
माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्ने उदेश्यले निर्माण भएको आरोप लगाएका छन् । महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल कञ्चनपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्ने उदेश्यले निर्माण भएको बताएका हुन्।
पूर्व उपप्रधान गृह एवं परराष्ट्रमन्त्री समेत रहेका माओवादी नेता श्रेष्ठले अघिल्लो सरकारले सुशासनदेखि भ्रष्टाचारी तह लगाउन थालेपछि त्यसविरुद्धमा एमाले, कांग्रेस नेतृत्वको सरकार निर्माण भएको बताए ।
‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले जनतालाई विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो,’ उनले भने, ‘यो सरकारको पर्याबाजी भ्रष्टाचार, छलछाम, कपट हो, यो सरकार जति रहन्छ, देशमा त्यति यथास्थिति रहन्छ ।’
यथास्थितिलाई परास्थ पार्नु आजको आवश्यकता भएकाले सबै बामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताए । उनले नेकपा विप्लव, समाजवादी, जसपासहितका शक्तिहरूबिच नेकपा देखि समाजवादी मोर्चा, ब्यूँताउने छलफल चलिरहेको बताए । ‘संविधानको रक्षा गर्न देशलाई प्रतिगमनको खतराबाट बचाउनु छ,’ श्रेष्ठले भने, ‘अहिलेको मुल राष्ट्रिय कार्यभार समाजिक आर्थिक रुपान्तरण हो, यसका लागि सुशासनको विकल्प छैन ।’
मंगलबार माओवादी भीमदत्त नगरको अधिवेशन उद्घाटनका लागि कञ्चनपुर पुगेका पूर्व उपप्रधानमन्त्री श्रेष्ठले दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह स्थलको अनुगमन पनि गरेका छन् । अनुुगमनका क्रममा माओवादी सरकारकै परिकल्पना अनुरुप पश्चिम नेपालबाट देशको विकास अघि बढाउने योजना, पाटी सरकारको नेतृत्वमा नहुँदा ओझेलमा पर्दै आएको बताए । उनले उक्त योजनालाई समेत अघि बढाउँदै देशको दीगो विकासका जोड्नुपर्ने बताए ।
नेता श्रेष्ठ धनगढी विमानस्थलदेखि सिधैँ हुलाकी राजमार्ग पुनर्वास, बेलौरी, बेलडाँडी दक्षिणी क्षेत्र हुँदै महेन्द्रनगर आउन लागेको बताए । ‘दक्षिणी क्षेत्रका जनता, नेता कार्यकर्ताहरूसँग भेटघाट गरेर महेन्द्रनगर आउने छन्,’ उनले भने, ‘भोलिपल्ट मंगलबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयदेखि भीमदत्त नगर पार्टीको नगर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।’