मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
Invalid date format १२:o४:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अघि बढ्यो एमसिसीका थप दुई प्रसारणलाइनको निर्माण 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o४:oo
  • एमसिसी अनुदान र नेपाल सरकारको लगानी रहेको ४०० केभी क्षमता र ९० किलोमिटर लम्बाइका दुई प्रसारणलाइन ‘नयाँ दमौली–नयाँ बुटवल’ र ‘रातमाटे–नयाँ बुटवल’ निर्माणको ठेक्का सम्झौता, साढे तीन वर्षमा सकिने

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदान सहायता र नेपाल सरकारको लगानीमा बन्ने थप दुुई प्रसारणलाइनको निर्माणकार्य अघि बढ्ने भएको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले बिहीबार चार सय केभी क्षमता र ९० किमि लम्बाइका दुई प्रसारणलाइन ‘नयाँ दमौली–नयाँ बुटवल’ र ‘रातमाटे–नयाँ बुटवल’ बनाउन ठेक्का सम्झौता गरेको हो ।

नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माणका लागि वाइवा–सलार जेभीसँग सात करोड ७० लाख ३० हजार डलरमा ठेक्का सम्झौता गरिएको हो । यसमा वाइवा नेपाली र सलार भारतीय कम्पनी हो । एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पहिलोपटक ठेक्का पाएको हो । यो ठेक्का सम्झौतामा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र कम्पनीका प्रतिनिधि लालबहादुर तामाङ वाइबाले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, रातमाटे–नयाँ दमौली प्रसारणलाइन बनाउन भारतको एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गरिएको हो । प्रतिस्पर्धामा रहेका अन्य चार कम्पनीलाई पछि पार्दै एन्जेलिक–स्किपर जेभीले ठेक्का पाएको हो । सम्झौतापत्रमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र कम्पनीका प्रतिनिधि सुरेश कन्रूले हस्ताक्षर गरेका छन् ।

अब एक प्रसारणलाइनको मात्रै ठेक्का लाग्न बाँकी
अब प्रसारणलाइनतर्फ एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारणलाइनको ठेक्का लाग्न बाँकी छ । यो प्रसारणलाइन निर्माणका लागि ६ कम्पनीको प्रस्ताव आएको छ । एमसिए नेपालले कम्पनी छनोटको काम गरिरहेको छ । यो आयोजनाको ठेक्का सम्झौता भदौ दोस्रो सातासम्म गर्ने तयारी छ । १८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन भने भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८० मा ठेक्का सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । त्यसमा निर्माण कम्पनी फिल्डमा खटिसकेको छ ।

यसअघि एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । अहिले ४० किमि लामो धानखोला–लमही खण्डको मर्मत गर्न पनि ठेकेदार कम्पनी छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । मुग्लिन–नारायणगढ सडकलाई विशेष रूपमा मर्मत गर्न ठेक्का आह्वान हुन बाँकी छ ।

सम्झौता कार्यक्रममा कसले के भने ? 
कार्यक्रममा एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले यी सम्झौताका कारण नेपालको विकास लक्ष्यहरूमा अमेरिकाको सहयोगलाई पुन: पुष्टि गरेको बताए । ‘यी सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुन: पुष्टि गरेको छ,’ उनले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’

अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले समयमै परियोजना सम्पन्न गर्ने गरी काम गर्ने बताए । परियोजनामा सरकारी सहयोग निरन्तर रहने उनको भनाइ छ ।

अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले यो सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको बताए । उनले भने, ‘यस साझेदारीमार्फत हामी विद्युत् प्रसारणलाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसिसी कम्प्याक्ट नेपाल र संयुक्त राज्य अमेरिकाबिचको सहकार्यको आधारशिला हो ।’ उपप्रमुख जेसन मीक्सले साझेदारीले नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेको बताए ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले परियोजना कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । ‘कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौँ । यो महत्वपूर्ण उपलब्धिमा आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिबिम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौँ ।’

अनुदानको म्याद साढे ३६ महिना बाँकी, ठेक्का अवधि ४२ महिना 
एमसिसी अनुदानको म्याद अब तीन वर्ष १५ दिन बाँकी छ । तर, बिहीबार गरिएका दुई ठेक्का सम्झौताको म्याद भने तीन वर्ष ६ महिना छ । अमेरिकासँग २९ भदौ ०७४ (सेटेम्बर ०१७) मा गरिएको सम्झौताअनुसार परियोजना कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र काम सकेर भुक्तानी लिइसक्नुपर्नेछ । अन्यथा, बाँकी भएको अनुदान रकम एमसिसीले पठाउनेछैन ।

एमसिसी परियोजना १३ भदौ ०८० (२०२३ अगस्ट ३०) देखि कार्यान्वयनमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गराइएको थियो । सम्झौताअनुसार कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र अर्थात् २९ अगस्ट २०२८ (१२ भदौ २०८५) भित्र एमसिसीअन्तर्गतका परियोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । यी दुई ठेक्का म्याद त्योभन्दा साढे पाँच महिना पर राखिएको छ । बिहीबार सम्झौतापत्र समारोहमा दुवै कम्पनीका प्रतिनिधिले सकेसम्म छिटो निर्माण सम्पन्न गर्ने दाबी गरेका छन् ।

अमेरिकाले गत जनवरीदेखि जुलाईसम्म अनुदान स्थगत गर्‍यो । अनुदान स्थगन गरिएपछि रोकिएको ६ महिनालाई शून्य समय मानिएको छ । गत अप्रिलमै ठेक्का सम्झौता गर्न तयारी गरे पनि अनुदान स्थगित भएका कारण हुन नसकेको एमसिए नेपालले जनाएको छ । बिचको शून्य समयबापत अनुदानको म्याद थप हुने एमसिए नेपालको दाबी छ । एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १३ करोड डलर लगानीमा विद्युतीय प्रसारण र भौतिक पूर्वाधार बनाउने गरी २९ भदौ ०७४ (सेटेम्बर ०१७) मा द्विपक्षीय सम्झौता भएको थियो । यसबिचमा नेपालले गर्ने लगानी ६.७ करोड डलरले बढाएर १९ करोड ७० लाख डलर पुर्‍याइएको छ । एमसिसीले पाँच करोड डलर थप गर्ने निर्णय गरेसँगै एमसिसीबाट आउने कुल अनुदान ५५ करोड डलर पुगेको छ ।