मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
तस्विर : कैदीबन्दी राखिएको कोरोना अस्पताल
२o८२ श्रावण २८ बुधबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेरि झडप हुन सक्ने भन्दै डिस्चार्ज भएका कैदीबन्दीलाई कारागार लगिएन

अन्य कारागार स्थानान्तरण गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १५:३o:oo

कैलाली कारागार घटनामा घाइते २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उनीहरूलाई हिजै डिस्चार्ज गरेको हो। तर, पुनः झडप हुने आकलनसहित डिस्चार्ज भएका कैदीबन्दीलाई जिल्ला कारागार कैलालीमा लगिएको छैन।

उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्न समन्वय भइरहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख जलान्धर भुसालले शुक्रबार रातिको घटनामा घाइते भई डिस्चार्ज भएका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने विकल्पमा कुरा भइरहेको जानकारी दिए। उनले कारागारभित्रको अवस्था फेरि अशान्त नहोस् भनेर डिस्चार्ज भएकालाई अन्यत्र सार्ने विकल्प अघि सारिएको बताए।

‘२७ जना हिजो डिस्चार्ज हुनुभएको छ। कारागारभित्र ल्याउँदा उहाँहरूमाथि फेरि केही हुन सक्छ, कारागार अशान्त बन्न सक्छ भनेर केही दिन अस्पतालमै राख्ने कि भन्ने छ,’ भुसालले भने, ‘उहाँहरूको अन्यत्र सरुवा गर्ने विकल्पमा कुरा भइरहेको छ।’ कारागार प्रशासनका अनुसार घाइते कैदीबन्दीका आफन्तलाई सरुवाका लागि निवेदन दिन भनिएको छ।

डिस्चार्ज भएकामध्ये तीनजनालाई आज जिल्ला कारागार कञ्चनपुर सरुवा गरिएको कैलाली कारागारले जनाएको छ। कैलाली कारागारभित्र शुक्रबार राति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।

घाइतेमध्ये २७ जना डिस्चार्ज भएका, तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको कारागार प्रमुख भुसालले जानकारी दिए। कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको थियो। डिस्चार्ज भएका कैदीबन्दीहरू पनि अहिले त्यहीँ रहेका कारागार प्रशासनले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुरक्षा चुनौतीलाई आकलन गरेर डिस्चार्ज भएका कैदीबन्दीलाई कैलाली कारागारमा नराखिएको बताए। उनीहरूको सरुवाका लागि आफन्त र कारागार व्यवस्थापन विभागसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए।