मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
गगन अयडी बाजुरा
२o८२ श्रावण २९ बिहीबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले बाजुराकाे हिमाली गाउँपालिकामा दर्जनौँ घरमा क्षति

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १७:oo:oo

बाजुराको हिमाली गाउँपालिकाको वडा नं १, ३ र ५ मा पर्ने कवाडी खोलामा आएको बाढीले स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठुलो क्षति गरेको छ। दुई दिनको लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्तीनजिकैको जमिन र घरहरू जोखिममा परेका छन्।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म वडा नं १ मा पाँच तथा वडा नं ५ मा १३ घर पूर्ण रूपमा क्षति भएको छ। ६० देखि ७० घरहरू उच्च जोखिममा रहेका बताइएको छ। बाढीले बृहत् चारवटा सिँचाइ कुलो, एक झोलुंगे पुल, एक विद्यालय तथा कवाडी खोला विद्युतको पावर हाउस र नहर पूर्ण रूपमा क्षति भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताए।

उनका अनुसार वडा नं ५ र १ मा गरी कुल ५३ सय जनसंख्यामध्ये १५ सयभन्दा बढी बाढीबाट प्रत्यक्ष प्रभावित भएर अर्को ठाउँमा विस्थापित भइसकेका छन्। विस्तापित परिवारहरू लेकको रुगिन, नन्दापाटन, बच्छ्याँलगायतका ठाउँमा गएर बसोबास गरिरहेका छन्। 

विस्थापित परिवारका लागि गाउँपालिकाले खाद्यान्न, लुगा, भाँडकुँडालगायत वितरण गर्ने तयारी गरिरहेको छ। आफू प्रभावित क्षेत्रमा गइरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए। 

बाढीबाट ‎अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी आएको छैन। उक्त  क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा स्थानीयवासीसँग सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।