मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार २१:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

 कर्णाली विकास बैंकको ठगीमा एमाले केन्द्रीय सदस्यसहित तीनजना जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार २१:४७:oo

कर्णाली विकास बैंकको ठगीमा पक्राउ परेका दुई पूर्वअध्यक्ष र एक व्यवस्थापन जेल चलान भएका छन्। उच्च अदालत नेपालगन्जले बुधबार पूर्वअध्यक्षद्वय पशुपतिदयाल मिश्र र राजेन्द्रवीर राय तथा पूर्वव्यवस्थापन देवप्रकाशसिंह ठकुरीलाई थुनामा पठाउने आदेश दिएको हो। 

जेल चलान भएका मिश्र नेकपा(एमाले)का केन्द्रीय सदस्य हुन्। राय पनि पहिला एमालेबाटै संसदमा उठेका थिए। बैंक घोटालाको मुख्य योजनाकार उनीहरू नै भएको प्रहरीले जनाएको छ। 

सोही मुद्दामा पक्राउ परेका नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत भने दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन्। बैंकको खराब वित्तीय अवस्था लुकाएर १० लाख रुपैयाँ लिएको अभियोग बस्नेतमाथि लागेको थियो। 

सो बैंकमा सञ्चालक र कर्मचारीको मिलेमतोमा तीन अर्ब २० करोड हिनामिना भएको निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को छानबिनमा देखिएको थियो। सिआइबीकै अनुसन्धानअनुसार गत बिहीबार उच्च अदालतमा मुद्दा दायर भएको थियो। 

उच्चका न्यायाधीशहरू चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले चारजनाको हकमा पुर्पक्षको आदेश जारी गर्दै फरारको हकमा पक्राउ पुर्जी जारी गरेको छ  

कर्णाली विकास बैंकमा वर्षाैदेखि ठुलो हिनामिना हुँदै आएपछि राष्ट्र बैंकले त्यसलाई ढाकछोप गर्दा बैंक एक्कासि धराशायी हुने अवस्थामा पुगेको सिआइबीको निष्कर्ष छ । हाल केन्द्रीय बैंकले नै सो बैंकको व्यवस्थापन हात लिएर सञ्चालन गरिरहेको छ । 

कर्णाली विकास बैंकमा ०७० देखि नै हिनामिना हुँदै आएको थियो । तर, १० वर्षसम्म पनि केन्द्रीय बैंकले सुपरिवेक्षणमा सो तथ्य लुकाइको आरोप छ। बैंकको वित्तीय अवस्था राम्रो रहेको भन्दै राष्ट्र बैंकले सुपरिवेक्षण प्रतिवेदन दिएकै वेला एक्कासि सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्थामा संस्था पुगेको थियो । राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण गरी तयार गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०८०/८१ सम्म सो बैंकमा सामान्य कमजोरीबाहेक ‘राम्रो अवस्था’ रहेको उल्लेख गरेको थियो । पछि बैंकले सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्था आएपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । 

बैंकमा एक लाख एक हजार सर्वसाधारणको चार अर्ब ९० करोड बचत थियो। त्यसमध्ये अधिकांश रकम सञ्चालकले नै दुरुपयोग गरेका हुन् । सर्वसाधारणलाई निक्षेप पनि फिर्ता दिन नसकेको र खराब कर्जा ४० प्रतिशत पुगेपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । यसअघिका प्रतिवेदनमा कर्जा असुलीमा ध्यान दिनुपर्नेलगायत सामान्य कमजोरी मात्र सुपरिवेक्षकले औँल्याएका थिए । सोही कारण बैंकको सेयरसमेत उच्च मूल्यमा पुगेको थियो । सिआइबीले पछिल्लोपटक स्थलगत सुपरिवेक्षणमा खटिएका राष्ट्र बैंकका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो ।  

राष्ट्र बैंकका कर्मचारीको संरक्षणकै कारण सो बैंकमा सहकारीको शैलीमा हिनामिना  भएको हो । संस्थापक अध्यक्ष राय पहिला काठमाडौंमा सहकारीका सञ्चालक थिए । पछि नेपालगन्ज गएर उनले बैंक खोले । बैंक पनि सहकारीकै शैलीमा चलाएर पैसा आफ्ना निजी व्यवसायमा खन्याए। यसमा राष्ट्र बैंकले पनि चुस्त सुपरिवेक्षण नगर्दा समस्या आएको हो।  सुपरिवेक्षणमा खटिएका राष्ट्र बैंकका कर्मचारीलाई पनि सिआइबीले सोधपुछमा बोलाएकोमा गभर्नर डा.विश्व पौडेलले गृहमन्त्रीको रोहवरमा प्रहरीसँग बैठक राखेर अबदेखि अनुगमन सुधार्ने सर्तमा उनीहरूलाई जोगाइएको थियो।