मोटरसाइकललाई पेट्रोल नदिने अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, बागमती प्रदेशसँग पत्राचार गरी पेट्रोल पम्पहरूमा ‘हेल्मेटविना इन्धन पाइँदैन’ भन्ने सन्देशमूलक बोर्ड राख्ने व्यवस्था मिलाइने भएको छ। साथै, प्रदेशका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत उक्त अभियानको निगरानी गरिने बताइएको छ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रकुमार भारतीलगायतको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, प्रदेश सशस्त्र प्रहरी कार्यालयका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माले अभियानले चाडपर्वको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।