मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
२o८२ भदौ ९ सोमबार o८:१४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमालेभित्रको अन्तरसंघर्षको चिरफार

एमालेभित्रको अन्तरसंघर्ष वैचारिक नभई नेतृत्वको कार्यशैलीमा रहेको मतभेद तथा सत्ता, शक्ति र अवसरका निम्ति हुने संघर्ष मात्र हो

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार o८:१४:oo

अहिले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने ठुलासाना सबैजसो पार्टीमा अन्तरविरोध चर्कंदै गएको छ । तर चार वर्षपछि फेरि गम्भीर रूप धारण गरेको एमालेभित्रको अन्तरद्वन्द्वले राजनीतिक बजार तताएको छ । लामो समय पार्टीभित्र एकअर्काका सहयोगी रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक–अर्काविरुद्ध खरो उत्रिएका छन् । आफू अध्यक्ष हुने घोषणासहित सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति भण्डारीको नवीकरण भइसकेको पार्टी सदस्यता अध्यक्ष ओलीले अपमानपूर्वक खोसेका छन् ।

यससँगै मुलुकमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुहुन्छ कि हुँदैन भन्ने बहस सुरु भएको छ । संविधानले नरोकेको भण्डारीको कदमलाई रोक्ने अध्यक्ष ओलीको हर्कतले एमालेभित्र चरम अन्तरविरोध र अन्तरद्वन्द्व सिर्जना गरेको छ । ओलीको कदमको बदलामा भण्डारीले पत्रकार सम्मेलनमार्फत आफू विद्यमान अन्तरसंघर्षमा दृढतापूर्वक अघि बढ्ने बताउँदै सम्पर्क कार्यालयसमेत खोलेर सक्रियता बढाएकी छिन् । 

माक्र्सवादी दृष्टिकोणमा अन्तरपार्टी संघर्ष : माक्र्सवादका तीन आधारभूत द्वन्द्वात्मक भौतिकवादी नियम छन्– विपरीतहरूको एकता र संघर्ष, परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन र निषेधको निषेध । वस्तु तथा समाज परिवर्तनको नियमका रूपमा विकसित यी नियमलाई राजनीतिक दलभित्रको अन्तरविरोधको विकाससँग पनि दाँजेर हेर्न सकिन्छ । हरेक पार्टीभित्र विभिन्न विचार (स्वार्थ) समूह विद्यमान हुन्छन् । बाहिरबाट एकताबद्ध देखिए पनि भित्र विपरीत विचार (स्वार्थ) समुहबिच शक्ति संघर्ष चलिरहेको हुन्छ ।

यस्ता द्वन्द्वमा संलग्न पात्रहरूको संख्या वा द्वन्द्वको तह बढ्दै जाँदा त्यसले आन्तरिक विरोधदेखि विद्रोहसम्मको रूप धारण गर्न सक्छ । जसले अन्ततः या त संस्थापन पक्ष वा नेतृत्वलाई विस्थापित गर्छ या त संस्थापनविरोधी समूहलाई किनारा लगाइदिन्छ र पार्टी विभाजनउन्मुख हुन सक्छ । एमालेभित्र पनि त्यस्तै अवस्था देखिएको छ ।

तत्कालीन एमालेमा माधव नेपाल समूहविरुद्ध ओली समूहमा एक भएर रहेका नेता कार्यकर्ताबिच पार्टी विभाजनपश्चात् सुषुप्त रहेको स्वार्थको टकरावको मात्रा बढ्दै गएको देखिन्छ । यो टकराव बिस्तारै आपसी अन्तरविरोधका रूपमा विकास हुँदै हाल ओली र भण्डारीको सक्रियतामा पार्टीभित्र ओली गुट (संस्थापन पक्ष) र विद्या गुट (प्रतिपक्ष)का रूपमा मुखरित भइरहेको छ । कुनै पनि पदार्थको विग्रह वा विनाशको मूल कारण त्यसैभित्र निहित हुन्छ भनेझैँ लामो समयसम्म एकै समूहमा रहेर पार्टीभित्र हैकम चलाएका दुई नेता पुरानो एकताको परिस्थितिलाई विस्थापित गर्दै एकले अर्कालाई निषेधको प्रयास गर्ने तहसम्म पुगेका छन् ।

असैद्धान्तिक अन्तरविरोध र अन्तरसंघर्ष :  राजनीतिक दलभित्रको संघर्ष खासगरी वैचारिक मतभेद, शक्ति संघर्ष, स्रोतमा पहुँचका निम्ति हुने गर्छ । एमालेभित्रको संघर्ष वैचारिक रूपमा न त उग्रवामपन्थ वा दक्षिणपन्थी अवसरवादको सन्दर्भमा रहेको छ न त वर्ग विश्लेषणका सन्दर्भमा भएको मतभेद वा क्रान्तिको बाटोको सम्बन्धमा नै । अन्तरविरोध न त संसदीय अभ्यासलाई हेर्ने दृष्टिकोणमा छ न त राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणको सवालमा नै छ । यो तत्कालीन सोभियत कम्युनिस्ट पार्टीमा रहेको मेन्सेविक र बोल्सेविकबिचको संघर्षजस्तो पनि छैन, न त ठ्याक्कै स्टालिन र ख्रुस्चेवबिचको संघर्षजस्तो नै छ ।

यो चीनमा माओकालीन दुई लाइनको संघर्षजस्तो पनि होइन । यसकारण एमालेभित्रको अन्तरसंघर्ष खासगरी वैचारिक नभई केही नीतिगत र नेतृत्वको कार्यशैलीमा रहेको मतभेदका कारण उत्पन्न संघर्ष हो । यस्तो पुँजीवादी पार्टीभित्र सत्ता, शक्ति र अवसरका निम्ति हुने संघर्षजस्तो मात्र हो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ साओ चि अन्तरपार्टी संघर्षलाई पार्टीबाहिरको वर्गसंघर्षको प्रतिबिम्ब मान्छन् (लिउ साओ चि, अन इनर पार्टी स्ट्रगल, १९२६) । एमालेभित्रको अन्तरसंघर्ष लिउको दृष्टिकोणसँग पनि मेल खाँदैन । किनकि दलाल पुँजीवादको प्रभाव रहेको यो पार्टीभित्रका दुवै समूहको वर्ग दृष्टिकोण समान छन् । 

पटक–पटक निरंकुशतातर्फ उन्मुख ओलीको कार्यशैली, उत्तराधिकारी प्रथामा नश्लबन्दी, आजीवन नेतृत्वमा रहने सोच, शासकीय अवसरका क्षेत्रमा एकल निर्णय र विनामापदण्ड आसेपासेलाई अवसर प्रदान गर्ने स्वेच्छाचारी प्रवृत्तिका कारण एमालेभित्र अन्तरसंघर्ष चुलिएको हो 
 

अन्तरसंघर्षका आन्तरिक र बाह्य कारण :  कुनै पनि पार्टीभित्र उत्पन्न हुने अन्तरसंघर्षका निम्ति आन्तरिक र बाह्य कारण हुन्छन् । आन्तरिक कारणमा नीतिगत असहमति (वैचारिक भिन्नता र शासकीय पद्धति एवं कार्यशैलीमा असहमति), स्रोत र अवसरको पहुँचमा विभेद, कमजोर आन्तरिक लोकतन्त्र (निर्णय प्रक्रियामा सीमित पहुँच र अपारदर्शी कार्यशैली) र नेतृत्वको होडबाजी (नेतृत्वमा प्रतिस्पर्धा एवं उत्तराधिकारीबारे विवाद र नेतृत्व चयनमा निरंकुश प्रवृत्ति) आदि पर्छन् ।

त्यसैगरी, पार्टीमा स्पष्ट नीति र विधिको अभाव, मौजुदा विधि तथा पद्धतिको उल्लंघन र अन्तरविरोध समाधानका निम्ति प्रभावकारी नीति, संयन्त्र र कार्यान्वयन अभावले पनि अन्तरपार्टी संघर्षको उत्पत्ति र विकासमा भूमिका खेलेको हुन्छ । पार्टीभित्रको समूहगत दबाबबाहेक सामाजिक दबाब र विदेशी स्वार्थमा आधारित लबिङ, घुसपैठ र हस्तक्षेपजस्ता बाह्य कारणले पनि पार्टीभित्र अन्तरसंघर्षको प्रवद्र्धन गरेको हुन्छ । 

एमालेमा देखिएको अन्तरसंघर्ष वैचारिक मतभेदबाहेक उल्लिखित सबै कारणले विकसित भएको देखिन्छ । पार्टी र शासन सञ्चालनका सन्दर्भमा पटक–पटक निरंकुशतातर्फ उन्मुख ओलीको कार्यशैली, उत्तराधिकारी प्रथामा नश्लबन्दी र आजीवन नेतृत्वमा रहने सोच, शासकीय अवसर (निर्वाचनमा टिकट वितरण, मन्त्री चयन र राजनीतिक नियुक्ति आदि)का क्षेत्रमा एकल निर्णय र विनामापदण्ड निश्चित मनपसन्दलाई अवसर प्रदान गर्ने स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीभित्र अन्तरसंघर्ष चुलिएको छ ।

ओली नेतृत्वमा आएपछि पार्टीभित्र वैचारिक कामको शून्यता, हरेक तहका नेतृत्व चयनमा संस्थापन पक्षको नांगो हस्तक्षेप, ओली नेतृत्वको हावादारी कार्यशैली, अन्य कम्युनिस्ट पार्टीप्रतिको असहिष्णु शैली, छिमेकी राष्ट्रहरूसँगको असन्तुलित परराष्ट्र नीति, शैली र सम्बन्ध, सुशासनको स्खलन र भ्रष्टाचार वृद्धिजस्ता कारणले पार्टी पंक्तिभित्र निराशा छाएको र आमजनतामा एमालेको प्रभाव खस्किँदै गएको कारण आगामी निर्वाचन जित्न मुस्किल हुन सक्ने भयले पनि एकथरी नेताहरूले पार्टीमा ओली नेतृत्वको विकल्पमा भण्डारीलाई अघि सारेको देखिन्छ ।    

वैचारिक विचलन र दक्षिणपन्थी अवसरवादको बाटो :  जब कम्युनिस्ट पार्टीभित्र नेता तथा कार्यकर्ताको वैचारिक धरातल कमजोर हुन्छ तब तिनमा निम्न पुँजीवादी चिन्तन हावी हुन्छ र त्यसको प्रभाव बढ्दै जान्छ । वर्गीय दृष्टिकोणमा विचलनका कारण पार्टीभित्र दक्षिणपन्थी अवसरवादको जन्म हुन्छ । यसको फलस्वरूप पार्टीभित्र सैद्धान्तिक बहसको सट्टा असैद्धान्तिक अन्तरविरोधले ठाउँ पाउँछ । त्यससँगै पार्टी जीवनभित्र लोकतान्त्रीकरणको पक्ष कमजोर हुँदै जान्छ र पार्टी अवसरवादीको कब्जामा पुग्छ । बिस्तारै नेतृत्वमा प्रतिक्रान्तिकारी सोचको विकास हुँदै जान्छ ।

नेतृत्वले जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्तको उल्लंघन गर्छ । पार्टीभित्र जनवाद समाप्त हुन्छ र केन्द्रीयता मात्र हाबी हुन्छ । बैठक, छलफल र निर्णय प्रक्रियामा फरक विचार निषेधित गरिन्छ अनि संस्थापन पक्षको निर्णयलाई पार्टी निर्णयका रूपमा स्विकार्न बाध्य तुल्याइन्छ । पार्टीभित्र प्रतिपक्ष कमजोर हुँदा नेतृत्व झन् निरंकुश र स्वेच्छाचारी बन्दै जान्छ र पार्टीलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्छ । एमालेभित्र पनि ठिक त्यस्तै भइरहेको छ । यो पार्टी दिनानुदिन वामपन्थी विचार र कार्यशैलीबाट च्युत हुँदै छ र ओलीको नेतृत्वमा दक्षिणपन्थी अवसरवादको बाटोबाट गुज्रिरहेको छ । 

कार्टेल पार्टी थ्योरी, अन्तरसंघर्ष र अधिनायकवादको उदय :  राजनीतिशास्त्रका प्राध्यापकहरू रिचार्ड एस क्याट्स र पिटर मेरले पार्टी संगठन र पार्टी जनवादको मोडेलमा परिवर्तन र कार्टेल पार्टीको उदयका सन्दर्भमा उल्लिखित कृतिमा ‘कार्टेल पार्टी थ्योरी’को प्रस्ताव गरेका छन् (क्याट्स एन्ड मेर, चेन्जिङ मोडल्स अफ अर्गनाइजेसन एन्ड पार्टी डेमोक्रेसी ः द इमरजेन्स अफ द कार्टेल पार्टी, १९९५) । यो सिद्धान्त मुलुकको सिंगो पार्टी प्रणालीमा मात्र नभई निश्चित राजनीतिक पार्टीको सांगठनिक जीवनमा पनि सार्थक हुन सक्छ ।

उनीहरूका अनुसार, राजनीतिक पार्टीहरू समयक्रममा सदस्यको सक्रिय सहभागिता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनभन्दा नेतृत्वको स्वार्थसिद्ध गर्न र पार्टीभित्र उनीहरूको स्थान स्थापित गर्नेतर्फ केन्द्रित हुने ‘कार्टेल पार्टी’का रूपमा विकसित हुन्छन् । जसमा पार्टी निर्णय र कार्यान्वयनमा निश्चित सिन्डिकेट कायम गरिएको हुन्छ । नेपालमा पनि कार्टेल पार्टी थ्योरीको अभ्यास भइरहेको छ । एकातर्फ, दुई ठुला पार्टी कांग्रेस र एमाले मिलेर शासकीय क्षेत्रमा सिन्डिकेट कायम गरेका छन् भने पार्टीमा क्रमशः देउवा समूह र ओली समूहको सिन्डिकेट चलिरहेको छ । 

सन् १९२६ मा रुसी नेता स्टालिनले आफ्नो बोल्सेभिक कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकमा अन्तरपार्टी संघर्षको निप्टाराको उपायबारे भनेका थिए– सापस्निकोभ र मिदभिजेवलाई समर्थन गर्नेलाई केन्द्रीय कमिटीमा ल्याउन सकिँदैन र रुथ फिस्चर, अर्बन्सहरूको संघर्ष, र कोमिन्टर्न तथा पार्टीविरुद्ध लाग्नेलाई केन्द्रीय कमिटीमा राख्न सकिँदैन (जेभी स्टालिन, मिजर्स फर मिटिगेटिङ द इनर पार्टी स्ट्रगल, १९२६) । त्यस्तै, केन्द्रीय कमिटीमा रहन मन हुने विपक्षी नेताहरूले तिनको गुटको विघटन, आत्मालोचना र पार्टीभित्र वा बाहिरका अवसरवादीसँगको सम्बन्धविच्छेदसहित निम्न शर्त पालना गर्नुपर्छ– तिनीहरूले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ, आफ्ना गुटगत गतिविधिले पार्टीलाई नोक्सान पुगेको स्विकार्नुपर्छ र ओसिस्की, मिदभिजेबजस्ता नेता र रुथ फिस्चर, अर्बन्सजस्ता पार्टीविरोधमा संघर्ष गर्ने नेतासँग सम्बन्धविच्छेद हुनुपर्छ । 

एमाले अध्यक्ष ओलीले पनि पार्टीभित्रको अन्तरविरोध निरूपणका सन्दर्भमा स्टालिनकै शैली अपनाएका छन् । उनले पूर्वराष्ट्रपति भण्डारीको नवीकरण भइसकेको सदस्यता केन्द्रीय कमिटीको बहुमतका नाममा खारेज गरेका छन् भने पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गराएका छन् । त्यसैगरी, पार्टीको यो निर्णय तलसम्म प्रचार गर्न, भण्डारीसम्बन्धी बहस बन्द गर्न र भण्डारीको पक्षमा लाग्ने नेता कार्यकर्तालाई पहिले सम्झाइबुझाइ गर्न र नभए कारबाही गर्नसमेत पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । 

एमालेभित्र विचारशून्यता, ओलीको एकाधिकारवादी प्रवृत्ति र भण्डारीको नेतृत्वमा चलिरहेको संघर्षले पार्टीको कार्यक्षमतालाई अझै कमजोर तुल्याउने देखिन्छ । जसले पार्टीलाई नीतिगत पक्षाघाततर्फ उन्मुख गराउने र पार्टीपंक्तिभित्र निराशा वृद्धि गर्नेछ । यसै त नागरिकको विश्वास गुमाउँदै गएको पार्टीले ओलीको निरंकुशतामा आधारित गुटगत निर्णयबाट हुने उम्मेदवारी चयन र निर्वाचनका बखत हुने घात–अन्तर्घातको परिणाम अझै बढी भोग्नुपर्नेछ ।

ओलीको निरंकुश कार्यशैलीविरुद्ध भण्डारीको नेतृत्वमा चलिरहेको अन्तरविरोध र अन्तरसंघर्ष उत्कर्षमा पुगेमा पार्टीभित्र ओलीको अधिनायकवादको उदय हुने, पार्टी विभाजनतर्फ उन्मुख हुने वा भण्डारीको पक्षमा लाग्ने नेताहरूले भीम रावल र घनश्याम भुसालको नियति भोग्नुपर्ने सम्भावना रहन्छ । सत्तामा रहेको पार्टी भएकाले ओली अधिनायकवादको पुनरोदयले पार्टीभित्र मात्र नभई शासकीय क्षेत्रमा समेत असर गर्छ ।

फेरि पनि मुलुकले संसद् विघटन र संविधानवादमाथिको प्रहार व्यहोर्नुपर्ने हुन सक्छ । अस्थिर राजनीतिका कारण सरकार कमजोर हुने र सरकारी कामकाज थप अप्रभावकारी हुने सम्भावना रहन्छ । जनमुखी शासन शैली आकाशको फलजस्तै हुन सक्छ । मुलुकले कमजोर सुशासन र बढ्दो भ्रष्टाचार, नीति–निर्माण र कार्यान्वयनमा विभिन्न स्वार्थ समूह र बिचौलियाको जगजगी, गरिब निमुखा नागरिकको उपेक्षा, दलाल पुँजीपतिको हितरक्षा, बढ्दो अराजकताजस्ता परिणति भोग्नुपर्नेछ । यसरी, ओलीको अधिनायकवादसँगै मुलुक राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमै अस्थिरतातर्फ उन्मुख हुन सक्छ ।