Skip This
समाजको धम्कीका बाबजुद बाबुको काजक्रियामा तीन छोरी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format १o:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजको धम्कीका बाबजुद बाबुको काजक्रियामा तीन छोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजक्रिया गर्न बराबर अधिकार राख्छिन् । तर, व्यवहारमा अझै पनि छोरीमाथि विभेद रोकिएको छैन । काभ्रे रयालेका हरिप्रसाद सापकोटाको ९८ वर्षको उमेरमा आइतबार निधन भयो ।  क्रान्तिकारी चेतका हरिप्रसादले छोरीहरू सुन्तली, कमला, विमला, निर्मला र राधिकालाई विभेद र अन्यायविरुद्ध लड्न सिकाएर हुर्काएका थिए । सानैमा आमा गुमाएका उनीहरूले विभेद र अन्यायविरुद्ध लड्न सिकाउने बुबाको काजक्रियामै अन्याय खेप्नुपरेको छ ।

समाजको चेतावनीको बाबजुद विमला, निर्मला र राधिका बुबाको काजक्रियामा बसेका छन् । विरामी भएका कारण दुई छोरी सुन्तली र कमला भने काजक्रियामा बसेका छैनन् । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए । उनीहरूले छोरीहरू काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएका थिए ।

‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ?  आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदै छ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरू कसैको बंशमा दखल गरेका छैनौँ, हामी आब थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’ काभ्रे बनेपा नगरपालिकाकी उपमेयरसमेत रहेकी विमलाले पीडा पोखिन् ।

जीवनको उत्तरार्द्धमा पालनपोषण र औषधोपचार छोरीहरूले नै गरे । बुबाका लागि कुनै कमी हुन दिएनन् । मृत्युपछिको संस्कारमा भने समाजले वञ्जित गर्न खोज्यो। उनीहरूलाई काजक्रिया बस्न नदिन समाजले बैठक नै राख्यो । सामाजिक अभियन्तासमेत रहेका छोरीहरू समाजको धम्कीबाट डराएनन्, बुबाको काजक्रियामा अघि सरे ।

विमलाले हजारौं छोरीमाथि न्यायका लागि बहिस्कृत हुनसमेत तयार रहेर अघि बढेको बताइन् । ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोक । हाल हामी बहिस्कार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजक्रिया गर्न देउ, पीडा नदेउ । १३ दिनपछि सधैँका लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौँ ।’ अधिवक्तासमेत रहेकी उनले भनिन् ।

अर्की छोरी राधिकाले बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै भनिन् ‘बुबा तपाईले सानैदेखि विभेद र अन्यायको विरूद्ध लड्न सिकाउनु भयो । कहिलै झुक्न दिनु भएन,  आज यो समाज तपाईंको काजक्रियामा हामीलाई झुकाउने प्रयत्न गर्दै छ । याद गर हामी तिमीहरूले पटक पटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौँ । हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ ।’ राधिका एमाले धादिङको सचिवसमेत हुन् ।