
मटिहानीस्थित लक्ष्मीनारायण मठमा अहिले झुलनोत्सवको रौनक छ। प्रत्येक साँझ भगवान् लक्ष्मीनारायणलाई डोलामा बसाएर बाजागाजासहित झुलाघरसम्म लगिने र झुलाघरमा सजाइएको झुलामा बसाएर झुलाउने गरिन्छ। श्रावण तृतीयादेखि पूर्णिमासम्म मनाइँदै आएको झुलनोत्सवमा सर्वसाधारणदेखि साधुसन्तसमेतको सहभागिता रहने गरेको छ।
अहिले मौसमको नयाँ उत्साह हुने, नयाँ उमंग हुने र चारैतिर हरियाली हुने समय भएकाले प्रायः हरेक वर्ष कृषकहरूले यसै समय आफ्नो खेतको काम सकाएर फुर्सदका केही क्षण भगवानको सेवामा समर्पित गर्ने परापूर्वकालदेखि चल्दै आएकोमा यही समय भगवानलाई मनोरञ्जन गराउने मनसायका साथ उनलाई मन्दिरबाहिर निकालेर झुला घरमा झुलाउँदै उनको सेवा गर्ने परम्परा छ।
झुलनोत्सवबारे लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव यो भगवानलाई विहार (घुमाउने, मनोरञ्जन गर्ने, शयर गराउने) गराउने समय हो। अधिकांश भक्तहरू श्रावण तृतीयादेखि पूर्णिमाको समयलाई भगवानको सेवामा समर्पित गर्ने गरेका छन्। यही समय भगवानको नियमित आरती तथा पूजापाठसँगै भगवानको शृंगारलाई समेत विशेष ध्यान दिँदै उनलाई विहार (शयर गराउने) गरिएको उत्तराधिकारी महन्थ वैष्णवले बताए।
अहिले मटिहानीमा मात्र होइन, जनकपुरस्थित जानकी मन्दिर, रतवारास्थित लक्ष्मीनारायण मन्दिर, जलेश्वरको भार्गवसरस्थित मन्दिरलगायत लक्ष्मीनारायण तथा भगवान् रामसीताको वास रहेको हरेक मन्दिरमा झुलनाेत्सव मनाईँदै छ । झुलनोत्सव शनिबार रक्षाबन्धनको दिन समाप्त हुनेछ।