Skip This
एन्जाइटी के हो र कसरी बच्ने ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
डा. डिबी सुनुवार
Invalid date format o९:११:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एन्जाइटी के हो र कसरी बच्ने ?

Read Time : > 1 मिनेट
डा. डिबी सुनुवार
नयाँ पत्रिका
Invalid date format o९:११:oo

एन्जाइटी वा चिन्ता एक जटिल र गम्भीर खाले मानसिक स्वास्थ्य अवस्था हो, जसले विश्वव्यापी रूपमै लाखौँ व्यक्तिलाई असर गरिरहेको छ । यो तनाव र मनोवैज्ञानिक अवस्थाको प्राकृतिक प्रतिक्रिया हो, तर अत्यधिक वा गढेको चिन्ताले व्यक्तिको जीवनको गुणस्तरलाई नै महत्वपूर्ण रूपमा असर गर्न सक्छ । एन्जाइटी एक सामान्य मानवीय भावना हो जसलाई असहजता, चिन्ता, वा डरको भावनाले समेत असर गर्छ । यसले हामीमा उत्पन्न हुने तनावको प्राकृतिक प्रतिक्रियाको रूपमा कार्य गर्छ र यस्ता चुनौतीसँग लड्नका लागि उत्प्रेरक कारक बन्न सक्छ । यद्यपि, जब चिन्ता परिस्थितिसँग प्रतिकूल हुन्छ वा समयको साथसाथै बढ्दै जान्छ, यो एक विकराल अवस्थामा परिणत हुन सक्छ ।

एन्जाइटीका धेरै प्रकार हुन्छन् । अहिले धेरै प्रकारका मानसिक चिन्ता मानिसमा रहेका छन् । प्रत्येकको आफ्नै खाले लक्षण र ट्रिगर हुन्छन् । सामान्य खाले एन्जाइटीमा जेनरलाइज्ड एन्जाइटी डिसअर्डर, सोसल एन्जाइटी डिसअर्डर, पेनिक डिसअर्डर, र विशिष्ट खाले फोबिया समावेश हुन्छन् । प्रभावकारी निदान र उपचारका लागि यिनीहरूको भिन्नता बुझ्न जरुरी हुन्छ ।

आणुवांशिक अवस्था, मस्तिष्क रसायन, र न्युरोट्रान्समिटरमा असन्तुलनले एन्जाइटीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । अझै, एन्जाइटीको पारिवारिक इतिहास भएका व्यक्तिहरू यो अवस्थाका लागि बढी संवेदनशील हुन सक्छन् । जीवनका तिता अनुभवहरू, आघात, र तनावपूर्ण परिस्थितिमा लामो समयसम्म एक्सपोजरले एन्जाइटीको विकासमा योगदान दिन सक्छ । दुर्व्यवहार वा बेवास्ताजस्ता बाल्यकालको प्रतिकूलताले पनि मानसिक स्वास्थ्यमा दिगो प्रभाव पार्छ । केही शारीरिक अवस्था, जस्तै थाइरोइडिज्म र हार्मोनल असन्तुलनले पनि एन्जाइटीका लक्षणमा योगदान दिने गरेको पाइन्छ । एन्जाइटीलाई होलिस्टिक रूपमा सम्बोधन गर्न शारीरिक स्वास्थ्य र मानसिक वेलनेसबिचको अन्तरक्रिया बुझ्न महत्वपूर्ण हुन्छ ।

प्रभावकारी उपचारका लागि एन्जाइटीका लक्षणहरू पहिचान गर्न आवश्यक छ । यसका सामान्य लक्षण यी हुन्, अत्यधिक चिन्ता हुनु, चिडचिडापन हुनु, निद्रामा गडबडी हुनु, मांसपेशीमा तनाव महसुस हुनु थकान र अस्थिर विचारको प्रवाह हुनु, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु आदि ।

सामना गर्ने रणनीति र उपचार छन्, संज्ञानात्मक–व्यवहार थेरापी र एक्सपोजर थेरापी । यी थेरापीले व्यक्तिलाई नकारात्मक सोचका ढाँचा पहिचान गरी तिनलाई सामना गर्न र बिस्तारै डरको प्रभाव कम गर्न मद्दत गर्दछ । केही अवस्थामा, एन्जाइटीका लक्षण कम गर्न औषधिसमेत सेवन गर्न सकिन्छ । एन्टिडिप्रेसेन्ट, बेन्जोडाइजेपाइन, र बिटाब्लकर सामान्यतया प्रयोग हुने एन्टिएन्जाइटी औषधि हुन्, तर तिनीहरूको प्रयोग चिकित्सकको निगरानीमा नै गर्नुपर्छ । व्यायाम, ध्यान, र उचित निद्रा, स्वच्छ आचरणजस्ता तनाव कम गर्ने प्राकृतिक विधिको माध्यमबाट पनि एन्जाइटीको असरलाई कम गर्न सकिन्छ । सन्तुलित आहार, क्याफिन र अल्कोहलको सीमित सेवन गर्नु पनि एन्जाइटी नियन्त्रण गर्ने जीवनशैली परिमार्जनका तरिका हुन् । तनाव व्यवस्थापन गर्ने व्यक्तिका लागि बलियो खाले समर्थन प्रणालीको निर्माण गर्नु आवश्यक हुन्छ । यसमा साथीभाइ, परिवार, वा यस्तै खालको समूहसँग सरोकारका विषय बाँढ्नाले आत्मबल, सान्त्वना र उपयुक्त दिशानिर्देश प्रदान गर्न सक्छ ।