Skip This
कारागार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक फणीन्द्रमणि पोखरेललाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format o९:१९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कारागार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक फणीन्द्रमणि पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

हाम्रा कारागार किन असुरक्षित छन् ?
हाम्रा अधिकांश कारागार ‘रिस्क’मै छन् । यसका पछाडि केही कारण देखिन्छन् । सबैभन्दा महत्वपूर्ण कारण ‘ओभर क्राउडेड’ हुनु नै हो । कारागारको अधिकतम क्षमताभन्दा पनि दोब्बर, तेब्बर संख्याका कैदीबन्दी राख्नुपर्ने बाध्यताले गर्दा कारागारभित्रको आन्तरिक व्यवस्थापन कमजोर हुने गरेको देखिन्छ । सामान्यतः असार मसान्तभित्र कारागारभित्र चौकीदार, नाइके, भाइनाइके छनोट गर्ने परिपाटी छ ।

त्यस्तो नियुक्ति गर्दा सिनियारिटी र असल चालचलन हेरेर गर्ने स्थापित प्रणाली कहीँकतैबाट ‘ब्रेक’ भयो भने असन्तुष्टि बढ्छ, गुटबन्दी सुरु हुन्छ र झडपको स्थिति सिर्जना हुन सक्छ । कैलाली कारागारमा चाहिँ हतियार र मोबाइल फोनसमेत भेटिएको समाचार आइरहेको छ । फेरि कारागारका हाकिम कसैलाई निमित्त दिएर बिदामा बसेको समयमा निमित्तले पनि अर्कोलाई निमित्त दिएर बिदामा बसेको सुनिँदै छ । त्यहाँ जेल प्रशासन प्रमुखको आन्तरिक तथा बाह्य समन्वयमा पनि कमी देखियो । यस्तै कमीकमजोरी देखिँदा कारागारभित्र आन्तरिक असुरक्षा बढ्न सक्छ । 

कारागारभित्र झडपको स्थिति कसरी सिर्जना हुन्छ ?
सामान्यतः कारागारमा बदमास मान्छे नै पुग्ने हुन् । तिनलाई पहिचान गरी आन्तरिक सुरक्षा व्यवस्थापन मिलाउनुपर्छ । त्यस्ता कैदीबन्दी पहिचान गरी तिनका गतिविधिलाई विशेष ‘वाच’मा राख्न सक्नुपर्छ । कारागारभित्र पसल हुन्छ, व्यापार हुन्छ । त्यसको व्यवस्थापनको पाटोमा समेत प्रशासनले विशेष ध्यान पुर्‍याउनुपर्छ । अन्यथा, झडपको सम्भावना हुन्छ । 

कारागारलाई सुरक्षित बनाउने उपाय के हुन सक्ला ?
सबैभन्दा पहिले क्षमताभन्दा बढी कैदीबन्दी कुनै पनि जेलमा राख्नुहुँदैन । अदालतले पनि धेरै मान्छेलाई थुनामा पठाउनुभन्दा धरौटी मागेर छाड्न मिल्नेलाई छाड्ने विषयमा गृहकार्य गर्न जरुरी छ । जेल सरुवा गर्दा नियमावलीलाई कडाइसाथ पालना गरिनुपर्छ । कसैको प्रभाव र दबाबमा काम भयो भने सुरक्षा व्यवस्थामा समस्या आउन सक्छ ।