Skip This
रसुवागढी बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शव बनाएर अन्त्येष्टि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवागढी बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शव बनाएर अन्त्येष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

गत असार २४ गते रसुवागढीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका बाराको फेटा गाउँपालिका– १ निवासी प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। एक महिनासम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले शुक्रबार बिहान गाउँमै विधिपूर्वक पूजापाठ गरी कुशको शव तयार गरेर अन्तिम बिदाइ गरिएको थियो।

२४ वर्षीय मुन्ना ठाकुर जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। घटना भएको दिन ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीले सीमा क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍याइरहेका वेला उनी उद्धार कार्यमा खटिएका थिए।

उक्त बाढीले मुन्नासहित इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान लोकेन्द्र बोहोरा, ६ चिनियाँ नागरिक र ११ जना स्थानीय गरी २० जनालाई बगाएको थियो। घटना भएको भोलिपल्ट अर्थात् असार २५ गते मात्रै प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव चितवनको त्रिशूली नदी किनारमा भेटिएको थियो। तर, बाँकी १९ जनाको खोजी अहिलेसम्म सफल हुन सकेको छैन।

घटनापछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा खोजी अभियान चलाइए पनि बाढीको तीव्र बहाव र दुर्गम भूभाग र नदीको गहिराइका कारण खोजीमा कठिनाइ आएको थियो।

मुन्ना ठाकुरका एक छोरा छन्। अन्तिम संस्कारका क्रममा उनकी पत्नी गुञ्जासहित आमाबुबा, दाजुभाइ, दिदीबहिनी र आफन्तजन शोकमा डुबेका थिए। अन्तिम बिदाइको क्षणमा गुञ्जा मूर्छित भएकी थिइन् भने गाउँभर रुवाबासी मच्चिएको थियो।