मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नवीन जोशी
२o८२ श्रावण ३० शुक्रबार o८:१o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कृत्रिम बुद्धिमत्ता : भ्रम र यथार्थ

Read Time : > 5 मिनेट
नवीन जोशी
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o८:१o:oo
  • एआई एक क्रान्तिकारी सम्भावना भएको प्रविधि हो, जुन मानव जातिको लाखौँ वर्षको श्रमको ठोस अभिव्यक्ति हो

पछिल्ला केही वर्षदेखि आर्टिफिसियल इन्टिलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताबारे अनेकौँ चर्चा, प्रचार–प्रसार तथा दृष्टिकोण आइरहेका छन् । अहिले एआईको मानव समाजमा कैयौँ प्रभावबारे गरमागरम बहस चलिरहेको छ ।

कृत्रिम बुद्धिमत्तालाई कतिपयले ‘मानव जातिको भविष्यमाथि खतरा’, ‘मानिसमाथि मेसिनको विजय’, ‘करोडौँ श्रमजीवीको रोजगारी कटौती गर्ने आविष्कार’का रूपमा चित्रित गरेका छन् । तर, अर्को समूह पनि छ, जसले यसलाई ‘पूर्ण–स्वचालीकरणको युग प्रारम्भ’, ‘मानवको सहयोगी’का रूपमा व्याख्या गरिरहेका छन् । आखिर कुन दृष्टिकोण सत्य हो त ? कृत्रिम बुद्धिमत्ता र यसको पछिल्लो विकासलाई कसरी बुझ्ने ? यी प्रश्नहरूको सही उत्तर खोज्नु आवश्यक छ ।

के हो कृत्रिम बुद्धिमत्ता ? : व्यापक अर्थमा, कृत्रिम बुद्धिमत्ता यस्तो प्रविधि हो, जसले पूर्वनिर्धारित निर्देशअनुसार सूचनाको विशाल भण्डारदेखि ढाँचाको पहिचान तथा स्वयंलाई परिष्कृत गर्दै र परिस्थितिको विश्लेषण गरी निर्देशित सीमाभित्र एक हदसम्म स्वचालित रूपमा विशेष काम गर्ने, निर्णय लिने र उत्तर तथा सुझाव दिने गर्छ । यसले मुख्यत: हरेकपटकको मानवीय अन्तरक्रिया र नयाँ–नयाँ सूचना र नयाँ ढाँचालाई आधार बनाउँदै आफूलाई लगातार निश्चित परिधिभित्र निरन्तर परिष्कृत गर्ने गर्छ ।

यसको विकासक्रम आधुनिक कम्प्युटर, अर्थात् विद्युतीय कम्प्युटरको उभारसँगै, अर्थात् सन् १९५० को दशकदेखि प्रारम्भ हुन्छ । सन् ६० को दशकदेखि यसले गति लिएको देखिन्छ । एआईले आफ्नो विकासक्रममा अनेकौँ चरण, उपचरणहरू पार गरिसकेको छ, जुन क्रममा यो आधुनिक डिजिटल सूचनाको विशाल भण्डारबाट समृद्ध हुँदै ‘जेनरेटिभ एआई’सम्म विकास भएको छ । यसको यो विकासक्रम जारी छ । सूचना यसको ऊर्जा हो र जति–जति सूचना मानव जातिले उत्पादन र भण्डार गर्दै जान्छ, त्यति नै यसको विकासको सम्भावना रहन्छ । 

केही मानिस र साइन्स फिक्सन फिल्म तथा उपन्यासहरूले दाबी गरेझैँ कृत्रिम बुद्धिमत्ताले ‘मान्छेलाई विस्थापित’ नै गर्छ त ? निश्चय नै यसले उत्पादनका विभिन्न क्षेत्रका कामलाई स्वचालित बनाउने भएकाले सो क्षेत्रका कामदार तथा मजदुर विस्थापित हुनेछन् । यसअघि आधुनिक मेसिनको आविष्कारले पनि ठुलो संख्यामा मजदुरलाई बेरोजगार बनाएको थियो । क्यालकुलेटरको आविष्कार र आमप्रयोगले गणितको अन्त्य गरेन । बरु उल्टो गणितको थप विकास भयो । क्यालकुलेटरले मानिसलाई अंकगणितका जोड, घटाउ, गुणन र भागका दोहोरिइरहने समस्यादेखि मुक्त गर्‍यो र गणितका नयाँ शाखाहरूको अभ्युदय गर्न सहयोग गर्‍यो ।

त्यस्तै, सूक्ष्मदर्शकयन्त्र र दूरदर्शकयन्त्रदेखि चस्मासम्मले मान्छेको आँखालाई विस्थापित गरेनन् । बरु यी यन्त्रले सीमित मानवीय दृष्टिलाई साना कणदेखि बृहत् आकाशीय पिण्डसम्म देख्न सक्ने गरी विस्तार गरे । यसको उपयोग गरेर मान्छेले विभिन्न सूक्ष्म जीवदेखि सुदूर अन्तरिक्षसम्मका पिण्डबारे आफ्नो बुझाइलाई विस्तार गर्न सक्यो । विज्ञानमा कैयौँ नयाँ शाखा थपिए । पुराना शाखा समृद्ध बने । यहाँ यी उदाहरण दिनुको अर्थ कृत्रिम बुद्धिमत्ता क्यालकुलेटर, माइक्रोस्कोप, टेलिस्कोपसँग ठ्याक्कै समान छ भन्नु होइन । यसको अर्थ प्रविधिको विकास, नयाँ औजारको प्रयोग र यसले मानव जातिमा पार्ने प्रभावबारे सामान्य आगमन गर्नु अर्थात् समरूपका रूपमा बुझ्नु हो ।

मान्छेको श्रमशक्ति सीमित छ । यस सीमिततालाई हल गर्न मान्छेले विभिन्न प्रविधिको विकास गर्छ र प्रविधिको प्रयोगमार्फत विभिन्न औजार बनाउँछ । ऐतिहासिक दृष्टिकोणले औजार मान्छेको क्षमताको विस्तार हो । यसले मानवीय क्षमतालाई सबल बनाउँछ । विस्तार गर्छ । यो प्रक्रिया उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासको निश्चित स्थितिमा निर्भर गर्छ । यसले सामाजिक प्रणालीअनुसार परस्परविरोधी परिणाम दिने गर्छ । कृत्रिम बुद्धिमत्तालाई पनि यही वैज्ञानिक दृष्टिकोणअनुसार बुझ्नुपर्छ ।

कृत्रिम बुद्धिमत्तालाई लिएर प्रस्तुत गरिएका, प्रचारप्रसार गरिएका भ्रमात्मक दृष्टिकोणको स्रोत पुँजीवादी सामाजिक अस्तित्व हो । जसरी पलिहेको आविष्कार, आधुनिक यन्त्र र विज्ञानका आधुनिक फलको वास्तविक र पूर्ण उपभोग आमजनताले प्रयोग गर्न पाइरहेका छैनन् । त्यस्तै खतरा कृत्रिम बौद्धिकतामा पनि देखिने अवस्था आउँदै छ । त्यसैले एआईले निम्त्याउने खतरा एआई आफैँले ल्याउनेभन्दा पनि यसकोे स्वामित्व पुँजीपति वर्गको हातमा भएको कारणले भएको हुने हो । एआई मानव जातिको शत्रु हुने वा शासक बन्ने इच्छा राखेर समस्या आउने कुरामा त्यति सत्यता देखिँदैन ।

पुँजीवादी व्यवस्थाले स्वस्फूर्त रूपमा निर्माण गर्ने पुँजीवादी चेतनाले सूचना–प्राविधिको क्षेत्रमा क्रियाशील लगभग सबै प्राविधिक–इन्जिनियरलाई लपेटेको हुन्छ । मिथ्या चेतना जन्माउने पुँजीवादी ‘चेतना’ले वस्तुको विकासलाई विज्ञान तथा प्रविधि र समाजको सम्बन्धलाई, नयाँ प्रविधिको विकास र समाजको सम्बन्धबारे, अझै सरल रूपमा भन्दा विकासका आधारभूत नियमबारे सही समझ राख्न दिँदैन । त्यसैले, आफैँमा मानवीय मस्तिष्कको अपार क्षमताबाट जन्मिएको प्रविधि अभ्युदय र विकासलाई रहस्यमय रूपमा बुझ्ने र व्याख्या गरिरहेका छन् । पुँजीवादी चेतनाले विकासको सार्वभौम नियम नबुझ्ने भएकाले फरक चरित्रको विकासलाई खतराका रूपमा प्रस्तुत गर्छ ।

प्राविधिक फड्को र सामाजिक व्यवस्था : एआई एक क्रान्तिकारी सम्भावना भएको प्रविधि हो भन्नेमा कुनै द्विविधा हुनुहुँदैन । यो मानव जातिको लाखौँ वर्षको श्रमको एक ठोस अभिव्यक्ति हो । मानवजातिले हालसम्म सिर्जना गरेको सूचनाबाट पोषित हुने एआईले मानिसको निर्देशनको निश्चित सीमाभित्र रहेर केही हदसम्म आफैँले ‘निर्णय’ वा ‘काम’ गरेजस्तो गर्छ । यसले सामाजिक उत्पादनलाई विशाल मात्रामा बढाउने र मानव जातिको बृहत्तर हित गर्ने सम्भावना राखेको छ । तर, के यो समग्र मानव जातिको हितमा उपभोग हुन सक्छ ? यस प्रश्नको उत्तर भावनामा होइन, विद्यमान सामाजिक व्यवस्थामा खोजिनुपर्छ ।

सामान्यत: प्रविधि वर्गीय हुँदैन । तर, वर्गीय समाजमा यसको वर्गीय पक्ष हुन्छ । एउटै प्रविधिले पनि परस्परविरोधी सामाजिक व्यवस्थामा परस्परविरोधी भूमिका निर्वाह गर्छ । प्रविधिले तय गर्ने भूमिका यसको स्वामित्व कुन वर्गसँग छ भन्ने कुरामा निर्भर रहन्छ । अहिलेको सामाजिक व्यवस्था पुँजीवादी व्यवस्था हो । यसमा उत्पादनका गतिविधिको उद्देश्य मानवीय आवश्यकता पूर्ति होइन, मुनाफा आर्जन हो । पुँजीवादी व्यवस्थाले हरेक नयाँ प्रविधिलाई आफ्नो मुनाफाको दर बढाउन उपभोगमा ल्याउने गर्छ । 

ब्रिटिस रसायनशास्त्री विलियम राम्सेले विकास गरेको कोइला खानीबाट ग्यास निकाल्ने विधिको खोजको प्रशंसा गर्दै लेनिनले यस खोजले ‘उद्योगमा एक ठुलो क्रान्ति ल्याउने’ बताएका थिए । नयाँ आविष्कारले उत्पादनमा ल्याउने क्रान्तिको उपभोग भने व्यवस्थाअनुसार फरक पर्छ । जस्तो, पुँजीवादी व्यवस्थामा कोइला उत्खननमा स्वचालित प्रविधि भित्रिँदा त्यहाँ पहिलेदेखि काम गर्ने लाखौँ खानी मजदुरहरू बेरोजगार हुनेछन् । गरिबीमा ठुलो मात्रामा वृद्धि हुनेछ । मजदुर कामविहीन हुँदा नयाँ आविष्कारबाट मोर्गन, रोकफेलर, र्‍याबुसिन्स्की, मोरोझोभजस्ता व्यवसायी भने धनाढ्य भएको इतिहास छ । तर, समाजवादअन्तर्गत उही र्‍याम्सेको प्रविधिबाट लाखौँ खानी मजदुर कठोर श्रमबाट ‘मुक्त’ हुन्छन् । श्रमिकहरू कामबाट निकालिने भन्दा तिनको काम गर्ने समय घटाएर आठ घण्टाबाट सात घण्टा वा अझै कम बनाउने सम्भावना सिर्जना हुनेछ । त्यस्तै, कारखाना र रेलमार्गको ‘विद्युतीकरण’ले कामले वातावरणलाई सफा र स्वास्थ्यकर बनाउनेछ । लाखौँ मजदुरलाई धुवाँ, धुलो र फोहोरबाट मुक्ति दिनेछ । फोहोर तथा घृणित कार्यशाला सफा, उज्यालो स्वस्थकर क्षेत्रमा रूपान्तरण हुने प्रक्रियालाई तीव्र बनाउनेछ । पुँजीवादी व्यवस्थामा हरेक नयाँ प्रविधिले मजदुरलाई बेरोजगार बनाउने वा उसको काम गर्ने वातावरणलाई थप जटिल बनाउने गर्छ ।

कृत्रिम बुद्धिमत्ताको सन्दर्भमा पनि पुँजीवादी र समाजवादी व्यवस्थामा जस्तो कोइला उद्योगमा स्वचालन प्रवेश हुँदाको भिन्नता देखिन सक्छ । अहिले मानिसले घन्टौँसम्म काम गर्नुपर्ने क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले मानिसलाई सहायता गर्न सक्छ । सामाजिक उत्पादनको उत्पादकत्वलाई ठुलो मात्रामा बढाउन सहयोग गर्छ । तर, यसको परिणाम पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थामा परस्परविरोधी हुनेछ । कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै जाँदा करोडौँ मजदुरलाई बेरोजगार हुनेछन् भन्ने डर यसैको उपज हो । समयकालमा पुँजीवादी ज्यालादारी दासत्व थप सुदृढ बन्ने माध्यम बन्नेछ, एआई । मजदुरमाथि मालिकको निगरानी हदैसम्म बढाउनेछ । तर, समाजवादी व्यवस्थामा यसको ठिक उल्टो हरेक नयाँ प्रविधिले मजदुरलाई श्रमभार घटाउने र कार्यस्थल अनुभव सहज बनाउनेछ । आवश्यक सामाजिक श्रमको मात्रा घटाएर मानिसलाई कला, साहित्य र विज्ञानलगायत आफ्ना रुचिका क्षेत्रमा लाग्न समय प्रदान गर्नेछ । 

एआई सत्तारुढ पुँजीपति वर्गको हातमा पर्दा त्यो आममानिसमाथिको शोषण बढाउन प्रयोग हुने जोखिम छ । यसको पछिल्लो उदाहरण इजरायलमा देखिसकेको छ । इजरायले जारी गाजा युद्धमा कृत्रिम बुद्धिमत्तालाई व्यापक प्रयोगमा ल्याएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । अमेरिका एवं पश्चिमा देशको सक्रिय सहयोग र समर्थनमा इजरायलले आमप्यालेस्टाइनीको निगरानी र नरसंहारका लागि एआईलाई उपभोगमा ल्याएको छ । यसको मुख्य निसाना बालबालिका, महिला र वृद्धवृद्धा परेका छन् ।

कृत्रिम बुद्धिमत्ता या कृत्रिम अज्ञानता ? : कृत्रिम बुद्धिमत्ताले संकलित सूचनाको विशाल भण्डारभित्र निश्चित ढाँचा पहिचान गरेर त्यही सीमाभित्र रही मानिसले खोजेको परिणाम दिने गर्छ । अर्थात्, मानवले सिर्जना गरेको सूचनामा त्यो निर्भर रहन्छ, जुन विनाकृत्रिम बुद्धिमत्ताले आफैँले केही गर्न सक्दैन । माथि नै भनियो, एआईले काम र निर्णय गर्न प्रयोग गर्ने सूचनाको विशाल भण्डारको स्रोत मानिस नै हो ।

आज हामी पुँजीवादी समाजमा बाँचिरहेका छौँ । पुँजीवादले आफ्नो सम्पूर्ण प्रगतिशील दृष्टिकोण गुमाइसकेको छ । यसले आफ्नो आयु लम्ब्याउन हरसम्भव प्रयत्न गर्दै छ । यसले पुँजीवादी व्यवस्थालाई जीवित राख्न आवश्यक श्रमजीवी उत्पादन गर्न एकातर्फ शिक्षा र विश्वविद्यालय ज्ञान त प्रदान गर्छ, तर अर्कोतर्फ आममानिसको चेतनालाई बन्ध्याकरण गर्न पुँजीवादी प्रोपोगन्डा, विज्ञापन र भ्रममा ठुलो लगानी गर्दै आएको छ । यस लगानीले पुँजीवादी समाजमा मिथ्या चेतनाको बोलवाला सिर्जना गरिएको छ । सम्भवत: यसैले गर्दा मानवीय सूचनाको विशाल भण्डार पनि स्वभावत: मिथ्या चेतनाले नै भरिएको छ, जुन कृत्रिम बुद्धिमत्ताको विकाससँगै निरन्तर बढ्दै गइरहेको छ । परिणामस्वरूप, कृत्रिम बुद्धिमत्ताले पुँजीवादी सामाजिक अस्तित्वले जन्माउने मिथ्या चेतनालाई लगातार पुन: उत्पादन गर्दै ‘कृत्रिम अज्ञानता’को सिर्जना गरिरहेको छ ।

यसले सत्य र झुटको सीमारेखालाई धुमिल्याउँदै छ, मानव जातिले अहिलेसम्म सिर्जना गरेको समृद्ध ज्ञान परम्परालाई भत्काउन खोजिरहेको छ । यस सामाजिक महामारीका कारण कृत्रिम बुद्धिमत्ता नभई पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थालाई आफ्नो लुटको स्वर्गको रक्षा गर्नुछ भने आमजनतालाई आफूमाथि पुँजीपतिबाट भइरहेको शोषणलाई बुझ्न दिन रोक्नुपर्छ । यो वर्गसंघर्षको इतिहासमा कुनै नयाँ कुरा होइन । तर, कृत्रिम बुद्धिमत्ताले यसलाई हजारौँ गुणा सहज र प्रभावकारी बनाइदिएको छ ।

यसरी कृत्रिम बुद्धिमत्ता पुँजीवादी व्यवस्थामा श्रमजीवी जनता र मानव जातिको बृहत्तर हितविरुद्ध केही मुठीभर धनाढ्यको उपयोगी साधन बन्दै छ । यसकारण, कृत्रिम बुद्धिमत्ताजस्ता नयाँ प्रविधिको गुणात्मक विकास र यसलाई मानव जातिको बृहत्तर हितमा लगाउने कुराको बाधक पुँजीवादी व्यवस्था हो भनेर बुझ्न ढिलो गर्नुहुँदैन ।