
परापूर्वकालमा बन्दीपुरमा एक बाघले स्थानीय बासिन्दालाई निरन्तर दुःख दिइरहेकाले बाघको आतंक अन्त्य गर्न तत्कालीन राजाबाट अनुमति लिएर सिकारीहरूले त्यस बाघलाई मारिदिए। गाउँलेहरू बाघको त्रासबाट मुक्त भएको उल्लासमा राजारानीको उपस्थितिमा बाघ मारिएको नाटकीय रूपान्तरण प्रस्तुत गर्न थाले। यही परम्परागत प्रस्तुति अहिले ‘बाघजात्रा’का रूपमा विकसित हुँदै आएको भन्ने छ।
आज पनि यो जात्रा बन्दीपुरवासीहरूको गर्व र पहिचानको रूपमा मनाउने गरेका छन्। हरेक वर्ष, जनैपूर्णिमापछि तेस्रो दिन र कृष्णाजन्माष्टमीको एक दिनअघि, बन्दीपुरका गल्ली–चोकहरूमा याे जात्रा भव्य रूपमा आयोजना गरिन्छ। ढोल–नगारा, नाचगान र रंगीन पोसाकसहित प्रस्तुत गरिने यो सांस्कृतिक पर्वले स्थानीय परम्परा मात्र होइन, ऐतिहासिक वीरताको स्मरण पनि गराउँछ।