
शिक्षा
मौसम अनुकूल हुँदो हो त, यतिवेला २२ वर्षीय विद्यार्थी पाइलट दीपेन्द्र घिसिङ आकाशको चक्कर लगाइरहेका हुन्थे । तर, फिलिपिन्समा पानी पर्ने समय भएकाले उनी नेपालमा छन् । पाइलट पढ्ने क्रममा भइरहेका प्रगति, त्यहाँसम्म पुग्न पार गरेको हन्डर, ठक्कर अनि दु:खका ठेली हामीलाई सुनाइरहेका छन् ।
नेपाल आउनुअघि उनले आफ्नो प्रशिक्षकसँग बसेर ११ घण्टा प्लेन उडाइसकेका छन् । उनका अनुसार त्यो ११ घन्टे प्रस्तुति उत्कृष्ट भयो । ‘मैले छिटो–छिटो पढेर क्लास सकाएँ । तालिम पनि छिटो नै भयो । मेरो पर्फमेन्स राम्रो भएकाले सरले ११ घण्टामै सोलोको लागि छाडिदिनुभएको थियो । एक्लै उड्नका लागि मौसम राम्रो हुनुपर्छ । मौसम राम्रो नभएपछि दुई हप्तासम्म कुर्नुपर्यो । अझै कुर्नुपर्ने देखिएपछि यता आएँ,’ आफ्नो पढाइ चलिरहेकै वेला नेपाल आउनुको कारणबारे उनले बताए ।
प्रशिक्षकसहितको उडाइलाई उनले धेरै महसुस गर्न पाएनन् । तर, आफूले बोकेको उद्देश्य नजिकै पुगेको आभास भने उनलाई हुन थालेको छ । प्रशिक्षकसँगको प्लेन उडानलाई सम्झँदै उनले भने, ‘प्लेन चलाउने वेला स्टे«सफुल नै हुन्छ । बाहिरको सिनको रमाइलो हेर्न पाइँदैन । वर्क लोड पनि धेरै हुन्छ । तर, अनुहारमा मुस्कानचाहिँ छाएको थियो । सानै वेलादेखिको सपनालाई पूरा गर्दै छु भनेर मनैदेखि खुसी भएको थिएँ ।’
तीन–चार वर्षकै हुँदा दीपेन्द्रको बाल मस्तिष्कमा प्लेनबारे कुतूहल जागेको थियो । उनको कुतूहल थियो, ‘प्लेन किन सीधा मात्र उड्यो ?’ यो जिज्ञासा उनले आफ्नो आमाबुबा, साथीभाइ अनि शिक्षकलाई राखे । उनीहरूबाट गतिलो जवाफ पाउन सकेनन् । तर, प्लेन उडाउन पाइलट चाहिन्छ भन्ने कुरा जानकारीचाहिँ पाए । त्यही वेला उनले लक्ष्य बोके, ‘पाइलट त जसरी पनि बन्ने हो ।’
‘त्यो समयमा इन्टरनेटको पहुँच खासै थिएन । प्लेन कसरी चल्छ भनेर स्कुल र वरपरका कसैले खासै केही भन्न सक्नुभएन । त्यसैले, ठुलो भएपछि पाइलट बन्छु अनि पाइलट बनेर प्लेन कसरी उड्छ ? प्लेन भनेको के हो ? कस्तो–कस्तो किसिमको हुन्छ ? यही जान्ने लक्ष्य राखेँ,’ उनले भने । जसै उनले सपना देखे, त्यतिवेला उनको जीवन सामान्य बाटोमै अगाडि बढिरहेको थियो । तर, उनी कक्षा एक पढ्दै गर्दा उनको बुबाले अर्की श्रीमती ल्याएर उनीहरूबाट टाढिए । उनको आमाको काँधमा आइपुग्यो, दुई भाइको जिम्मेवारी । श्रीमान्ले छोडेपछि उनकी आमा दुई छोरालाई साथ लिएर माइतीमा बस्न थालिन् । त्यही बसेर आफ्ना इच्छा थाती राख्दै दुई छोराको भविष्य कोर्न थालिन् ।
उनको आमाले रक्सी बनाएर आफ्नो छोराको सपना जीवितै राख्न मद्दत गरिन् । केही जोहो गर्न कोसौँ टाढा लगेर रक्सी बेचिन् । आफ्ना रहर मारेरै उनीहरूलाई अगाडि बढ्ने बाटो बनाइरहिन् । सोहीअनुसार कक्षा आठपछि अध्ययनका लागि दीपेन्द्रलाई काठमाडौं पठाइन् । ‘आठ कक्षा नपुग्दै मलाई पाइलट पढ्न गाह्रो छैन जस्तो लाग्थ्यो । लक्ष्य प्राप्तिका लागि दु:ख गर्नुपर्छ । संघर्ष गर्नुपर्छ भन्नेचाहिँ थियो । पैसाको आवश्यताबारे खासै जानकारी थिएन । म पढाइमा पनि राम्रो छु । भइहाल्छु भन्ने थियो । बिस्तारै पैसा पनि चाहिने रहेछ भन्ने जनकारी भयो । तर, बन्नचाहिँ जसरी नि बन्छु भन्ने थियो ।’ उनले आफ्नो इच्छा पूरा गर्नका लागि के–के गर्ने भनेर सबै योजना बनाइसकेका थिए । तर, यत्तिकैमा उनकी आमाले पनि विवाह गरिन् । त्यसपछि दुई भाइ एक्ला भए । निम्न मध्यमवर्गीय परिवारका दीपेन्द्रले आकाशमा प्लेन उडाउने सपना पनि धर्मराउन थाल्यो । बुबालाई गई हारगुहार गरे । तर, बुबा र सौतेनी आमासँग कुरा नमिलेपछि अब बाटो अँध्यारो हुन थाल्यो ।
बुबा र आमा दुवैबाट टाढिएपछि दीपेन्द्र एक्लै भए । कक्षा ११ भर्ना गरे पनि पैसा नभएकाले जाँच दिन सकेनन् । पढाइ एकातिर, पाइलट बन्ने सपना एकातिर र दीपेन्द्रको जीवन अर्कोतिर कुदिरह्यो । उनी एक्लै बस्न थाले । जीवन चलाउन एउटा निजी विद्यालयमा पढाउन थाले । यही वेला कक्षा १२ को अन्तिम परीक्षा आयो । उनले कक्षा ११ आधा पढेको कलेजबाट फोन आयो । दुवै वर्षको शुल्क तिरेमा परीक्षा व्यवस्था हुन्छ भन्ने भयो । त्यसपछि उनले आमालाई फोन गरे । आफ्नो समस्या राखे । उनकी आमाले ७० हजार पठाएपछि परीक्षा दिने वातावरण भयो । उनले दोलखा नै फर्केर स्वअध्ययन गरेर परीक्षा दिए । ३.२२ जिपिए ल्याएर विज्ञान विषयमा प्लस टु पास गरे ।
१२ कक्षा पास गरेपछि उनी कक्षा ११ कै विद्यार्थीलाई फिजिक्स र गणित पढाउन थाले । फेरि उनको पाइलट बन्ने सपना जाग्न थाल्यो । तर, एउटै समस्या थियो, पैसाको । त्यसपछि उनी हरेक शनिबार आफन्त भेट्न निस्किन थाले । तर, आफन्तबाट कुनै पनि सहयोग नपाइने पक्का भयो । ‘मलाई ऋण खोजिदिनु न भन्दै हिँडेँ,’ दीपेन्द्रले भने, ‘सुरुमा बुबा र अंकललाई भने । उहाँहरूले सकिँदैन जस्तो गर्नुभयो । सबैले हुँदैन भने । कतिपय आफन्तले सबैजना लागे सकिन्छ भन्ने कुरा गरे ।’ दीपेन्द्रको पढाइ राम्रो भएको र पढाइकै कारण गाउँमा समेत चिनिएकाले थोरै आफन्तले हौसला दिए । तर, उनलाई हौसला मात्रले पुग्दैनथ्यो ।
भौँतारिरहेकै वेला उनले एकजना नेताको भाषण सुने, ‘आमाबुबा नभएको बच्चा छ भने वा कुनै बच्चाले पढ्न सकेको छैन भने हामी पढाउँछौँ ।’ त्यसपछि नेताहरूले गर्छन् कि भनेर आशा पलायो दीपेन्द्रमा । अब आफन्त भेट्न छोडेर नेताहरू भेट्न लागे । गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रका नेतासँग भेटे । पत्रकार भेटे । त्यसरी भेट्दै गर्दा उनले गाउँपालिकाले नै डाक्टर पढाएकाले पाइलट पनि पढाउँछ भन्ने जानकारी पाए । त्यसपछि उनी दोलखास्थित वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिलाई उपहार लिएर भेट गर्न थाले । आफ्ना कुरा राख्न थाले । उनीहरूलाई भेट्दै गर्दा होस्टल इन्चार्ज, कलेज पढाएको र स्कुल पढाएको पैसा त्यसमै खर्च गरे । तर, गाउँपालिकाले बजेट दिएन ।
प्रदेशले पनि बजेट नभएको बतायो । कतिले तिमीजस्तो गरिब मान्छे पाइलट पढ्ने होइन, खाडी जाऊ पनि भने । केन्द्रका मुख्य दलदेखि रास्वपाको नेतालाई समेत भेटे । नेतालाई भेट्न जाँदा कोसेली लगे । सबैले हुन्छ भने तर कसैले केही गरेनन् । ‘एक अवस्थामा पुगेपछि सबै नेतालाई भेट्ने, चिया खुवाउने, गिफ्ट लाने गरेर सबै पैसा सकिएपछि यसरी पाइलट बन्दिनँ भन्ने लाग्यो । एक दिन एकजना नेतालाई पत्र लेख्ने क्रममा म धुलोसमान रहेछु । तपाईँहरूका लागि शून्य रहेछु । म आफैँ अगाडि बढ्छु । नेताहरूबाट नहुने रहेछ । म आफैँ एक–एक रुपैयाँ उठाएर भए पनि पढ्छु भनेर पत्र लेखेँ, ध्यानाकषर्णको रूपमा । कहीँबाट केही नआएपछि रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेँ । र, अगाडि बढेँ,’ उनले भने ।
पाँच महिनामै धेरै सहयोग आयो । ५३ लाख संकलन भयो । यही अभियानमा उनको आमाले पाँच लाख प्रतिबद्धता गरेकोमा सात लाख दिइन् । तर, बुबाको तर्फबाट केही पनि सहयोग पाएनन् ।
०२५ जनवरीमा फिलिपिन्समा पुगेपछि उनको अभियानबारे धेरैले जानकारी पाए । त्यहाँ पनि सम्मानजनक व्यवहार पाइरहेका छन् । उनी सोहीअनुसार प्रस्तुत हुने काम गरिरहेका छन् । फिलिपिन्स गएर पढ्न थाले पनि उनीसँग आर्थिक समस्या जहीँको तहीँ छ । तैपनि, उनी रोकिएका छैनन् । उनी आत्मविश्वासका साथ भन्छन्, ‘म लक्ष्यको निकै नजिक पुगिसकेँ । अब जतिसुकै दु:ख परे पनि पाइलट बनेरै छाड्छु ।’