
जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको थियो ।
छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानप्रति सुझाव, जिज्ञासा र टिप्पणी व्यक्त गरेका थिए ।
सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्षित गरी विधेयक ल्याइएको जानकारी दिए । मन्त्री खड्काले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको पनि जानकारी दिएका थिए ।