
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ शान्तिचोकस्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा भएको बचतकर्ताको करोडौं रकम अपचलन सम्बन्धमा अनुसन्धान अगाडी बढाएको प्रहरीले बचतकर्ताहरुसँग उजुरी माग्ने तयारी थालेको छ।
सुरुमा ठगीमा उजुरी परेकोमा पछिल्लोपटक सहकारी ठगीमा जाहेरी परेसँगै सहकारी ठगीमा अनुसन्धान अगाडी बढाएको प्रहरीले सबै बचतकर्ताहरुलाई लक्षित गर्दै सुचना जारी गर्ने तयारीमा छ। इलाका प्रहरी कार्यालय बुटवलमा सहकारी ठगी आरोपमा सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामवहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध परेको मुद्दामा अनुसन्धान गर्ने क्रममा बचतकर्ताबाट उजुरी माग गर्न लागिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले उजुरी मागको सुचना एक–दुई दिनभित्रैमा जारी गर्ने बताए। ‘उक्त सहकारी समस्याग्रस्त रुपमा आएकाले प्रहरीले अनुसन्धान गर्दैछ, बचतकर्ता कोको हुनुहुन्छ, उजुरी दिनुहुन भन्दै सुचना जारी गर्छौं’, उनले भने, ‘छिट्टै सुचना जारी गछौं।’
प्रहरीले अनुसन्धान गर्ने क्रममा सहकारीका कागजपत्र सोमबार लगेको छ। सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले शुक्रबार प्रहरीमा उजुरी दिइएकोमा प्रहरीले सोमबार अनुसन्धानका लागि सहकारीको कार्यालयबाट कागजपत्र लगेको बताए।
सो सहकारीको रकम अपचलनका बिषयमा गठित स्वतन्त्र लेखा परीक्षकले तयार पारेको लेखा परिक्षक प्रतिवेदन प्रहरी अनुसन्धान अधिकृतबाट अध्ययनकै क्रममा रहेको बताइएको छ। सो प्रतिवेदन आवश्यक कारवाहीका लागि लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले यही साउन १६ गते पत्रसहित इप्रका बुटवल पठाएको थियो।
गत असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौँ अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाही र आफ्नो बचत फिर्ताको मागलाई सशक्त रुपमा उठाउँदै आएका छन्।
प्रहरी तथा सहकारी दर्ता अधिकारीको कार्यालयसम्म पुगेर दवाव दिएका उनीहरुले पाँच दिनसम्म सहकारीका अध्यक्ष र सचिवका श्रीमतीहरुलाई सहकारीको कार्यालयभित्रै थुनेका थिए। श्रीमानहरुलाई सम्पर्क गराउने र ५ दिनभित्रमा सहकारीको कार्यालयमा उपस्थित गराउने सर्तमा उनीहरु घेराबाट मुक्त गरिएपनि सो अनुसार सम्पर्क नभएपछि प्रहरीमा उजुरी दर्ता भएको हो।