
गत आर्थिक वर्ष ०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भएको छ। आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत वर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यसअघि आव ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो।
राष्ट्र बैंकका अनुसार ०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ अर्ब १७ अर्ब ७८ करोड थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या पाँच लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ। त्यसअघि आव ०८०/८१ मा यो संख्या क्रमशः चार लाख ६० हजार १०२ र दुई लाख ८१ हजार १९५ थियो।
यसैगरी, आव ०८१/८२ मा विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो।