
नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रीय राजनीतिमा फर्कन नहुने बताएका छन्।
शुक्रबार खाँदबारीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख गौतमले यस्तो बताएका हुन्। गौतमले पूर्वराष्ट्रपतिजस्तो गरिमामय उच्च तहमा पुगेको जोकोही व्यक्ति मुलुकको नै अभिभावक भइसकेको व्यक्ति भएकाले पुनः राजनीतिमा फर्कन नहुने स्पष्ट पारे।
‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति गणतन्त्रको गौरव, गणतन्त्रको प्रतीक, संविधान पालनकर्ता, संरक्षणकर्ता, सेनाको परमाधिपति भइसकेको व्यक्ति, देशको अभिभावक र नेपालीको साझा भइसकेको व्यक्ति कुनै दलको सदस्य भएर राजनीतिमा फर्कनु गलत अभ्यास हुन्छ भनेर एमालेको निर्णय छ,’ गौतमले भने, ‘राष्ट्रप्रमुख भइसकेको व्यक्ति अब सम्मानित भएर बस्ने हो, राजनीतिमा फर्कन हुँदैन।’
प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिमा सक्रिय हुन खोजिरहेकोको तर्फ इंगित गर्दै भने, ‘पार्टीको सदस्यबाहेक विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुन पाउने उनको निजी अधिकार हो। अमेरिकाको राष्ट्रप्रमुख भइसकेको व्यक्ति जिम्मी कार्टरले जिम्मी कार्टर संस्था खोलेर सामाजिक काम गरिरहनुभएको छ, त्यो उहाँले पनि पाउनुहुन्छ।’
प्रचार विभाग प्रमुख गौतमले नेकपा एमालेको आन्तरिक जीवन सुदृढ र एकताबद्ध बनाउन केन्द्रित हुँदै आगामी भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनको तयारीमा जुटेको बताए। उनले विधान महाधिवेशनले उमेरहदलगायत विधानमा देखिएका समस्याहरू संशोधन गर्ने प्रस्ट्याए।