
तीन खण्डमा विभाजित सत्रवटा लामा–छोटा सुन्दर निबन्धको सँगालो ‘दर्ज्यु संलाप’ समाजका सामान्य पात्रले पारेको प्रभावको उपजमा उनिएको पुस्तक हो । यसलाई सीमान्तकृत समुदायको प्रखर आवाज भनेर पनि उल्लेख गर्न सकिन्छ । किनकि, हरेकजसो निबन्धले समाजको असली अनुहार मुखरित पारेको देखिन्छ ।
समाज संवार्ताको सुरुवातमै ‘खोके कामिटार एक बाडुली’मार्फत् लेखक कुमारी लामाले राजधानी सहरको समिपमा रहेको आफ्नै गाउँठाउँको ऐना उतारेकी छिन्, हिजोको अवस्था कस्तो थियो र आज कस्तो हुँदै छ भनेर । चिया–चौतारीको बहसदेखि परिवर्तित पर्यावरणीय प्रतिरोधसम्म । जन्मस्थानको नशा छामेका निबन्धकारले गाउँको नामोनिसान मेटिएको दु:खान्त पेस गरेका छन् । यो समग्र नेपालका गाँउहरूको विकासले निम्त्याएको विकृतिको वृत्तान्त हो । सुक्दै गएको रैथाने लवज, पोसाक, परिकार, चाडपर्व अनि ज्ञानस्रोत । के विकास भन्नु यस्तै हो र ? यो अत्यन्तै गम्भीर सवाल हो ।
गाउँको कथा अनि समाजको व्यथा, घराख्यानपरिवारको र त्यसभित्रका विभिन्न पात्रको आआफ्नै भूमिका । समय लयमा चलेको देखिँदैन । भन्नाको मतलब आधुनिकताको नाममा गाउँमा छिरेको विकासे बजारप्रति सूक्ष्म तवरले व्यंग्य गरिएको छ । मानिस एउटा घर बनाउन कतिसम्म मरिहत्ते गर्छन् सहरमा । गाउँघरमा यसको महत्व अर्कै छ । महाभूकम्प २०७२ ले भत्काएका घरहरूको अवस्थाबारे सम्झाएको छ । ती दिन साँच्चै कठिन थिए । कुनै पनि विपत्ति दु:खद हुन्छ । सँगसँगै विकासको लयमा लग्न पनि सक्छ, यदि समयलाई पकड्न सक्यो भने ।
लेखक र मेरो काठमाडौं उपत्यका प्रवेश झन्डै उस्तै काल भएकाले यहाँका तत्कालीन परिवेशप्रति परिचित भएर होला, मलाई पनि धेरै कुराको रिकल भयो । ‘कोलिग्राम संवाद’ हामीजस्तै अधिकांश मानिससँग जोडिएको विषय हो । प्राय: मानिसले राजधानी सहरप्रति गुनासो पोखिरहेको हुन्छ । तर, लेखकले भने नोस्टाल्जिक भएर सहानुभूति दर्साएको देखिन्छ । हुन पनि जुन सहरले आममानिसलाई सबथोक दिएको हुन्छ, उसैप्रति असन्तुष्टि पोखिनु त्यो मानव स्वभाव हो भन्ने लाग्दैन ।
लेखक श्यामलले एउटा निबन्ध लेखेका छन् ‘सदर काठमाण्डु, मोफसल काठमाण्डु’ नाम दिएर । ‘काठमाण्डुलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन, तर पनि काठमाण्डु धाउने र तीन–चार आनादेखि रोपनी जग्गा खरिद गर्नेहरूको लर्को यथावत्् छ ।’ अझ यसै सन्दर्भलाई ताकेर कवि राजवले पनि ‘काठमाण्डुलाई गाली गर्नेलाई’ शीर्षकको कविता लेखेका छन् । त्यसो त प्रत्येक महानगर अनेक नाम र बदनाम, भोक र तृप्ति, प्राप्ति र अप्राप्तिको समग्रता हो । जहाँ आलाप, विलाप र मिलाप हुन्छन् । महानगरमा नतोकिएका मापदण्डहरू प्रशस्तै हुन्छन् । सहरप्रतिको मसिनो तर महत्वपूर्ण निफनाइ लेखक लामाको सामान्य लाग्दैन । देखिने दृश्य र नदेखिने आयामबिचको दूरीलाई आत्ममन्थन गरेर मोथिएको मदानीले पुस्तक पढ्दाखेरी हरेक हरफ सँगसँगै डोर्याउँछ । यस्तो कला जोकोहीमा हुँदैन ।
सहर र समस्या परिपूरक हुन् । सहर पस्नु मात्र पनि सारा समस्याको समाधान हुनु होइन । जब जन्मँदै मानिस समस्याको पोको बोकेर आएको हुन्छ भने जादुको छडीसरि फटाक कसरी निमटिन सक्छ र ! कतिपय पारिवारिक सम्बन्धका विषयमा प्रस्तुत गरिएको कथ्यहरूले नतानिएको सटर भित्रसम्म पुर्याउँछ । जहाँ एउटा युवाले परिवार पाल्न गरेको संघर्ष र उसको बुबाको जोड–घटाउको परिदृश्य घोचक तरिकाले पस्किएको छ । समय घर्किनु र परिवार तन्किनु एउटा चक्र हो ।
तिनका एकपछि अर्को आवश्यकताको उल्झनले महँगोमा ऋण काढेर अरबको श्रमाटनसम्म पुर्याएको छ । त्यतिले पनि निकास दिन नसकेर पुन: नेपाल फर्किएर गरेको संघर्ष ओहो ! अन्तमा बन्द सटरमा आफ्नो जीवनको अन्त्येष्टि नै गरिदिएको छ । जीवन भन्नु यत्ति नै रहेछ गरिबहरूका लागि । यो एउटा असंवेदनशील राज्यप्रतिको प्रतिरोध हो । सहरको कथा, गाउँको व्यथा अनि दैनन्दिन परदेसिने हजारौँ जनशक्तिहरूको वेदना । सायद राज्यको प्रत्याभूति भएको मुलुकमा यस्तो दर्दनाक घटनाहरू घट्दैन होला ।
घटनाक्रमको लाम देख्दा लेखकको मन्थन सामान्य लाग्दैन । सैलानी समयमा यात्रान्तका पल र फरक भूगोलका व्याख्यासहितको विश्लेषणले नियात्रामा मात्र सीमित रहेको देखिँदैन । त्यहाँको समाज, संस्कृति अनि इतिहासका पानाहरू पल्टिँदै गर्दा पाठकले आफू कुन विधाको पुस्तक पढिरहेको छु भनेर छुट्याउन गाह्रो पर्छ । स्थान विशेषलाई पनि मज्जाले व्याख्या गरिएको छ । यो लेखनको सबल पक्ष हो ।
नेपालगन्जको उखरमाउलो गर्मी र मुर्माको मन्द मौसम । हावाको वेगसँगै उडेको हवाईजहाजले ताल्चामा फन्को मारेर पुन: नेपालगन्ज फर्किनु पर्दाको भय । यात्रा भनेको अनिश्चितताको पर्याय हो भन्ने प्रमाणित गरेको छ । रारावरपरको मनोरम छटालाई ताल्चामा भेटिएकी उजेलीको कथाले भावुक बनाइदिएको छ । राराको सौन्दर्यसँग मिसिएको माझघट्टको दुई थुँगा फूल । राराबाट फुत्किएर सुल्किएको छङछङे निजार खोला । त्यसको माथ्लोपट्टि रहेको मुर्मा होटल र काठे बार्दली । बार्दलीबाट देखिने परिदृश्यहरू एकनास धुपी सल्लाका रुखहरू, मुन्तिर रहेको गोरेटो बाटो, घोडसवार ठेट्ना युवा–युवती । ओहो, सिनेमाटोग्राफीको उत्कृष्ट नमुनाजस्तो लाग्छ । पढ्दै गर्दा म स्वयंलाई पाँच सालअघि स्कटल्यान्डको सुदूरपश्चिम आइले आइल्यान्डको ओवनदेखि फोर्ट विलियम्ससम्मको यात्रामा देखिएका दृश्यको दुरुस्तै झल्को आयो ।
निबन्धको शाखा नियात्राको खुबी भनेकै समुच्चमा आउने परिवेश र प्रस्तुतीकरण हुन् । जसलाई लामाले कमी हुन दिएको छैन । ‘न्येसाङका ढुङ्गेगल्लीहरू’ अर्थात् मनाङ र मर्स्याङ्दी यसको अर्को उदाहरण हो । बेँसीसहरदेखि माथिल्लो मनाङ पुग्दासम्मको भूगोल र पात्रहरूको मापनले धेरै थोकको बखान गर्छ । यसमा सामान्य टिपोट मात्र छैन । प्राकृतिक छटा त छँदै छ । रैथाने स्थाननामदेखि बजारु विस्तारले निम्त्याएको विकृति र कंक्रिटको बाक्लो बस्तीको उपजका परिणाममाथिको विश्लेषणले सम्बन्धित विज्ञहरूलाई समेत सचेत बनाउँछ ।
सिम्बुको थुम्कोमा उक्लेपछि लेखोटको असली सुवास लिन पाइन्छ । याम्बुतिर नजर लाएर लेखकले पुर्खाहरूको पिल्सिएको काँधमा काँध मिलाएका छन् । युगौँदेखि फिँजारिएको पीडाहरूको बिस्कुन यहीँबाट देखेको छ । आफ्नो समुदायको अनेकन् कथाव्यथा मात्र होइन, उपत्यकाको मनोरम दृश्यमा पनि रमेका छन् । स्वयम्भू सुवासविना उपत्यकाको परिचर्चा अपूरो हुन्छ । जसलाई मलिलो कथ्य पस्केर लेखकले मज्जाले मन्थन गरेका छन् । त्यसभित्रका ऐतिहासिक त्रिपिटक, किमडोल विहार, निर्वाणमूर्ति विहार अनि लस्करै मुक्तिमार्गमा लागेका बौद्धमार्गी भिक्षुणी । समयको प्रवाहमा बग्ने सहरको पहिचान अनि शान्तिको प्रतीक उपत्यकालाई स्निग्ध नियालिरहने कुमारित्व नयन । त्यहीँबाट देखिन्छ म्हैपीको थुम्को र पारिजातको छाया । जहाँ सुकन्या वाइबालाई लाग्छ, कुमारी लामा भेट्न आउँदा दिदी पारिजात फर्केर आइन् । सुकन्यासँगै बाँचिरहेकी केही पारिजात भने पनि त्यसभित्र धेरैथोक लुकेको छ । करिब एक दशकदेखि अनायासै म्हेंपीतिर डोरिएको उनको पाइलाले हिजोआज बाक्लै पछ्याएको भान हुन्छ । अन्यथा, पारिजात र उनको कृतिहरूको विश्लेषण गर्दै पछिल्लो पुस्ता र समयलाई कसरी सुसूचित गर्न सकिन्छ र ! सानो भूमिकामै ठुलो अर्थ लाग्ने गरी सुकन्या भन्छिन्, ‘ऊ सामाजिक विषयप्रति सचेत छ । उसले दिदी पारिजातको बाटो पक्रेको पाउँछु ।’ लेखक कत्तिको भावुक भइन् होला यो शब्द सुनेर !
उपत्यकाको उत्तरमा तर्पाया परेको हरियो शिवपुरी डाँडो छ । त्यसको थुम्कोबाटै देखिन्छ, सुन्दर हिमशृङ्खला र चरीमाया तामाङको हैबुङ गाउँ । अनि, त्यसैसँग जोडिएको संवेदनशील सत्यकथा हो, मांसहाटको आदिम भोक र आगो बोकेर मनमा । सन् नब्बेको दशकमा कहाली लाग्ने गरी फस्टाएको मानव बेचबिखनको व्यापारको परिणाम । जसले धेरै लालाबालाको बिल्लिबाठ पारेको थियो । चरीमायाको उमेर, परिबन्द, परिस्थिति र त्यसपछि उनले भोगेका अनगिन्ती आगोका यात्राहरू । हैबुङदेखि बम्बई र त्यहाँदेखि पुन: आगोको झिल्को बोकेर काठमाण्डुसम्मको सकसपूर्ण सफरहरूको बारेमा बुनिएको व्याख्या आफैँमा एउटा नमेटिने इतिहास हो ।
आगो बोकेर चिताबाट निस्किएकी सती हुँ म
शरीर उक्लेको आगो मनमा सल्काएर
उज्यालो यात्रामा निस्केको
आगोको यात्रा हुँ म ।
यी काव्यिक हरफहरू पढ्दै गर्दा पाठकहरूको मनमा आगोको मुस्लो छाउँछ । प्रतिरोध र आवेगलाई कविताको माध्यमबाट ओकल्नु लेखक आफैँमा आन्दोलित हुनु हो । यसरी तत्कालीन समय, समाज, जीवनका पीडा र भुइँमान्छेभित्रका घटित विषय लेखोटमा समाहित हुनु अत्यन्तै सराहनीय कार्य हो । अन्तरआत्माको नाडी छामेर सत्यको उद्घाटन गर्ने काम, उस्तै परिवेशमा भिजेको लेखकले मात्रै गर्न सक्छ ।
प्रत्यक्ष देखिनु, भोग्नु र स्पर्शका आयामहरू दृश्यांशको माध्यमबाट प्रस्तुत गरिएको छ भने अदृश्यका स्मृतिहरूले भावनामा हमेसा पछ्याइरहेको हुन्छ । मलाई लाग्छ, भुइँकुहिरो र कान्छी तामाङको एक्लो अनन्त यात्राले खेत, बारी, बोट, बिरुवा, वस्तुभाउ अनि चल–अचल सम्पत्तिलाई खिस्याइरहेको छ । सीतापाइलास्थित मनमोहन अस्पतालको तेस्रो तलाको फलामे बेड अनि कान्छी तामाङको चिसो ज्यान । जीवन र मृत्युसँगको घोत्ल्याइँ साँच्चै मन छुने खालको छ । यसर्थ जीवन बुझ्नलाई टाढा जानै पर्दैन भन्ने लेखकको बुझाइ अर्थपूर्ण लाग्छ ।
दर्ज्यु फर्फराइरहेको छ । छाडीजानेहरूको स्मृति स्तम्भको भकारी कहाँ यसै खाली हुन्छ र ! उज्यालो अन्धकार हुँदै पछ्याएको भुइँकुहिरो र कान्छी तामाङको स्मृतिका पोकाहरू अब तेस्रो भागमा पनि नआउला भन्न सकिन्न ।
दर्ज्यु संलाप– समय, परिवेश, गरिबी, जातभात, छुवाछुत, समुदायको सीमिततामा मात्र रोकिएको छैन । जीवन, जगत् र समाजमा देखिने अनुभव र अनुभूतिलाई लेखकले आफ्नो शैली र प्रस्तुतिमा स्वतन्त्र भएर अभिव्यक्त गरेका छन् । हुन त कुनै पनि संकलन आफैँमा पूर्ण हुन सक्दैन । ‘उज्यालो अन्धकार’को जस्तो प्रेमिल संलाप र यात्रान्तमा साथ दिने संगीहरूको एकाध वृत्तान्त छुटे पनि नेपाली निबन्धको आधुनिककालको करिब सय सालको अवधिमा यो एउटा शक्तिशाली निबन्धहरूको सँगालो (कृति) बनेको छ भन्न हिचकिचाउनुपर्दैन ।