Skip This
नेपालले छनोट हुन उत्तर कोरियालाई हराउनैपर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २४ शनिबार o९:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले छनोट हुन उत्तर कोरियालाई हराउनैपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार o९:४१:oo
  • एएफसी यू–२० एसियन कप छनोटमा साउदी अरेबियाविरुद्ध १–० को जित निकालेको नेपाल भोलि तीनपटकको विश्व च्याम्पियन उत्तर कोरियासँग खेल्दै 

नेपालले एएफसी महिला यू–२० महिला एसियन कप २०२६ मा स्थान पक्का गर्न उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । यी दुई राष्ट्रबिच आइतबार खेल हुनेछ । समूहमा उत्तर कोरिया शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । छनोट चरणमा शीर्ष स्थानमा रहने राष्ट्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा छनोट हुनेछ । उत्तर कोरिया तीनपटकको यू–२० विश्वकप तथा दुईपटकको एसियन कप विजेता हो ।

सिनियर महिला फुटबल टोलीको फिफा वरीयतामा उत्तर कोरिया दसौँ स्थान र नेपाल ८७औँ स्थानमा छ । भुटानको थिम्पुस्थित चाङिलमिथाङ रंगशालामा छनोटअन्तर्गत नेपालले शुक्रबार साउदी अरेबियामाथि १–० को कठिन जित निकाल्यो । नेपालको यू–२० राष्ट्रिय महिला टोलीले पहिलोपटक साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको हो । खेलको अन्तिम मिनेटमा सुक्रिया मियाले नेपालको जितमा एक मात्र विजयी गोल गरिन् । मिया खेलको ५६औँ मिनेटमा समीक्षा मगरको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यो नतिजासँगै नेपालले दुई खेलमा चार अंक जोड्यो । लगातार दुई खेलमा फराकिलो जित निकाल्दै उत्तर कोरियाले शीर्ष स्थान बलियो बनाएको छ । उत्तर कोरिया विश्व वरीयताको दसौँ स्थानमा छ । नेपाल १३ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएको हो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको थियो । दोस्रो खेलमा उत्तर कोरियाले आयोजक भुटानलाई १०–० ले हरायो । लगातार दोस्रो हारपछि साउदीको दोस्रो चरणमा पुग्ने सम्भावना सकियो ।

नेपालविरुद्ध साउदीको सानदार प्रदर्शन
समूह ‘ए’को दोस्रो खेलमा नेपालले दुई वर्षअघि राष्ट्रिय महिला टोली स्थापना भएको साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गरेको हो । अन्तर्राष्ट्रिय खेल र अनुभवका आधारमा साउदी अरेबियाभन्दा नेपाल धेरै माथि छ । तर, नेपालले साउदी अरेबियाविरुद्ध स्वाभाविक खेल खेल्न सकेन । भुटानको कृत्रिम मैदानमा नेपाली खेलाडीलाई बल नियन्त्रणमै राख्न मुस्किल परेको थियो । नेपालले फाइनल थर्डमा बारम्बार गल्ती गरेको थियो । पहिलो हाफमा मीना देउवाले पेनाल्टीमा गोल गर्ने अवसर चुकाइन् ।

नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले नयाँ प्रतिद्वन्द्वी साउदीविरुद्ध स्वाभाविक खेल खेल्न नसकेको स्विकारेका छन् । ‘हामीले तीन अंक बटुलेका छौँ । यसमा खुसी छु,’ गुरुङले भने, ‘खेलाडीले मैले भनेको जस्तो खेल्न सकेनन् । नयाँ प्रतिद्वन्द्वीले गाह्रो भयो ।’ प्रशिक्षक गुरुङले आगामी खेलका लागि भनेर पाँच नियमित खेलाडीलाई विश्राम दिएको बताए । ‘उत्तर कोरियाविरुद्धको हाम्रो महत्वपूर्ण खेल छ । यसका लागि मैले पाँच खेलाडीलाई विश्राम दिएको थिएँ,’ उनले भने । यसअघि भुटानसँग नेपाल १–१ को बराबरीमा रोकिएको थियो । 

कमजोर फिनिसिङ 
भुटानविरुद्ध कमजोर प्रदर्शनपछि प्रशिक्षक गुरुङले पाँच खेलाडीलाई बेन्चमा राख्दै नयाँ खेलाडीलाई अवसर दिएका थिए । मिडफिल्डर कुसुम खतिवडा, मनीषा सेन र समीक्षा मगर तथा रक्षक सरिताकुमारी नाथले सुरुवातमै मौका पाए । साउदी अरेबियाविरुद्ध पूर्णिमा राई, सेनु परियार, माया मास्के, सुक्रिया मिया र सुशीला केसी बेन्चमै रहे । सुक्रिया, पूर्णिमा, सेनु र सुशीलाले दोस्रो हाफमा अवसर पाए । ‘कोरिया निकै बलियो छ । त्यसैले पनि पाँच खेलाडीलाई विश्राम दिएको हो । कोरियाविरुद्ध काउन्टर अट्याक खेल्ने योजना बनाएको छु,’ प्रशिक्षक गुरुङले भने ।

विभागीय टोली नेपाल पुलिसकी स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकिनन् । मीनाले ३७औँ मिनेटमा पेनाल्टी मिस गरेकी थिइन् । अट्याकिङ मिडफिल्डर मनीषा सेनलाई साउदीकी अल्सनाइफीले डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो । मीनाको प्रहार दोस्रो बारमा ठोक्किन पुग्यो । खेलकोे १८औँ मिनेटमा सेन्टर ब्याक सरिता नाथको फ्रिकिक प्रहार क्रसबारमा लागेको थियो ।