मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ९ सोमबार o७:५५:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१७ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालको कमजोर प्रदर्शन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार o७:५५:oo

नेपालको उमेर समूहदेखि राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशविरुद्ध लगातार कमजोर प्रदर्शन गर्दै आइरहेका छन् । दक्षिण एसियाली क्षेत्रमा बंगलादेशले महिलातर्फ एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दा नेपालले फितलो प्रदर्शन गरिरहेको छ । डेढ महिनायता नेपालको उमेर समूहको महिला टोलीले बंगलादेशविरुद्ध जित निकाल्न सकेको छैन । 

गत साउनयता नेपालको उमेर समूह यू–२० र यू–१७ महिला फुटबल टोली समग्रमा बंगलादेशसँग तीन खेलमा पराजित भएको छ । साउनमा साफ यू–२० च्याम्पियनसिपको पहिलो चरणमा ३–२ ले हारेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग ४–० ले हा¥यो । आइतबार भुटानमा भएको साफ यू–१७ मा नेपालले बंगलादेशसँग हार नतिजा निकाल्यो । 

बंगलादेशले सबै भेटमा नेपालमाथि सानदार जित हात पारेको छ । भुटानको थिम्पुमा चलिरहेको साफ यू–१७ महिला च्याम्पियनसिपको आइतबार भएको खेलमा बंगलादेशले नेपाललाई ३–० ले हराएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । बंगलादेशलाई जित दिलाउन थुनुए मार्मा, सौरभी प्रीति र मामोनी चक्माले सामान एक गोल गरेका थिए । जितसँगै तीन खेलमा ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । नेपाल समान खेलबाट ३ अंकसाथ तेस्रो स्थानमा छ ।

प्रतियोगितामा चेतनारायण श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा कमजोर प्रतिद्वन्द्वी भुटानलाई २–१ ले हरायो । आइतबारै भएको खेलमा भारतले भुटानविरुद्ध ८–० को जित निकालेको छ । यो जितपछि भारत शीर्ष स्थानमा रहेको छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको प्रतियोगितामा चार टोली सहभागी छन् । डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको लिगको शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ । पाकिस्तान, माल्दिभ्स, श्रीलंकाले उमेर समूहमा भाग लिएका छैनन् । प्रतियोगितामा भारत र बंगलादेश समान दुईपटक च्याम्पियन भइसकेका छन् । नेपाल र आमन्त्रित टोली रसियाले समान एकपटक उपाधि जितेका छन् । नेपालले फेरि बुधबार बंगलादेशविरुद्ध खेल्नेछ । यसैदिन भुटानले भारतको सामना गर्नेछ । 

पहिलो हाफमा कमजोर प्रदर्शन 
भूमिका बुढाथोकीको कप्तानीमा रहेको नेपालले बंगलादेशविरुद्ध खेलको ४०औँ मिनेटसम्म सम्हालिएर खेलेको थियो । नेपालका डिफेन्डरले बलियो बंगलादेशको फिनिसिङ लाइनमा रहेका खेलाडीलाई सहज डिबक्सभित्र प्रवेश गर्न दिएका थिएनन् । तर, खेलको ४१औँ मिनेटमा नेपालको डिफेन्सको गल्तीमा बंगलादेशले खेलमा १–० को अग्रता लियो । बंगलादेशका लागि मार्माले अग्रता गोल गरेकी हुन् । खेलको ४५औँ मिनेटमा सौरभीले बंगलादेशलाई २–० को स्थितिमा राखिन् । मध्यान्तरपछि नेपालले खेलमा सुधार गरेको थियो । 

तर, मिडफिल्ड र फिनिसिङ कमजोर हुँदा नेपालले बंगलादेशको पोस्टमा एकपटक पनि गोल अवसर निकाल्न सकेन । दोस्रो हाफमा बंगलादेशले पनि डिफेन्स रणनीति अपनाएको थियो । यद्यपि, नेपालको तुलनामा बंगलादेशले काउन्टरमा नेपालमाथि दबाब राखेको थियो । खेलको अन्तिम इन्जुरी समयमा चक्माले गोल गर्दै बंगलादेशलाई ३–० को सहज जित दिलाइन् । 

सर्वाधिक गोलमा अनुस्का अगाडि 
प्रतियोगितामा भारतकी अनुस्का कुमारी पाँच गोलका साथ अगाडि छिन् । भारतले भुटानमाथि ८–० को जित निकाल्दा उनले ह्याट्रिक गरिन् । अनुस्काले नेपालविरुद्ध दुई गोल गरेकी थिइन् । भारतकी अविस्ता बस्नेतले चार गोल गरेकी छिन् । चार खेलाडीले दुई गोल गरेका छन् । नेपालकी सहारा लिम्बू, बंगलादेशकी अल्पी अक्तर तथा भारतका निरा चानु र फर्नान्डेजले समान दुई गोल गरेका हुन् । 

प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्ने क्रममा अनुस्काले भुटानविरुद्ध खेलको ५३औँ, ६१औँ र ७२औँ मिनेटमा गोल गरेकी थिइन् । भुटानले पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । मध्यान्तरअघि भुटानले भारतलाई १–० ले रोकेको थियो । तर, दोस्रो हाफमा भुटानका खेलाडीले निरन्तर गल्ती गरिरहे । यसको फाइदा लिँदै भारतले दोस्रो हाफमा सात गोल गर्‍यो । 

बंगलादेशसँग खेलाडी आत्तिए
 चेतनारायण श्रेष्ठ, प्रशिक्षक, नेपाल 

बंगलादेशसँग खेलाडीले ठिकै खेलेका थिए । यद्यपि, उनीहरूको पोसेसन राम्रो थियो । हामीले बलियो बंगलादेशलाई ४० मिनेटसम्म रोक्यौँ, तर त्यसपछि गोल खायौँ । नेपाली फुटबलको यो पुरानो परम्परा हो । गोल खाएपछि खेलाडीको मनोबल घट्छ । नेपालका युवा खेलाडी बंगलादेशविरुद्ध आत्तिए । खेलमा आत्तिनु नपर्ने थियो ।

हामीले दोस्रो हाफमा मौका पाएका थियौँ । तर, त्यसलाई गोलमा परिणत गर्न सकेनौँ । अर्को खेल बंगलादेशसँग नै छ । यो दुई दिनको समयमा आवश्यक तयार गर्नेछौँ । दक्षिण एसियाली फुटबलमा भारत र बंगलादेश धेरै माथि पुगिसके । नेपाल र उनीहरूबिच अन्तर बढिरहेको छ । उनीहरूको ‘लङ टर्म प्लान’ हुन्छ । पर्याप्त प्रशिक्षण गरेका खेलाडीहरू हुन् उनीहरू । हामीले कमसेकम दुई वर्षजति निरन्तर प्रशिक्षण गर्‍यौँ र पर्याप्त अन्तर्राष्ट्रिय ‘म्याच एक्सपोजर’ पायौँ भने नेपालको भविष्य उज्ज्वल छ । यसले भारत र बंगलादेशसँगको दूरीलाई पनि घटाउनेछ । 

एपिएफ र नासाफ भिड्दै

नेपालको प्रतिनिधित्व गरेको नेपाल एपिएफ क्लबले सोमबार एएफसी महिला च्याम्पियन्स लिग छनोटमा उज्वेकिस्तानको लिग च्याम्पियन नासाफसँग खेल्दै छ । एपिएफका मुख्य प्रशिक्षक चेतन घिमिरे हुन् । ‘ए’ लाइसेन्स प्राप्त घिमिरे नेपाल पुलिस क्लबमा मुख्य प्रशिक्षक पनि हुन् । प्रतियोगिताका लागि राम्रो तयारी भएको उनले बताए । ‘हामीसँग सबै खेलाडी राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । त्यसैले पनि तयारी राम्रो भएको छ,’ घिमिरेले भने, ‘हाम्रो लक्ष्य दोस्रो चरण हो ।’

एपिएफले छनोटका लागि नेपाल पुलिसका समीक्षा घिमिरे र त्रिभुवन आर्मी क्लबबाट विमल विकलाई भित्र्याएको थियो । एपिएफको टोलीमा सावित्रा भण्डारी र प्रीति राई छैनन् । दुवै खेलाडी विदेशी क्लबमा अनुबन्ध भएका छन् । एपिएफको कप्तानी मिडफिल्डर अनिता बस्नेतले गर्नेछिन् । 

समूह ‘बी’मा आयोजक नासाफ र नेपालको एपिएफ नै बलिया प्रतिद्वन्द्वी हुन् । समूहमा मलेसियाको कलेज अफ एसिया स्कलर्स र साउदी अरेबियाको अल नासर पनि छन् । एएफसीको नियमअनुसार समूहको शीर्ष टोलीले सिधै समूह चरणमा स्थान बनाउनेछ । यस्तै, पाँच समूहका एक टोलीले उत्कृष्टका आधारमा समूहमा स्थान बनाउनेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रोपटक एसियाकै ठुलो महिला क्लब फुटबल आयोजना गर्न लागेको हो ।