
राधाकृष्ण रथयात्राको बहानामा विराटनगर महानगरको मुख्य मुख्य स्थानमा रहेका पुरानो पिपलको रुख काटिएको विरोधमा हरियाली अभियन्ताहरूले क्षमा पुजा गरेका छन् ।
विराटनगरको मेडरोड अतिथि सदनस्थित सत्यनारायण मन्दिर अगाडिको करिब ९० वर्ष पुरानो पिपलको रुख रथयात्राको वहानामा ठूटै पारेर काटिएको भन्दै हरियाली अभियन्ताहरूले सोमबार अपरान्ह क्षमा पुजा गरेका हुन् ।
रुख रोपेर संरक्षण गर्नु पर्ने निकाय आफैले धार्मिकस्थल अगाडि रहेको पुरानो धार्मिक महत्वको पिपलको रुख काटेर उजाड बनाएर पर्यावरण विनाश गरेको भन्दै हरियाली अभियन्ताहरूले पालिका र सरकारसँग आक्रोश पोख्दै अपराध गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
अभियन्ताहरूले एउटा रुख रोपेर हुकाउन कैयौं वर्ष र मिहिनेत लाग्ने भए पनि शहरको मध्य भागको किनारमा रहेको पुरानो रुखलाई काटेर गम्भीर अपराध गरेको अभियन्ताहरूको भनाइ छ । मन्दिर अगाडि रहेको भगवान विष्णुको प्रतिक मानिने पिपलको रुख काटेर अपराध भएकोले सामुहिक रुपमा विरोधस्वरुप क्षमा पुजा आयोजना गरेको हरियाली अभियन्ता पारुले क्षेत्रीले बताए । उनले भने, ‘यति पुरानो पिपलको रुख काटेर जसले अपराध गर्याे त्यसलाई अवश्य पाप लाग्छ र आइन्दा अरुले पनि रुख काटनुपर्दा हजारपटक सोचुन भनेर सामुहिक क्षमा पुजा गरेका हाैँ।’
बुद्धिजिवी लेखक रामरिझन यादवले रुख रोपेर महानगरलाई हराभारा बनाउनेहरूबाटै हुर्किएको ऐतिहासिक रुख काटिनु अपराध भएकोले काट्ने र काट्न लगाउनेले क्षमा माग्नुपर्ने बताए । डा. रश्मी थापाले देखवाटी रुपमा वृक्षारोपण गरेर होइन रोपेका बिरुवा हुर्काउन सकेमात्र वतावरणको संरक्षण हुने तर हुर्किसकेका पुराना रुख काटने काम वतावरणको झन विनाश गर्ने भएकोले आइन्दा कसैले पनि यस्तो गल्ती गर्न नहुने बताइन् ।
क्षमा पुजामा सहभागी अभियन्ता र शुभचिन्तकहरूले तीव्र भावनात्मक आक्रोश व्यक्त गर्दै शहरमा सबैभन्दा धेरै अक्सिजन दिने हुर्किएका रुखहरू विभिन्न वहानामा काट्ने कामले शहरको ऐतिहासिक र पारिस्थितिक धरोहरप्रति अपुरणीय क्षति भैरहेको बताए ।
यही १ भदौमा विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको सुरक्षाका लागि भन्दै महानगरपालिकाले उक्त पुरानो पिपलको रुख आइतवार काटेको थियो । तर, अभियन्ताहरूले पुराना रुख काटेर अग्ला मानव निर्मित रथहरूको यात्रा गर्ने ढर्रालाई त्यागेर ऐतिहासिक रुपको पुरानै खाटमा राधाकृष्णको यात्रा निकाल्नु पयुक्त हुने सुझाव दिएका छन् ।