
तनहुँको पर्यटकीय बजार क्षेत्र बन्दीपुरमा बाघ जात्रा मनाइएको छ । आज सुरु भएको जात्रा कृष्ण जन्माष्टमीका दिन समापन हुनेछ।
किंवदन्तीअनुसार परापूर्वकालमा एउटा बाघले बन्दीपुरवासीलाई निरन्तर दुःख दिएको र बाघको आतंक अन्त्य गर्न, तत्कालीन राजाबाट अनुमति लिएर सिकारीहरूले उक्त बाघलाई मारिदिएका थिए। त्यसपछि बाघको त्रासबाट मुक्त भएको उल्लासमा स्थानीयले राजारानीको उपस्थितिमा बाघ मारिएको नाटकीय रूपान्तरण प्रस्तुत गर्न थालेका थिए। यही परम्परागत प्रस्तुति अहिले ‘बाघ जात्रा’का रूपमा विकसित हुँदै आएको छ।
आज पनि यो जात्रा बन्दीपुरवासीहरूको गर्व र पहिचानको रूपमा मनाउने गरेको छन् । हरेक वर्ष, जनै पूर्णिमापछि तेस्रो दिन र कृष्णजन्माष्टमीको एक दिनअघि, बन्दीपुरका गल्ली–चोकहरूमा यो जात्रा भव्य रूपमा आयोजना गरिन्छ। ढोल–नगारा, नाचगान र रंगीन पोसाकसहित प्रस्तुत गरिने यो सांस्कृतिक पर्वले स्थानीय परम्परा मात्र होइन, ऐतिहासिक वीरताको स्मरण पनि गराउँछ।